सार्वजनिक जीवनमा ध्यानको अपरिहार्यता

विषय प्रवेश
Advertisement 1
सार्वजनिक स्रोत र शक्तिको प्रयोग गरी सार्वजनिक भलाइका लागि काम गर्ने व्यक्तिहरु सार्वजनिक व्यक्ति हुन् । जोसँग आम नागरिकको सरोकारका विषयहरू रहेका हुन्छन् त्यसको जीवन सार्वजनिक जीवन हो ।राज्यको पद्धति मार्फत आम नागरिकको हेरविचार वा संरक्षण गर्ने र सार्वजनिक सेवा प्रवाहको यथोचित प्रबन्ध मिलाउने जिम्मेवारी पाएको मानिस नै सार्वजनिक व्यक्तित्व हुन् । ।राजनैतिक दलहरू, समस्त प्रशासन संयन्त्र, संगठित संघसंस्थाहरू, राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरू लगायतका निकायहरू सार्वजनिक निकाय हुन् । सार्वजनिक निकायमा संलग्न अधिकारी सार्वजनिक पदाधिकारी हो । उसले जीवन जिउने शैली नै सार्वजनिक जीवनको सिद्धान्तको रूपमा परिभाषित गरिन्छ । सार्वजनिक व्यक्तिको व्यवहार पनि आम नागरिकको अपेक्षा अनुकूल नै हुनुपर्दछ । निजी जीवनमा अवलम्बन गरिने कतिपय व्यवहारहरू सार्वजनिक जीवनमा प्रदर्शन गर्नु हुँदैन । समाज, राष्ट्र तथा परिवेशले फरक तथा अनुकरणयोग्य व्यवहारको अपेक्षा गरेको हुन्छ । उक्त जिम्मेवारी वा पदमा रहेका अधिकारीहरूको व्यवहार जस्तोः लवाई, खुवाई, बोलाई, हिँडाई, बसाई, गराई लगायतका आचरणहरूको समष्टिलाई नै सार्वजनिक जीवनका सिद्धान्तका रूपमा बुझ्न सकिन्छ । सार्वजनिक सेवा आफैमा व्यापक र बहुउद्देश्यीय हुन्छ । उक्त सेवालाई सबैको पहुँचमा पुग्ने गरी मितव्ययी तरिकाले र समन्यायिक वितरणको चाँजोपाँजो मिलाउन संविधान, ऐन, नियम, कार्यविधि, मापदण्ड, नियमन प्रबन्ध लगायतका कानुनहरू र राज्यसंयन्त्रहरु स्थापित गरिएका हुन्छन् । सार्वजनिक पदाधिकारीहरूले आदर्श र अनुकरणयोग्य जीवनशैली अपनाउनु पर्दछ ।सार्वजनिक जीवनका सिद्धान्त एवं मूल्य मान्यताहरूलाई अनुसरण गर्न आवश्यक देखिन्छ । आदर्श जीवनशैलीबाट नै कालान्तरमा समाज रूपान्तरण गर्न प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रोत्साहन गर्ने हुनाले त्यसतर्फ ध्यान केन्द्रित गरी कार्य व्यवहारहरू सञ्चालन गरिनु उपयुक्त हुन्छ । यसो नगरिँदा भावी पुस्तालाई समेत असर पर्न जाने, सामाजिक मूल्य मान्यताहरू भत्किने, समाजको आदर्श हराउँदै जाने सम्भावना रहन्छ । मौजुदा कानुनको पालना, राष्ट्रप्रतिको दायित्वबोध, पारदर्शी कार्यशैली, स्वच्छ व्यवहार, इमानदारीपूर्वक जिम्मेवारीको निर्वाह, मानवीयताको सम्मान, सार्वजनिक हितबाट निर्देशित हुनसकेमामात्र मुलुकले देखेको सुशासन, सामाजिक नयाय र समृद्धिको सपना साकार हुनेमा विश्वास गर्न सकिन्छ । सार्वजनिक पदाधिकारीको कार्यसम्पादन चुस्त, दुरुस्त, मितव्ययी, स्वच्छ, निष्पक्ष, प्रभावकारी, कुशल, कानुनी, अनुशासित, उच्च मनोबलयुक्त र सदाचारयुक्त हुनुपर्दछ ।यसका लागि सार्यजनिक जविन जिउनका लागि ध्यान को अपरिहार्यता रहेको छ ।
ध्यान के हो?
