नेताको गोजीबाट अध्यक्षमा स्वीकृत,हलबाट अस्वीकृत

माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनका नयाँ कार्यसमिति घोषणा भएको मसी नसुक्दै क्यान्सिल हुन पुगेको खबर छ । जहाँ अध्यक्षमा हरि रावलसहित नेताका खल्तीका कर्मचारीहरुलाई टीका लगाउन खोजिएको थियो तर जिल्ला जिल्लाबाट आएका बहुसंख्यक प्रतिनिधिहरुले नेताको पोल्टाबाट आएको नाम अस्वीकृत गरेसँगै भाँडभैलो मच्चिएको हो ।
Advertisement 1
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको पाँचौं राष्ट्रिय महाधिवेशनबाट रावललाई अध्यक्षमा पुन दोह्रयाउन खोजिएपछि कोटेश्वरस्थित होटल ए वान भेन्युमा लफडा भएको माओवादी निकट कर्मचारीहरुले जनाएका छन् । पार्टीबाट कर्मचारी फाँट हेर्ने जिम्मेवारी पाएकी नेतृ पम्फा भुसालले सर्वसहमतिको रटान लगाउँदै रावलको नाम अध्यक्षको रुपमा घोषणा गरेपछि त्यहाँ हल्लाखल्ला भएको हो ।
पार्टीबाट कर्मचारी फाँट हेर्ने जिम्मेवारी पाएकी नेतृ पम्फा भुसालले सर्वसहमतिको रटान लगाउँदै रावलको नाम अध्यक्षमा र डिलाराम खनालको नाम महासचिवको रुपमा घोषणा गरेपछि त्यहाँ हल्लाखल्ला र नाराबाजी भएको हो । आधा घण्टा अगाडि सर्वसहमती भन्दै नाम घोषणा गरिएकोमा पनि नाराबाजी र हल्लाखल्ला भएपछि माहोल विग्रिएर अहिले स्थगित गर्न परेको माओवादी कर्मचारीहरुले जनाएका छन् ।
Advertisement 2
रावललाई सर्वसहमत अध्यक्ष र पम्फा भुसाल निकटका डिलाराम खनाललाई महासचिवको रुपमा अगाडि सारिएको थियो । खनाल लामो समय राजश्वमा बसेर अहिले सञ्चारमन्त्री रेखा शर्माको सचिवालयमा पुगेका छन् । उनी दाङ जिल्लाकै बासिन्दा हुन ।
नेताहरुको आर्शिवाद पाएर कर्मचारी संगठनको नेता बन्न खोजेका रावल र खनालहरुको नाममा हलमा उपस्थित भएका ६५० जना प्रतिनिधि मध्ये आधा भन्दा बढीले सो नाम अस्वीकृत गरेपछि अहिले महाअधिवेशन नै स्थगित भएको माओवादी निकट कर्मचारीहरुले जनाएका छन् ।
रावल विगत १२ बर्षदेखि नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनमा छन् । पाँच वर्ष महासचिव र सात वर्ष अध्यक्ष गरी १२ वर्षदेखि संगठनको नेतृत्वमा रहेका उनले पुनः एक कार्यकाल दोहोर्याइएपछि कर्मचारीहरु आगो भएका हुन ।
यसभन्दा अगाडि विष्णु पाण्डे, मधुसुदन अधिकारी,रुक्म लामिछाने, मोनमान स्वाँर,दयाराम भुसाललगायतका व्यक्तिहरु संगठनका अध्यक्ष भइसकेका छन् । तर,पदको लोभलालच गरेका हरिले आफ्नो कार्यकाल लम्ब्याएर सबैलाई चक्मा दिने प्रयासमा लागेपछि माओवादी कर्मचारीहरु पहिल्यै क्रुद्ध भइसकेका छन् ।
गत माघ २० र २१ गते भैरहवामा महाधिवेशन गरेर नयाँ नेतृत्वका लागि बाटो खोल्ने तय गरिएको थियो । कार्यतालिकासमेत सार्वजनिक गरिसकेको महाधिवेशन हरि पक्ष अडिग नभएपछि स्थगित गर्नुपरेको थियो । सो मितिमा उनले काठमाडौंमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएर आफ्नो कार्यकाल लम्ब्याउने कसरत गरिरहेका थिए ।
अहिले पनि नेताहरुलाई मनाएर आफू अध्यक्षमा पुन एक कार्यकाल दोहोरिन खोजेका रावलको नाम हलबाट अस्वीकृत भएको छ । प्रतिनिधिहरु छुट्टाछुट्टै भेलामा जुटेका छन् ।