सुब्बाको यतिसम्म हुनसक्दो रहेछ शक्ति

पत्याउनुहुन्छ मामुली एउटा सुब्बाले सिंहदरबार र त्यहाँका हाकिमहरुलाई हल्लाइदिन्छन् र हायलकायल खेलाइदिनसक्छ भन्दा ? तर यस्तै भेटिन्छ सिंहदरबारका अधिकांश मन्त्रालयहरुमा । सुब्बा तहको कर्मचारीको पावर र हैसियत यतिसम्म छ कि उस्ले मर्यादाक्रममा आफूभन्दा धेरै माथि रहेका मन्त्री,सचिवदेखि सहसचिवसम्मले गरेका निर्णयलाई ‘पानीको फोका’ झैं क्षणभरमै उल्टाइदिएको । यस्ता जब्बर कर्मचारीलाई न त कुनै ऐन/कानुन आकर्षित हुन्छ । कसैले छुन वा चलाउन सक्छ । यहीबाट प्रष्ट हुन्छ हाम्रो कर्मचारीतन्त्र ऐन/कानुनले कम र ‘डनतन्त्र’ले बढी चलिरहेको छ ।
अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीका रुपमा अमनलाल मोदी आएका छन् । मन्त्री मोदीले प्रशासन सुधारका ठूल्ठूला कुरा गर्दै आएका छन् । संघीय निजामती सेवा ऐन ल्याउन उनको सक्रियता बढो प्रंशसायोग्य छ । तर उनले मन्त्रालयमा सचिवका रुपमा भित्राएका कृष्णहरि पुष्कर,कर्मचारी प्रशासन फाँटमा हर्ताकर्ता बनाएर ल्याएका कमल भट्टराई,कमानसिं थापाहरुका कारण उनको सुधारको योजना र सपना पूरा हुनेमा शंका गर्ने ठाउँ प्रशष्त देखिन्छ ।
Advertisement 1
मन्त्री मोदीले शुरुमै उद्घोष गरे, सामान्यका रैथाने कर्मचारीहरुको विभाग हेरफेर गर्ने र तिनको सरुवा गर्ने । जसअनुसार सामान्यको कर्मचारी प्रशासन फाँटमा बसेर बदनामी कमाएका रविन्द्रजंग थापाको शाखा हेरफेर भयो उनी कति महिना वा दिनमा फेरि कप्रमै फर्कने टुंगो छैन । यस अघि पनि रविन्द्रजंग सिंहदरबारको कम्पाउण्ड छाडेर कतै जागिर खान जानु परेको छैन । रविन्द्रजंग मात्र होइन उनी भन्दा पनि पावरफुल देखिए एक जना सुब्बा । उपसचिवको शाखा परिवर्तन गर्न सफल मन्त्रीले किन एउटा सुब्बालाई चलाउन सकेनन् ? जो झण्डै एक दशकदेखि संघीय मामिला तथा सामान्य प्रशासन छोडेर अन्यन्त्र कतै जानु परेको छैन ।
मन्त्री मोदीले केही कर्मचारीहरु सामान्यमै ५ देखि सातबर्षदेखि डेरा जमाएर बसेको भेटिएको भन्दै उनीहरुमध्ये एउटै शाखामा २ बर्षभन्दा बढी रहेका कर्मचारीहरुको शाखा परिवर्तन गर्नेदेखि चार वर्षभन्दा बढी समय रहेका कर्मचारीलाई स्थानीय तहमा पठाउने र कोही सुगममा छन् भने दुर्गममा पठाउने तयारी भइरहेको सुनाएका थिए । मन्त्रीको यो योजना प्रंशसा योग्य थियो । तर कार्यन्वयन ? मन्त्री मोदीले दुई वर्ष एउटै शाखामा बसेका कर्मचारीको शाखा परिवर्तन हुने, तीन वर्ष एउटै स्थानमा बसेकालाई अन्यत्र पठाइने जनाएका थिए । यस्तै,चार वर्ष केन्द्रमा एउटै स्थानमा बसेका कर्मचारीलाई अनिवार्य स्थानीय तहमा पठाउने नीति बनाउन लागेको बताए पनि मन्त्रीका यी घोषणा भनाईमै सीमित हुन पुगेको छ ।
Advertisement 2
मन्त्रीको योजना र घोषणालाई पानीको फोका बनाइदिने नासु हुन,रामचन्द्र अधिकारी (आरसी) ।एमाले निकट कर्मचारी संगठनको आडमा सामान्य प्रशासन मन्त्रालय छाडेर कतै जानु परेको छैन । अहिले सामान्य प्रशासनको आन्तरिक व्यवस्थापन शाखामा कार्यरत छन् । सो शाखाको कमाण्डर,सहसचिव मीरा आचार्य,नारायण भट्टराई,तुलसी भट्टराई,अक्कल महर्जन,तेजनारायण पौडेलहरु पनि रहेका छन् ।
आरसी यस्ता पावरवाला नासु हुन,जो झण्डै दशकदेखि सामान्य प्रशासनको रैथाने कर्मचारीका रुपमा कार्यरत छन् । एक दशकमा दर्जन मन्त्री,सचिव,सहसचिवहरु हेरफेर भइसकेका छन् तर उनलाई सिंहदरबारको कम्पाउण्ड छाडेर बाहिर जानुपरेको छैन । अझैं सामान्य प्रशासन मन्त्रालय छाडेर अन्यन्त्र कतै जागिर खान जानु परेको छैन । यो सबै कर्मचारी संगठनकै पावरमा सम्भव भएको हो । निजामती सेवा ऐनले एउटा कर्मचारी दुई/ दुई बर्षमा सरुवा हुनुपर्दछ भन्दछ,। कतिपय सहसचिवहरु ४ महिनामै भकुण्डो बनाइन्छन् । उपसचिवहरु समय नपुग्दै सरुवामा पर्दछन् तर एक जना मामुली सुब्बा एक दशकदेखि एउटै मन्त्रालय,एउटै शाखामा कस्को प्रतापले टिकिरहेका होलान ? ऐनकै बर्खिलाप हुने गरी एउटा नासु,एक दशकसम्म एउटै मन्त्रालय,एउटै शाखामा लिसोझैं टासिरहनुमा कुन शक्तिको प्रभाव होला ? सामान्यकै कर्मचारीले उठाउन थालेको प्रश्न हो यो ।