दुई सहसचिव सचिवमा बढुवा, नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्षमा शर्मा नियुक्त
काठमाडौं । नेपाल सरकारको रिक्त रहेको दुई सचिव पदमा बढुवा गरेको छ । बिहीबार दिउसो बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा सहसचिव लोकनाथ पौडेललाई र प्राविधिकतर्फ राजेन्द्रप्रसाद मिश्रलाई बढुवा गरेको हो ।
Advertisement 1
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा केहि दिन अघि बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासन सेवातर्फ रिक्त एक सचिव पदका लागि तीन जना सहसचिवको नाम र प्राविधिकतर्फ कृषि तथा वन समूहमा रिक्त एक सचिव पदमा बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको थियो ।
प्रशासनतर्फ सचिव बढुवाका लागि पहिलो नम्बरमा पौडेल दोस्रोमा गोविन्दबहादुर कार्की र तेस्रोमा महादेव पन्थको नाम सिफारिस भएको थियो । पौडेल बढुवा सिफारिस समितिबाट यस अघि दुई पटक सचिव बढुवाका लागि सिफारिस भइसकेका थिए । बढुवाका लागि सिफारिस भएका सहसचिव पौडेल मधेश प्रदेशमा कामु प्रमुख सचिवको जिम्मेवारीमा रहेका छन् ।
Advertisement 2
यस्तै कृषि तथा वन सेवातर्फ रिक्त रहेको एक सचिवमा राजेन्द्रप्रसाद मिश्र बढुवा भएका छन् । बढुवा समितिको बैठकले मिश्रसँगै सहसचिव सञ्जीवकुमार कर्ण र सबनम शिवाकोटीको नाम पनि सिफारिस गरेको थियो । मिश्र योजना तथा विकास सहायता समन्य महाशाखा प्रमुखको जिम्मेवारीमा छन् ।
मन्त्रिपरिषद् बैठकले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्षमा प्रा.डा.लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन । उनका अनुसार न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगिता खड्कालाई पुनः नियुक्त गर्ने निर्णय पनि गरेको छ ।