काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत परियारले प्रत्येक दिन विभागीय प्रमुखसँग बैठक गर्ने
काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले हरेक दिन बिहान विभागीय प्रमुखसँग प्रगति बैठक राख्ने तालिका बनाएका छन् । उनले विभाग स्तरमा अघिल्लो दिन के भयो, आज के गर्ने तयारी छ, यसका लागि आन्तरिक समन्वय र प्रगतिका बारेमा थाहा पाउन हरेक दिन बिहान पौने १० बजे विभागीय प्रमुखसँग प्रगति बैठक राख्ने तालिका बनाएका हुन् ।
Advertisement 1
बैठक योजनाका विषयमा जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत परियारले भने, ‘बैठक संक्षिप्त हुनेछ । बैठक भएकै कारण काममा वा सेवा प्रवाहमा बाधा हुनेछैन । बैठकलाई औपचारिकतामानभन्दा विषयमा केन्द्रित गरिनेछ । यसबाट प्राप्त हुने सूचनाले प्रगतिमा पुग्न सघाउ पुग्नेछ । यस्तै देखिएका बाधा फुकाउन सहज वातावरण बन्नेछ ।’
बुधबार उनको कार्यकक्षमा बसेको आर्थिक वर्ष २०८०र०८१ को आयव्यय स्रेस्ताको अन्तिम लेखापरीक्षण, प्रारम्भिक प्रतिवेदनले औँल्याएको अवस्थाका बारेमा विभागीय प्रमुखसँग छलफल गर्दै योजना सुनाएका हुन् । खर्च बढाउन र बेरुजु घटाउन विभागका प्रमुखले सक्रिय भएर काम गर्नुमा उनले जोड दिए । प्रतिवेदनले औँल्याएका ‘सैद्धान्तिक’ र ‘लगती’ वेरुजुसँग सम्बन्धित विभाग, आयोजना, एकाइ, सचिवालय र कार्यक्रमका प्रमुखले प्रारम्भिक बेरुजुलाई रुजु गराउन गर्नुपर्ने काम र निर्वाह गर्नुपर्ने भूमिका छलफलको मुख्य विषय थियो ।
Advertisement 2
बैठकमा वित्त विभागका प्रमुख डा.शिवराज अधिकारीले प्रारम्भिक प्रतिवेदनका विषयमा प्रस्तुतीकरण गरेका थिए । यस्तै आन्तरिक लेखा परीक्षण इकाइका प्रमुख यादव घिमिरे, विषयसँग सम्बन्धित यसअघि गरिएका कामका विषयमा जानकारी गराएका थिए ।
सबै विभागका प्रमुखलाई वडा सहजीकरणको जिम्मेवारी
बैठकमा प्रमुख प्रशासकीय अधिकृत परियारले आजसम्ममा वडाले प्राप्त गरेको वित्तीय प्रगतिको ग्राफ प्रस्तुत गरेका थिए । उनले भने, ‘वडाका काम महानगरबाट अलग छैनन्, अलग होइनन् । यसै कारण त्यहाँको सम्भावनालाई उपयोग गर्नुपर्छ । चुनौतीको समाधान गर्नुपर्छ । समस्याको समाधान गरिदिनु पर्छ । यसका लागि एक जना विभागीय प्रमुखलाई दुई वटा वडाको जिम्मेवारी दिएको छु । अहिलेसम्म देखिएको प्रगतिको अङ्क तपाईँहरूले काम थाल्ने विन्दु हो । तपाईँको सहजीकरणपछि यसअघिको विकास गतिले कति फरक पार्छ, तपाईँको उपस्थितिको मापन सूचक हो ।’
Advertisement 3
प्रशासन विभागका प्रमुख दीपक अधिकारीलाई वडा नं. ६ र १६, सूचना प्रविधि विभागका प्रमुख महेश काफ्लेलाई वडा नं. ५ र ७, सहरी विकास विभागका प्रमुख अर्चना श्रेष्ठलाई वडा नं. २ र १७, कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यलाई वडा नं. १२ र १५, राजस्व विभागका प्रमुख ध्रुव काफ्लेलाई वडा नं. ८ र १४ को जिम्मेवारी दिइएको छ । यसैगरी वित्त विभागका प्रमुख डा.शिवराज अधिकारीलाई वडा नं. ९ र १० को जिम्मेवारी दिइएको छ । खरिद एकाइका प्रमुख नमराज ढकाललाई वडा नं. ३ र ११, सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख नरेन्द्रबिलास बज्राचार्यलाई वडा नं. २१ र २९, योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख सुमित्रा लामिछानेलाई वडा नं. २० र ३०, आन्तरिक लेखा परीक्षण एकाइका प्रमुख यादव घिमिरेलाई वडा नं. १ र ३१, वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठलाई वडा नं. ४ र २६, सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यलाई वडा नं. २२ र ३२ को जिम्मेवारी दिइएको छ ।
सामाजिक विकास विभागका निमित्त प्रमुख विमला कोइरालालाई वडा न. १३ र १९, सम्पदा तथा पर्यटन विभागका निमित्त प्रमुख कुमारी राईलाई वडा नं. २५ र २८, स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनलाई वडा नं. १८ र २७, शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेललाई वडा नं. २३ र २४ को जिम्मेवारी दिइएको छ ।