Advertisement 2
ध्यान शब्द संस्कृत भाषाबाट आएको हो । यसको अर्थ सावधान र चिन्तन भन्ने हुन्छ । यसमा स्व–सचेतनाको महत्त्वपूर्ण अभ्यास गरिन्छ र आन्तरिक शान्ति प्राप्त गरिन्छ । ध्यान एक किसिमको मानसिक अभ्यास हो । यसले सतर्क, सचेत बनाउनुका साथै व्यक्तिलाई मानसिक, संवेगात्मक र आध्यात्मिक रूपले तन्दुरुस्त बनाई परिपक्व बनाउँछ ।
गोरक्ष संहितामा गुरु गोरख नाथले ध्यानको यस्तो व्याख्या गर्नुभएकोछ । स्मृत्यसेव सर्व चिन्तया धातुरेकः प्रपद्यते । यच्चितै निर्मला चिन्ता तद्विध्यानं यचक्षते ।। द्विविधं भवति ध्यानं सकलं निष्कलं तथा । चर्याभेदेन सकलं निष्कलं निर्गुणं भवेत् ।। अर्थात् ध्यान सगुण÷साकार र निर्गुण÷निराकार दुई प्रकारको हुन्छ । सगुण ध्यान गर्नाले अणिमा आदि अष्ट सिद्घी प्राप्त हुन्छन् भने, निर्गुण ध्यानबाट समाधिको अवस्था प्राप्त हुन्छ । योग तत्वोपनिषद्ले पनि यो तथ्य लाइ थप स्पष्ट गरेको छ ः– सगुणध्यानमेतत्स्यादणिमादिगुणप्रदम् । निर्गुणध्यानयुक्तस्य समाधिश्चततो भवेत् ।।
Advertisement 3
अष्टावक्र गीतामा ‘निर्विषय चेतनाको अवस्था नै ध्यान हो भनिएको छ । विषयहरूमा जबसम्म रस रहन्छ, तबसम्म ध्यान त्यस व्यक्तिसँग निरस रहन्छ । यस्ता व्यक्तिहरूलाई ध्यानको अनुभवमा ल्याउन सकिँदैन । ध्यान, चेतन मनको एक प्रक्रिया हो, जसमा व्यक्तिले आफ्नो चेतना बाह्य जगत्को कुनै एक विशेष कुरामा केन्द्रित गर्छ । कुनै एक विचार वा छविमा मनलाई निरन्तर स्थिर गर्ने कार्यलाई ध्यान भनिन्छ ।
धारणाको अर्थ चित्तलाई एउटै ठाउँमा केन्द्रित गर्नु हो । ध्यानस्वयं र वस्तु स्थिति प्रतिको जागरूकता हो । यो न त एकाग्रता हो, न धारणा नै । एकाग्रतामा मन एकाग्र हुन्छ भने धारणामा मन एकोहोरो हुन्छ । ध्यानमा मन हराउँछ । ध्यान स्वयंतिर फर्कने यात्रा हो । ध्यानमा सबै बाह्य वृत्तिहरू छुट्छन् तर जागरणको सघनता रहिरहन्छ । ध्यान त्यस्तो उपाय हो जसलाई हामी आफ्नो चित्त शान्ति, तनाव निवारण र राम्रा गुणहरूको विकासका लागि उपयोग गर्न सक्छौं। ध्यान भावशून्य अवस्थामा रहनु हो ।ध्यान भनेको भौतिक शरीर र मनका सीमाहरूबाट पर जानु हो। ध्यान हामी स्वयंको रूपान्तरण हो । ध्यानको उपयोगिता अद्भूत छ
