शिक्षा मन्त्रालयको समितिले काम नगरेपछि पूर्वसचिव कोइरालाको संयोजकत्वमा तीन सदस्यीय अर्को समिति गठन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी सम्बन्धमा शिक्षण संस्थाको विषयमा अध्ययन गर्न विज्ञ समिति गठन गरेको छ । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित शिक्षण संस्थाको विषयमा अध्ययन गरी सुझाव दिन विज्ञ समिति गठन गरिएको हो ।

Advertisement 1

पूर्वसचिव शंकरप्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय विज्ञ समिति गठन गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । उक्त समितिमा प्राध्यापक राजेशकुमार राई र उच्च शिक्षा महाशाखाका एक जना उपसचिव समितिका सदस्य रहनेछन् । निर्देशिका र त्यसका अनुसूचीमा भएका संशोधन बारेमा अध्ययन गर्ने, विदेशी सम्बन्धनमा उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाहरूले हालसम्म पाएको स्वीकृति र अनुमतिको अध्ययन गरी सुझाव दिने कार्यादेश तोकिएको छ ।

उक्त समितिले नीतिगत, कानुनी र सुझावसहितको प्रतिवेदन पेश गर्ने मन्त्रालयले जनाएको छ । उक्त समितिलाई आवश्यक परेको खण्डमा त्यस्ता शिक्षण संस्थामाथि निरीक्षण गर्ने अधिकारसमेत दिइएको छ । समितिलाई ३० दिनभित्रमा प्रतिवेदन पेश गर्न समय तोकिएको छ ।

Advertisement 2

शिक्षा मन्त्रालयले यसअघि उच्च शिक्षा महाशाखा प्रमुख सहसचिव डा.कमलप्रसाद पोखरेलको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले काम नगरेपछि बाहिरका विज्ञको नेतृत्वमा अर्को समिति गठन गरेको हो । विदेशी शिक्षण संस्थाको सम्बन्धमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका २०५९ बनेको थियो ।

त्यही निर्देशिकाको भरमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर कलेजहरूले विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । शिक्षामन्त्री सुमना श्रेष्ठले विदेशी सम्बन्धन प्राप्त शिक्षण संस्था निर्देशिकाको भरमा चलिरहेको भन्दै द्रुत गतीमा काम गर्नका लागि पहल अघि बढाएकी थिईन । उनले उक्त निर्देशिकालाई थप व्यवस्थित गर्न भन्दै निर्देशिकामा आवश्यक संशोधन गर्नुपर्ने बताइन् । मन्त्री श्रेष्ठले विदेशी सम्बन्धन लिएर सञ्चालनमा रहेका शिक्षण संस्थामाथि अनुगमन गर्नसमेत निर्देशन दिएकी थिइन् । तर, मन्त्रालयका उच्च अधिकारी अहिलेसम्म पनि अनुगमनमा गएका छैनन् ।

Advertisement 3

एकातिर मन्त्रालयका उच्च अधिकारी अनुगमनमा नएपछि र अर्कोतिर मन्त्रालयमा गठन गरिएको समितिलेसमेत काम नथालेपछि मन्त्री श्रेष्ठले पूर्वसचिव कोइरालाको संयोजकत्वमा अर्को समिति गठन गरेकी हुन् ।

प्रकाशित :२०८१ बैशाख १६, आईतवार २३:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry