प्रतिपक्षीको होहल्लाबिच सरकारको नीति तथा कार्यक्रम पारित, ६ सांसदले राखे धारणा
काठमाडौं । प्रमुख प्रतिपक्षीको नाराबाजी र होहल्लाकै बिच सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ । गत जेठ एक गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट आर्थिक वर्ष २०८१ ८२ को नीति तथा कार्यक्रम संसद्मा पेश गरेका थिए । सोही नीति तथा कार्यक्रममाथि छलफलका लागि यसअघि राखिएको छलफल कार्यक्रममा प्रतिपक्षीले सहकारी मुद्दालाई लिएर विरोध जारी राखेपछि आइतबारका लागि बैठक धकेलिएको थियो । तर यस दिन पनि प्रतिपक्षीले विरोध जारी राखेपछि सरकारले नीति तथा कार्यक्रम पारित गरेको हो ।
Advertisement 1
सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रममाथिको छलफलका लागि एक घण्टाको समय छुट्याएका थिए । उक्त समयमा विपक्षी दलका दुई सांसद चित्रबहादुर केसी र प्रेम सुवालबाहेक सत्तापक्षका चार जना सांसदले आफ्नो धारणा राखेर नीति तथा कार्यक्रममाथिको छलफल टुङ्ग्याइएको छ ।
नीति तथा कार्यक्रममा राष्ट्रिय जनमोर्चामा चित्रबहादुर केसी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवाल, नेकपा (एमाले)का विष्णुप्रसाद पौडेल, नेकपा (माओवादी केन्द्र)का जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा.स्वर्णिम वाग्ले, जनता समाजवादी पार्टी (जसपा)का वीरेन्द्रप्रसाद महतोले धारणा राखेका थिए । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा आइतबारको संसद बैठकमा फरक दृश्य देखिएको थियो ।