पतञ्जलि भन्छन्, ‘प्रत्याहार सिद्ध गरेर नै ध्यानमा प्रवेश गर्न सकिन्छ । प्रत्याहार सिद्ध गर्नु भनेको चित्तका वृत्तिहरू पूर्ण रूपले निरोध भई इन्द्रियहरू सांसारिक रसबाट मुक्त भएको अवस्था हो । त्यसैगरी ओशो भन्छन्, ‘भित्रबाट जाग्नु नै ध्यान हो । सधैँ निर्विचारको अवस्थामा रहनु नै ध्यान हो । ध्यान, चेतन मन को एक प्रकृया हो, जसमा व्यक्तिले आफ्नो चेतना बाह्य जगतको कुनै एक बिशेष कुरा वा मन्त्रादी मा केन्द्रित गर्छ । कुनै एक विचार वा छवीमा मन लाई निरन्तर स्थीर गर्ने कार्यलाई ध्यान भनिन्छ । मनलाई जहाँ धारणा गराइएको हुन्छ, अथवा जुन प्रतिकमा मन अड्काइएको हुन्छ , अथवा मन जहाँ लगाइएको हुन्छ त्यसै वृत्तिमा एकतार भएर मन लगाईरहनु ,मन लाइ यताउता भड्किन नदिनु लाई ध्यान भनिन्छ । पातञ्जल योग प्रदीप मा लेखिएको छ ः– तत्र प्रत्यैकतानता ध्यानम् । अर्थात् ः जहाँ मन लगाइएको छ त्यसै वृत्तिमा एकनासले मन लगाइरहनु ध्यान हो । यो एकाग्रता मनमा दोश्रो विचार आएर बाधित नभए सम्म ध्यान मानिन्छ ।
हाम्रो मनस्थितिमा ध्यान आँखा चिम्लिएर बस्नु भन्ने बुझिन्छ । आँखा चिम्लिएर बस्दैमा ध्यान लाग्दैन । ध्यान भनेको निर्विचार अवस्थामा पुग्नु हो । आँखा चिम्लिँदैमा निर्विचारमा पुगिँदैन । झन् आँखा चिम्लिएर बस्दा विचारहरू धेरै आउँछन् । यसैले ध्यानमा बस्नुभन्दा अगाडि हामीले रेचक गर्नुपर्छ । रेचक भइसकेपछि मात्र ध्यान लाग्न सजिलो हुन्छ । रेचक मनभित्रको मैलो फाल्नु हो । रेचकले हाम्रो शरीरलाई हल्का बनाउँछ । हामीभित्रको रिस, राग, द्वेष, घृणा, अहङ्कार सबै पखाल्छ । रेचक भन्नु नै हाम्रो शरीरको मस्तिष्क, हाम्रो मन पखाल्नु हो, सफा गर्नु हो । मनमा एकत्रित भएका तनावहरू रेचक हुन सकोस्, जसले सहज स्थिरता ल्याओस् र ध्यानको विचाररहित भावको अनुभव होस् । कुनै पनि व्यक्ति ध्यानको उचाइमा जानु छ भने सुरु सुरुमा रेचकले धेरै मद्दत गर्दछ ।
ध्यान बस्नु भनेको कुनै पनि कुरामा एकाग्र हुनु भनेर सोच्छौं हामी । तर, ध्यानको अर्थ त्यस्तो होइन । ध्यानको अर्थ र महत्त्व निकै गहन छ ।कैयौं मानिसहरु ध्यानलाई नै सुर्दशन क्रिया भावातीत ध्यान क्रिया तथा सहज योग ध्यान सम्झने गल्ती गर्छन् । अन्य विधिलाई समेत उनीहरु ध्यान सम्झने गर्छन् ।कैयौ सन्त, गुरु तथा महात्मा ध्यानको प्रकारका क्रान्तिकारी विधिहरु बताउने त गर्छन् । यद्यपि, उनीहरुले विधि र ध्यानबीच फरक भने कहिल्यै बताउँदैनन् । जबकि क्रिया र ध्यानमा आकाश जमिनको फरक छ । किनकि क्रिया साधना होइन, साध्य हो । केवल एउटा औजार हो ।त्यसैले त, आँखा बन्द गरेर बस्दैमा ध्यान हुँदैन । कुनै मुर्तिलाई स्मरण गर्नु वा माला जप्नु पनि ध्यान हुँदैन ।ध्यान त तब गरिन्छ, जब क्रियाबाट मुक्त भइन्छ । विचारबाट मुक्त भइन्छ ।
ध्यानको इतिहास
