कोशी अस्पतालमा छिर्यो अख्तियारः आफन्तलाई जागिर खुवाउन दरबन्दी लुकाएर कर्मचारीको आह्वान
कोशी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रवेश गरेर छानबिन सुरु गरेको छ । जथाभावी मापदण्ड बनाएर आफूअनुकूल विभिन्न पदका ५० जना कर्मचारी भर्नाका लागि शंकास्पद हिसाबले दरखास्त आह्वान गरिएको हो ।
Advertisement 1
स्वास्थ्य मन्त्रालयबाट स्वीकृत दरबन्दीलाई लुकाएर कर्मचारीका लागि सूचनाको आव्हान गर्दै मनपरी गरिएको छ । विकास समिति र मेसु मिलेर जथाभाबी मापदण्ड बनाएर आफूअनुकूल विभिन्न पदका ५० जना कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरिएको अस्पतालका एक कर्मचारीले बताए ।
आफूनिकटका व्यक्तिलाई कर्मचारीमा नियुक्ति दिन डा। सिलवाल र मेसु डा। झाले मिलेमतो गरेको आरोप छ । माघ ४ गतेको मिति राखी २१ दिनको म्याद दिँदै तीन महिने सेवा करार रहने गरी मेडिकल अधिकृत, नर्सिङ अधिकृत, बायोमेडिकल टेक्निसियन, स्टाफ नर्स र फार्मेसी सहायक भर्नाका लागि विज्ञापनमार्फत दरखास्त आह्वान गरिएको छ । चलानी नम्बर र पत्र संख्या क्रमबद्ध नराखी साथै क्रम संख्या नै गायब पारेर शंकास्पद हिसाबले विज्ञापन गरिएको हो ।
Advertisement 2
परीक्षा नै नगरी अस्पताल विकास समितिले यसअघि करारमा कर्मचारी भर्नासमेत गरिसकेको एक कर्मचारीले जानकारी दिए । जसमा गोविन्द मिश्र र विनोद राजभरलाई करारमा नियुक्त गरिसकिएको छ । मिश्रलाई आठौँ तहका बायो मेडिकल इन्जिनियर र राजभरलाई आठौँ तहकै आईटी इन्जिनियरमा नियुक्त गरिएको हो ।
अस्पताल विकास समितिका नाममा गैरकानुनी निर्णय गरेर अस्पतालमा विभिन्न कामकारबाही र गतिविधि भइरहेको सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयले छानबिन थालेको हो । आयोगको इटहरी कार्यालयका प्रमुख सुरेश न्यौपानेले छानबिन सुरु गरिएको पुष्टि गरे । अस्पताल प्रशासन सञ्चालक समिति समेतको मिलेमतोमा मूल्यांकन र टेन्डर नगरीकन सरकारी भवनहरू भत्काएपछि अख्तियारले छानबिन थालेको बताइएको छ ।