सुन तस्करी प्रकरणमा प्रहरी र कर्मचारीलाई कारबाही गर्न बनेको समितिले बुझायो प्रतिवेदन
काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको सुझाव अनुसार कारबाही सिफारिस गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ । मन्त्रालयका सहसचिव एवम कानुन महाशाखा प्रमुख भरतमणि रिजालको संयोजकत्वमा गठित समितिले आयोगको सिफारिसलाई अध्ययन गरेर प्रहरी र सरकारी कर्मचारीलाई थप कारबाही गर्न सिफारिससहितको प्रतिवेदन बुझाएको हो ।
Advertisement 1
समितिले सोमबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको मन्त्रालयका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनले भने, ‘समितिले आयोगको प्रतिवेदन अध्ययन गरेर कारबाहीको लागि कानूनका दफा उल्लेख गरेको । यो प्राविधिक प्रतिवेदन हो । आयोगले विभागीय कारबाही हुनुपर्छ भनेका प्रहरी र कर्मचारीलाई समितिले कानूनको कुन दफा आकर्षित हुन्छ भनेर दफा उल्लेख गरेको छ ।’
यसैविच समितिले गृह मन्त्रालयमा कार्यरत उपसचिव उमाकान्त अधिकारीको हकमा आयोगले सूचनामा मात्र राख्नु भनेको र थप कुनै प्रमाण नभेटिएपछि प्रतिवेदनले थप कारबाहीको सिफारिस गरेको छैन । पूर्वन्यायाधीश डिल्लीराम आचार्य नेतृत्वको आयोगले चैत एक गते उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । आयोगको प्रतिवेदनको आधारमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका थिए । उनी पछि हाजिर जमानतमा छुटिसकेका छन् ।
Advertisement 2
जाँचबुझ आयोगले सुन तस्करी प्रकरणमा तत्कालीन सीआईबी नेतृत्वबाट गम्भीर त्रुटि भएको निष्कर्ष निकाल्दै नेपाल प्रहरीका प्रहरी अतरिक्त महानिरीक्षक (एआईजीपी) किरण बज्राचार्य, प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापा, प्रहरी नायव उपरीक्षक (डीएसपी) दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही गर्न सिफारिस गरेको थियो ।