ध्यानको अभ्यास हुन थालेको धेरै भएको छैन । यसको अभ्यास भएको करिब ३ हजार वर्ष भइसकेको अवस्था छ । प्राचीन कालमा ध्यानको प्रारम्भबारे वेदमा उल्लेख भएको पाइन्छ । वैदिक मन्त्र गायत्रीमा समेत ध्यानको कुरा पाइन्छ । यसैगरी ई.पू. छैठौँदेखि पाँचौँ शताब्दीमा ध्यानका अन्य विधिहरू चीनमा कन्फ्युसियस र ताओ तथा हिन्दू, जैन, बुद्ध जस्ता व्यक्तित्वहरूले विकास गरेको इतिहास छ ।तेस्रो शताब्दीमा प्लोटिनुसदले ध्यानका प्रक्रियाहरू विकास गरेको भेट्टाइन्छ । पहिलो शताब्दीमा बुद्धको ध्यान सबैभन्दा परिष्कृत पाइन्छ । चीन, भियतनाम र कोरियामा समेत बुद्धको प्रभाव परेको पाइन्छ । मध्ययुगमा पश्चिममा क्रिस्चियनको प्रभाव बढेको र बाइबलमा ध्यानको प्रयोग गरेको पाइन्छ । आधुनिक समयमा विश्वका देशहरूमा समेत ध्यानको प्रभाव बढेको पाइन्छ ।
ध्यानका विभिन्न प्रकारहरु
एकाग्रता र सचेतताका दृष्टिले ध्यानका विभिन्न प्रकार हुन्छन् । ध्यानका विभिन्न प्रकार निम्न लिखित रहेका छन् ।
एकाग्र ध्यान ःयसमा कुनै एक विन्दुमा ध्यान केन्द्रित गरिन्छ । यसमा मन्त्र भनेर, मैनबत्ती बालेर, मधुर आवाज सुनेर, माला जपेर वा गन्ती गरेर ध्यान गर्न सकिन्छ ।
मस्तिष्क सक्रिय राखेर गरिने ध्यान ः यस्तो ध्यानले सचेतना बढाउँछ । यसमा ध्यान गरिरहँदा के अनुभव भइरहेको छ त्यसैमा केन्द्रित गरी श्वासप्रश्वास फेरिन्छ । यतिबेला आफ्नो संवेग र सोचलाई सूक्ष्म अनुभव गरिन्छ तर कुनै पनि निर्णयबिना त्यस्ता कुरा छाड्दै गइन्छ । वर्तमानमा गर्न सकिने वा यही क्षणमा एकाग्र हुनसक्ने क्षमता बढाउन गरिने ध्यान ।
स्वर्गिक वा अलौकिक ध्यान ः यो साधारण र प्राकृतिक ध्यानको विधि हो । यसमा शान्तपूर्वक आफ्नो मन्त्र दोहो¥याउँदै ध्यान गरिन्छ । यसबाट शरीर र दिमाग शिथिल र शान्त हुन्छन् र आन्तरिक शान्ति प्राप्ति हुन्छ ।
निर्देशनात्मक ध्यानः गन्ध, दृश्य, आवाज र अन्य संवेदनाहरूको प्रयोग गरी गरिने ध्यान गाइड, गुरु वा शिक्षकहरूबाट गराइन्छ ।
मन्त्र ध्यान ः यस्तो ध्यान गर्दा कुनै पनि मन्त्र जप्दै गरिन्छ र ध्यान केन्द्रित गरिन्छ ।
संगीत र ध्यानः बुद्धधर्ममा संगीत सुन्दै ध्यान गर्ने सुझाव दिइँदैन किनकि त्यसो गर्दा आफ्नो शान्तिको लागि बाह्य साधनमा भर पर्नुपर्ने हुन्छ। हामी भित्रबाट शान्तिको खोजी गर्छौं।
ध्यानको आसन
ध्यानको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा मेरुदण्ड सीधा राखेर आफूलाई सहज हुने आसनमा बस्नु हो। काँध, गर्दन, र अनुहारका मांसपेशीहरू शिथिल हुनुपर्छ। कुर्सीमा बस्दा सजिलो हुन्छ भने त्यो पनि ठीकै छ। ध्यान गर्न बस्दा यातना भोगेजस्तो हुनु हुँदैन! जेन ध्यानका कुनै कुनै पद्धतिमा विल्कुल हलचल गर्न पाईंदैन। अन्य ध्यानमा चाहिँ आफ्नो खुट्टा चलाउन मन लाग्यो भने पाइन्छ, त्यो ठूलो समस्याको कुरा होइन।
