लुम्बिनीमा आफ्नै सवारी साधन प्रयोग गरेर ट्रायल दिन पाइने, अन्य प्रदेशले कहिले सुरु गर्ने ?
लुम्बिनी प्रदेशका सबै यातायात कार्यालयमा अब सेवाग्राहीले आफ्नै सवारीसाधन प्रयोग गरी ट्रायल दिन पाउने भएका छन् ।
Advertisement 1
लुम्बिनी प्रदेशका सबै यातायात कार्यालयका प्रमुखसँग बसेको बैठकमा लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा)ले आफ्नै सवारीसाधन प्रयोग गरी ट्रायल दिने व्यवस्था सुरु गरेका हुन् । मन्त्री थापाले सेवाग्राहीको सहजताका लागि सवारी चालक अनुमति पत्रको ट्रायल दिने क्रममा प्रयोग हुने सवारी साधन परीक्षार्थीलाई स्वेच्छाले प्रयोग गर्न दिन मन्त्रालयका सचिवसहित कर्मचारीलाई निर्देशन दिएका हुन् ।
Advertisement 2
‘आफ्नो सवारी साधन हुँदाहुँदै शुल्क तिरेर ट्रायल सेन्टरकै सवारी साधन प्रयोग गर्नुपर्ने नियमको जनस्तरबाट व्यापक आलोचना भइरहेको छ, त्यसैले स्वेच्छाले सवारी साधन प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छु,’ मन्त्री थापाले भने । चालक अनुमतिपत्र लिने क्रममा परीक्षार्थीले स्वेच्छाले सवारी साधन ट्रायलका क्रममा प्रयोग गर्न पाउनुपर्ने माग उठेका बेला मन्त्री थापाले सर्वसाधारणलाई सहज हुने गरेर सवारी चालक अनुमति पत्र दिने व्यवस्था मिलाउन र छिटो छरितो तरिकाले सेवा प्रवाह गर्न कर्मचारीहरूलाई निर्देशन दिएको बताए ।
‘सचिव र यातायातका हाकिमहरुसहितका कर्मचारीहरूलाई के–के निर्णय गर्नुपर्छ, के–के तयारी गर्नुपर्छ गर्नुस् तर ट्रायल दिँदा सवारी साधनको प्रयोग स्वेच्छिक हुनुपर्छ र सेवाग्राहीलाई सहज हुने गरेर परिणाम देखिने गरी काम गर्नुपर्छ भनेको छु,’ थापाले भने ।
Advertisement 3
सवारी चालक अनुमति पत्रको ट्रायल परीक्षामा आफ्नै सवारी साधन प्रयोग गर्न दिने व्यवस्था मिलाउन राष्ट्रिय सतर्कता केन्द्रले सातवटै प्रदेश सरकारलाई निर्देशन दिएको छ । गत माघ ५ गते केन्द्रका सचिव रामआधार साहको अध्यक्षतामा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल, ट्राफिक प्रहरी, प्रधानमन्त्री कार्यालयका उपसचिवदेखि केन्द्रका सहसचिवहरू समेतको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको थियो ।
सवारी साधन भाडामा दिएबापत प्रशिक्षण केन्द्रहरूले मनोमानी रूपमा शुल्क असुल्ने गरेका थिए । उक्त विषयमा केन्द्रमा परेको उजुरी सन्दर्भमा छलफल भई सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निर्देशन दिइएको हो ।