युवा उद्यमी मञ्च ललितपुरको अध्यक्षमा नितु श्रेष्ठ
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको युवा उद्यमी मञ्च, ललितपुर च्याप्टरको अध्यक्षमा फेसन डिजाइन एवं होटल व्यवसायमा ख्याति कमाएकी नितु श्रेष्ठ नियुक्त भएकी छिन्। काठमाडौंमा साउन १ गते मंगलबार सम्पन्न मञ्चको तेस्रो वार्षिक साधारणसभाका अवसरमा साविक नेतृत्वले उनलाई अध्यक्ष नियुक्त गरेको हो। मञ्चको प्रथम उपाध्यक्षमा एल्भिस रन्जित र द्वितीय उपाध्यक्षमा अनुकुल श्रेष्ठ नियुक्त भएका छन्।
Advertisement 1
मञ्चको विधानअनुसार प्रमुख कार्यसम्पादन सूचकांक (केपीआई)का आधारमा साविकका अध्यक्ष, प्रथम उपाध्यक्ष र द्वितीय उपाध्यक्ष संलग्न नेतृत्वले आगामी नेतृत्व र कार्यसमिति सदस्य नियुक्त गर्छ। कार्य समितिको अवधि एक वर्ष हुन्छ।
च्याप्टरको कार्यसमिति सदस्यमा प्रकिरण श्रेष्ठ, शिखर पाण्डे, निरज अग्रवाल, जश श्रेष्ठ, पलस जोशी, अशांक समशेर जंगबहादुर राणा र निशान ढकाल नियुक्त भएका छन्। नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष सुबिन श्रेष्ठ पदेन सदस्यका रुपमा रहन्छन्।
Advertisement 2
नवनियुक्त अध्यक्ष श्रेष्ठले स्टार्टअप उद्यमीलाई व्यावसायिक स्रोत र संरक्षण प्रदान गर्ने इन्क्युबेसन कार्यक्रम सञ्चालन गर्ने, उद्यमीलाई अन्तर्राष्ट्रिय संस्था र सरकारी निकायमार्फत अवसरहरुसँग जोड्ने र सदस्य लक्षित नेतृत्व विकास तालिमलाई निरन्तरता दिने बताइन्। महिला उद्यमीलाई स्रोत, संरक्षण र प्लेटफर्ममार्फत विशेष जोड दिने पनि उनले प्रतिबद्धता व्यक्त गरिन्।