ध्यानको समय
ध्यान कुन समयमा कति समय गर्ने भन्ने सम्वन्धमा पर्याप्त ध्यान दिनु पर्दछ ।ध्यानको नियम अनुसार शुरुवातमा छोटो समय अर्थात तीनदेखि पाँच मिनेट पनि पर्याप्त हुन्छ। त्योभन्दा लामो समय एकै कुरामा मन केन्द्रित गरेर बस्न गाह्रो हुन्छ। एकैपटक लामो समय बस्न खोज्दा मन चारैतिर डुल्ने, अनेक कल्पनामा हराउन थाल्ने, अथवा निदाइने हुन सक्छ । तसर्थ छोटो समयको लागि पूर्ण केन्द्रित भएर ध्यान गर्नु उचित हुन्छ ।अभ्यासको क्रममा हाम्रो मन र शरीर शिथिल रहनु आवश्यक छ । ध्यानको अभ्यासमा निरन्तरता जरुरी हुन्छ। दैनिक ध्यान गर्न सक्यो भने अति उत्तम हुन्छ । प्रारम्भमा केही मिनेट ध्यान गर्नु पर्दछ । बीचबीचमा ब्रेक लिँदै ध्यान गर्न सकिन्छ । यसरी अभ्यास गर्दै जाँदा राम्रो हुन्छ। कष्टपूर्वक एकै पटक एक घण्टासम्म बस्नुभन्दा छोटो छोटो अवधि ध्यान गर्नु फाइदाजनक हुन्छ । ध्यान अभ्यासको शुरुवात एक ठाउँमा स्थिर बसेर चित्तलाई श्वासमा केन्द्रित गर्नु आवश्यक छ । खासगरी तनावमा भएको बेला यस्तो अभ्यास एकदमै उपयोगी हुन्छ।
सार्वजनिक जीवनमा ध्यान किन आवश्यक छ ?
ध्यान मस्तिष्कको एक किसिमको तालिम हो, जसले मानसिक प्रक्रियालाई सही अवस्थामा राख्ने, शरीरलाई तन्दुरुस्त राख्ने र अनेकौँ फाइदा दिन्छ । यसले गहिरो मात्र नभई धेरै गहिरो ज्ञान प्रदान गरी दिनभरको तनाव घटाउने, आन्तरिक रूपमा सचेत गराउने र वास्तविक शान्ति प्रदान गर्छ । यदि चिन्ता, तनाव र थकान भयो भने ध्यानमा बस्नाले फाइदा पुग्छ । । शरीर, विचार, भाव वा अनुभूतिप्रति होसपूर्ण हुँदै आनन्दित जीवन जिउन ध्यानले सहयोग पुर्याउँदछ । अतः हरेक व्यक्ति ध्यानको उचाईमा छिटै पुग्नु छ भने रेचकबाट ध्यान सुरु गर्नु पर्दछ । उपरोक्त विधिअनुसार ध्यान लगातार एक महिना गरेर हेर्दा हामीलाई आकस्मिक रुपान्तरणको अनुभूत हुन थाल्दछ । आजको यो भागदौड जिन्दगीमा आनन्द र सुखी जीवनको लागि ध्यान अपरिहार्य रहेको छ ।
योग ग्रन्थहरूमा ध्यानको महिमा यसरी लेखिएको छ ः– अश्वमेध सहस्त्राणी वाजपेय शतानि च । एकस्य ध्यान योगस्य तुलांनार्हन्ति षोडशीम् ।। अर्थात हजारौ अश्वमेध यज्ञ वा सयकडौं वाजपेय यज्ञको फल ध्यान योगको सोलह भाग जति पनि हुँदैन । अर्थात् इष्टदेवको ध्यान गर्नाले पूजा, पाठ, यज्ञ, दान, तप, गरेको भन्दा १६ गुना बढी फल प्राप्त हुन्छ ।
ध्यानमा इन्द्रिया मनको साथ, मन बुद्धिको साथ आफ्नो स्वरुप आत्मामा लिन हुन थाल्दछ । ध्यानले हामीलाई अनावश्यक कल्पना तथा विचारलाई मनबाट हटाएर शुद्ध तथा निर्मलतर्फ होहोर्याउँछ ।
