धर्म र राजनीतिमा सम्बन्ध
जनवरी २२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिरको उद्घाटन गरे र सो कार्यक्रममा भारतका चारै जना शंकराचार्यहरूले सहभागिता जनाएनन्। समस्त हिन्दूधर्मालम्बीको आस्था संग जोडिएको राम मन्दिरको उद्घाटनमा शंकराचार्यहरूको अनुपस्थितिले यसको धार्मिक महत्वले जति स्थान पाउनु पर्ने हो सो पाउन नसकेको अनुभूति भयो भनेर संचार माध्यमले बताए। यस्तो महत्वपूर्ण कार्यक्रममा शंकराचार्यहरू उपस्थित नहुनाको कारण बुझ्दा यसको उद्घाटनमा धार्मिक भन्दा राजनीतिक प्रेरणाले बढी ठाऊ लिएको भन्ने बुझियो। धार्मिक स्तरबाट यो उद्घाटन हुनको निम्ति यसको निर्माण पूर्ण रूपमा सम्पन्न हुनु पर्ने थियो तर यसको निर्माण सम्पन्न हुन अरू बढी समय लाग्ने र त्यही बीचमा भारतमा आम निर्वाचन हुने र त्यसको अशर हाल सत्ताधारी राजनीतिक पार्टी र त्यसका नेता वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी उपर पर्ने हुदा धार्मिक पूर्वाधारलाई भन्दा राजनीतिक पूर्वाधारलाई महत्व दिदा यो उद्घाटन सरकार प्रमुखबाट हुन पुग्यो न कि शंकराचार्यहरू मध्येबाट।यही प्रसंगलाई जोडेर धर्म र राजनीतिलाई विवेचना गर्ने कोशिश भएको छ यस लेखमा। धर्मलाई अंग्रेजीमा Religion भनिन्छ।
लेटिन भाषाको Re Ligare भन्ने २ शब्द बाट बनेको यो Religion भन्ने शब्दको अर्थ नेपालीमा हेर्दा Re भन्नाले पूनः वा फेरि Ligare भन्नाले मिलन वा एकीकरण भन्ने बुझिने रहेछ। यसको अर्थ पहिला मानव र ईश्वरको बीच भएको भावनात्मक सम्बन्धलाई पूनः एकीकरण गर्ने काम धर्मले गर्छ। त्यसैले धर्मले मानव र ईश्वरलाई पूनः एक बनाउछ। धर्म एक भावना हो, धर्म एक ब्यबहार हो, धर्म एक आस्था हो। त्यसै गरी राजनीति पनि एउटा बिचार हो, एउटा ब्यबहार हो, एउटा आस्था हो। यी दुबैको धरातल समाज हो। यिनीहरूको अस्तित्व शुन्यतामा रहदैन। त्यसैले यिनीहरूमा समानता देखिन्छ। बिना समाज न त राजनीति हुन्छ न त धर्म। त्यसैले राजनीतिका लागि धर्मको सहारा लिनु पर्ने हुन्छ। बहुदलीय ब्यबस्थामा राजनीति गर्न दलहरू खोलिन्छ, यसको लागि मानवीय पक्षको जरूरी हुन्छ जुन धार्मिक आस्था संग जोडिएको हुन्छ। विश्वमा धार्मिक आस्था संग नजोडिएका भौतिकवादी राजनीतिक दलहरू क्रमशः पतन हुदै गएको हुदा नेपालका त्यस्ता दलका नेताहरू पनि राजनीतिका लागि गेरू बस्त्र लगाउने, जलहरि चढाउने, राम जन्म भूमिको चर्चा चलाउने गरेका छन्। भौतिकवाद जसले ईश्वर मान्दैन, पूजा आजा गर्दैन, किरिया कर्म गर्दैन त्यस्ता दलहरूले जनमत गुमाउदै जान्छन्। त्यसैले हाम्रो संविधान बनाउने बेलामा राज्यको धर्म हुदैन भनेर ८५% भन्दा बढी सनातनी भएको हाम्रो देशलाई धर्म निरपेक्ष बनाए।
धर्मलाई अफिम मान्नेले त बनाए तर जुन राजनीतिक दल जनता संग थिए ती पनि तिनै अफिमवादीको निरीह साक्षी बने । अहिले यी सबैलाई यो धार्मिक निरपेक्षताको ब्यबस्था घांडो भएको छ र यसलाई धार्मिक स्वतन्त्रताको नामबाट परिमार्जन गर्न पट्टि लागेका छन्। यसबाट पनि बुझिन्छ कि धर्म र राजनीतिमा अन्योन्याश्रीत सम्बन्ध छ। भारतको अयोध्यामा बाबरहरूले १५ औ शताब्दीमा राम मन्दिर भत्काएर मस्जिद बनाएको करीब ५०० वर्ष पछि १९८० मा भाजपा ले राम मन्दिरको पुनर्स्थापनाका लागि आरम्भ गरेको रथ यात्राको विकसित रूप आजको मन्दिर उद्घाटन भएकोले यो विषय राजनीति संग जोडिएको स्पष्ट देखिन्छ। त्यति मात्र नभएर भारतमा २०२४ मा हुने आम निर्वाचनमा समेत भाजपाको मत बढ्ने कामनाका लागि पनि मन्दिर निर्माण कै क्रममा यसको उद्घाटन गरिएको कुरा बुझ्न गाह्रो छैन। त्यसैले यो धार्मिक विषय राजनीति संग जोडिन पुगेको छ। हाम्रा देशमा राजनीति गर्छु भन्नेहरू पनि केही अधुरो धरहराको उद्घाटन संग जोडिएका छन् भने कोही ५ पटक सम्म पनि मेलम्चीको पानी उद्घाटन गर्न पुगेर आलोचित हुनेहरू छन् भने धर्मको नाममा अधुरो राम मन्दिर उद्घाटन गरेर मोदी हाल चर्चामा आएका छन्।
चर्चामा आउन जे गर्न पनि अगाडि सर्ने राजनीतिज्ञहरू रूद्राक्षको माला लगाउन, गेरू बस्त्र धारण गर्न पाए पनि कतै धार्मिक भावना संग खेलवाड गर्न पाईन्छ कि भनेर लाग्छन् भने ब्यबहार बाटै आफूलाई धर्म र संस्कार संग जोड्न सक्ने मोदीले धर्मलाई राजनीति संग जोड्नु लाई अन्यथा मान्न मिल्दैन। अन्त्यमा, विना धर्मको राजनीति ब्यक्तिगत स्वार्थको लागि हुन्छ, यस्तो राजनीति देश र जनताको लागि हुदैन। त्यसैले राजनीतिमा धर्म हुनु पर्छ। यहां धर्म भन्नाले बिचार, आदर्श, त्याग, सेवा,ईमान्दारिता समेतलाई भन्न खोजिएको छ। जब राजनीतिमा यी तत्व हुदैनन् तब यो पेशा बन्न थाल्छ जहां स्वार्थ जोडिएको हुन्छ। त्यसै गरी धर्ममा समेत राजनीति हुनु पर्छ, तर यहा भन्न खोजिएको राजनीति दलगत राजनीति हैन। राजनीति जब परोपकारका लागि हुन्छ, समाज सेवाको लागि हुन्छ, सेवाको लागि हुन्छ, ईमान्दारिताका लागि हुन्छ भने त्यो धर्म हो। त्यसैले धर्म र राजनीति दुबै एक अर्काको पूरक हुन र एउटाको अभावमा अर्काको अस्तित्व रहदैन।
प्रकाशित :२०८० माघ ९, मंगलवार ०६:३४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%