चंखेली गाउँपालिकाका तत्कालिन अध्यक्ष र प्रमुख प्रशासकीय अधकिृतसहित नौ जनाले भ्रष्टाचार गरेको अभियोगमा मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाई, प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसहित नौ जना विरुद्ध भ्रष्टाचार गरेको अभियोगमा अदालतमा मुद्दा दायर भएको छ । गाउँपालिकाको वडा नम्बर तीन स्थित ब्याफु खानेपानी मर्मत योजनाका लागि २०७४-०७५ मा छुट्टाइएको रकम अनियमितता गरेको भन्दै आयोगले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष चौलागाई, प्रमुख प्रशासकीय अधिकृत शाही, इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्लीमगर र सब-इन्जिनियर हर्कधन बुढाले गैरकानूनी लाभ र सरकारलाई गैरकानूनी हानी पुर्याउने बदनियतले वास्तविक रुपमा काम भएको भन्दा पाँच लाख १५ हजार १०८ रुपैयाँ बढी भुक्तानी दिई भ्रष्ट्राचार गरेको पुष्टि भएको आयोगका सहसचिव एवम प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए ।
उनका अनुसार उनीहरुले ब्याफु खानेपानी मर्मत योजनाको फिल्डमा नापी किताब बमोजिम काम नभए पनि काम भएको भनी नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ता सम्बन्धी झुट्टा बिल भरपाई तयार गर्ने, चेक गर्ने, प्रमाणित गर्ने र टिप्पणीमा सही गर्ने कार्य गरेका थिए । उनीहरुविरुद्ध पाँच लाख १५ हजार १०८ रुपैयाँ बिगो कायम गरी भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन एवं बिगो असुलउपर गर्न माग गरिएको छ ।
प्रकाशित :२०८० चैत्र १, बिहीबार १३:२८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%