जसले साक्षी वा श्रष्टा भाव बुझ्दैन, उनीहरुले सुरुमा अभ्यास गर्दा आँखा बन्द गर्नु पर्छ । र, अभ्यास हुँदै गएपछि आँखा बन्द होस् वा खुला, साधक आफ्नो स्वरुपको साथ नै जोडिएर रहन्छ । र, अन्तमा ऊ साक्षी भावमा स्थिर रहेर कुनै कामलाई पूरा गर्दै पनि ध्यानमा बस्न सक्छ । ध्यान जति जति गहिरो हुँदै जान्छ, व्यक्ति साक्षी भावमा स्थित हुन थाल्दछ । त्यसमा कुनै पनि भाव, कल्पना तथा विचारका क्षण मात्रले पनि प्रभाव पर्न दिँदैन । मन तथा मस्तिष्कका मौन हुनु नै ध्यानको प्राथमिक स्वरुप हो । विचार, कल्पना तथा अतीतको सुख–दुःखमा बाँच्नु ध्यानविरुद्ध हो ।सार्वजनिक पदाधिकारीहरूका व्यवहारले आम सर्वसाधारणहरूलाई प्रभाव पार्ने भएकोले यस्ता सिद्धान्तहरूको महत्त्व सार्वजनिक जीवनमा निकै धेरै हुने देखिन्छ ।
बुँदागत रूपमा सार्वजनिक जीवनमा ध्यानको महत्वलाई यसरी उल्लेख गर्न सकिन्छ ।
सार्वजनिक जीवनलाई स्वच्छ, मर्यादित, निष्पछ, व्यावसायिक र उत्तरदायी बनाउन,
कार्य प्राथमिकीकरण, सेवामा पहुँच, सहकार्य, सेवा मापदण्ड लगायतका आधारहरू बिस्तार गरी सेवा उपर जनविश्वास बढाउन,
क्षमता विकास तथा कार्यशैली परिवर्तन गरी नागरिक आदरलाई सर्वोपरि महत्त्व दिन,
भविष्यप्रतिको सजगता अपनाई सार्वजनिक बस्तु तथा सेवाको दिगोपना कायम राख्न,
सार्वजनिक सेवामा क्रियाशीलता र उत्साह बढाउन,
व्यावसायिकता, नवीनता र असल अभ्यासलाई प्रोत्साहन गरी पेशागत निष्ठा हासिल गर्न,
हार्दिकता, भावनात्मक आबद्धता र कार्य स्वायत्तता मार्फत नागरिक विश्वास आर्जन गर्न,
सेवा तथा संयन्त्र उपर रहेको नागरिक पृष्ठ पोषणलाई आधार मान्ने संस्कारको विकास गर्न,
अरुप्रति मैत्रीभावको विकास गर्न,
इमानदारी र स्वच्छता मार्फत सेवा प्रवाहमा खुला संस्कृतिको विकास गर्न,
सहभागितामूलक शैलीबाट समस्याहरूको समाधान गर्न ।,
शारीरिक तथा भावनात्मक पीडा कम गर्न
शान्त चित्तकोे खुला र सजग अवस्थालाई अरुप्रति मैत्रीभाव जगाउन उपयोग गर्न ,
निर्णय प्रकृयामा विवेकको प्रयोग गर्न,
मस्तिष्क क्षमताको वृद्धि विकास गर्न,
मस्तिष्कमा अझ राम्रो रक्तसञ्चार गर्न,
तनाव भइहालेमा तुरुन्तै घटाउने गरी स्नायु प्रणाली विकसित हुन्छन् ।
सकारात्मक संवेगहरू बढाउँछ ।
एकाग्र बनाउने र वर्तमानका सावधानीहरूको बारेमा सचेत गराउँछ ।
संवेगात्मक क्षमता, निरन्तर ताजापन र बौद्धिक क्षमताको विकास गराउँछ ।
सहानुभूति तथा दया, माया र ममताको विकास गराउँछ ।
स्वयं आफूसँग र अन्य परिस्थितिसँग इन्द्रियहरूको संयोजन गराउने प्रक्रियामा वृद्धि गर्छ ।
आफू को हो र जीवनको उद्देश्य तथा अर्थको बारेमा परिचित गराउँछ ।
सामाजिकपनको विकास गराउँछ ।
ध्यानले मस्तिष्कलाई आराम दिने मात्र नभई व्यक्तिको अन्तरनिहीत क्षमता प्रस्फुटन गराइदिन्छ । ज्ञानको तह बढाइदिन्छ । स्मरण क्षमता बढाइदिन्छ । मनमा आनन्दको अनुभूति ल्याइदिन्छ र तनावबाट मुक्त गर्दछ ।
ध्यान गर्ने विधि
ध्यानका विभिन्न विधि हुन्छन् । सुरुमा ध्यान गर्न आरामपूर्वक घण्टौँ बसेर कुनै कुरा सोच्न खाली मस्तिष्क प्रयोग गर्नु कठिनसमेत हुन्छ । ध्यान गर्नु भनेको श्वासलाई केन्द्रित गरी एकाग्र हुनु हो । आजकाल ध्यानलाई आराम र चिन्तित दिमागको उपचारका लागि प्रयोग गरिन्छ ।जेजसरी ध्यान गरे पनि मनलाई एकाग्र राख्न सक्नेगरी कुनै वस्तु वा आकृतिमा केन्द्रित रही ध्यान गर्न सकिन्छ । ध्यान जुनसुकै अवस्थामा पनि गर्न सकिन्छ । यसको कुनै निश्चित समय वा परिस्थिति नै हुँदैन । लेख्दा, पढ्दा, हिँड्दा, बस्दा, पूजापाठ गर्दा जुनसुकै अवस्थामा पनि ध्यान गर्न सकिन्छ ।
ध्यान एउटा अस्तव्यस्त दैनिकीका लागि राम्रो वरदान सावित हुने गर्दछ । मष्तिष्कलाई ऊर्जा दिने वा चार्ज गर्ने सबैभन्दा उत्तम विधि नै ध्यान भएको हुनाले यो अति व्यस्त व्यक्तिले दैनिक कम्तीमा १ घण्टा गर्ने र व्यस्त व्यक्तिले आधा घण्टा कम्तीमा गर्नुपर्छ । थप तनाव र दबाब भएमा मस्तिष्कलाई आराम राख्नका लागि ध्यानको मात्रा बढाउँदै लैजान सकिन्छ ।
अन्त्यमा,ध्याने दिमागलाई ध्यान केन्द्रित गर्न र विचारहरूलाई पुनः निर्देशित गर्न गरिने अभ्यास हो । पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ। किनभने धेरै मानिसहरूले यसको धेरै स्वास्थ्य लाभहरू थाहा हुँदै गएको छ। धेरै मानिसहरू यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा सोच्छन्।सार्वजनिक पदाधिकारीहरूको काम गर्ने शैली, बोली, व्यवहार, खुवाई, हेराई, ड्रेस अप लगायतका सबै विषयमा सार्वजनिक चासो रहन्छ । संविधान, ऐन, कानुन तथा आचरण सम्बन्धी विभिन्न दस्ताबेजहरूमा पदहरूको योग्यता उच्च नैतिक चरित्र भएको हुनुपर्ने भन्ने व्यवस्थाले सार्वजनिक पदधारीको अपेक्षित आचरणलाई इंकित गरेको मान्न सकिन्छ । ध्यानले शान्त, आनन्द र सन्तुलन प्रदान गरी संवेगात्मक विकास गराउँछ । तनाव र दबाब बढाउने सूचना, समाचार, त्यस्ता कुराहरू लगायत अन्य तनावका अवस्थाहरूमा फाइदा पु¥याउँछ । चिन्ता, दमरोग, क्यान्सर, दीर्घ दुखाई, डिप्रेसन, मुटुका रोगहरू, पेटका समस्याहरू, अनिद्रा र तनावका कारण टाउको दुख्ने जस्ता रोगसमेत ध्यानले निको पार्छ । तसर्थ सार्वजनिक जीवनमा ध्यानको अपरिहार्यता रहेको छ । यसले सार्वजनिक जीवनलाई फलदायी बनाउन मदत गर्दछ ।
(उप्रेती नेपाल सरकारका उपसचिव हुन् ।)