कार्यविधि उलङ्घन गरी १८ कर्मचारी नियुक्त
धनगढी । कैलालीको टीकापुर नगरपालिकाले कार्यपालिकाको निर्णय अनुसार कार्यविधि उलङ्घन गरी १८ जना कर्मचारी नियुक्त गरेको छ । कार्यपालिकाको पौष २५ गतेको बैठकले ११ जना श्रेणिविहीन कर्मचारी नियुक्त गरेपछि सर्बस्त्र नियुक्त हुनेमा कालुराम ड.थारु, विवश चौधरी, श्रीराम चौधरी, सञ्चराम चौधरी, राम प्रसाद चौधरी, रञ्जित चौधरी, सञ्चु चौधरी, जय प्रकाश थारु, रमेश चौधरी, खेम विष्ट र बेचलाल चौधरी रहेका छन् । २१ गते भर्ना गरिएका कर्मचारीहरूमा पाँचौं तहमा सहायक नियुक्ति पाउनेमा पदम प्रसाद सापकोटा, चौथो तहमा नियुक्त हुनेहरूमा सोहन चौधरी, रवि चौधरी, विनोद चौधरी, भीम बहादुर चौधरी, गरिमा चौधरी र सुसित बुढा रहेका छन् । सहायक चौथोमा नियुक्ति पाउनेमा ५ जना सहायक कम्प्युटर अपरेटर छन् भने १ जना सुसित बुढा असिस्टेन्ट सब इन्जिनियर रहेका छन् ।
टीकापुर नगरपालिकामा करार प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि २०७५ को दफा ४ मा प्राविधिक कर्मचारी राख्दा अपनाउनु पर्ने विधिका बारेमा उल्लेख छ । सो दफा ४ को उप दफा १ अनुसार प्राविधिक कर्मचारी राख्दा सेवा क्षेत्र तथा सम्बन्धित सेवा समूहको योग्यता, पारिश्रमिक सेवा सर्त समेत तोकी कम्तीमा १५ दिनको सूचना प्रकाशित गर्नु पर्ने कुरा उल्लेख छ । सोही दफाको उप दफा ३ मा श्रेणी विहीन बाहेक का कर्मचारीहरूको सर्ट लिस्ट, लिखित, मौखिक वा प्रयोगात्मक कुनै विधि प्रयोग गरी नियुक्ति गरिने उल्लेख छ । सोही उप दफामा लिखित भएमा १०० पूर्णाङ्क हुने उल्लेख छ ।
सोही उपदफामा विषयको प्रकृति अनुसार प्रयोगात्मक परीक्षा लिन आवश्यक भएको खण्डमा लिखित ७५ र प्रयोगात्मक ७५ गरी १०० पूर्णाङ्क हुने गरी परीक्षा लिनु पर्ने उल्लेख छ । अन्तरवार्ता मार्फत छनौट गर्नु पर्दा शैक्षिक योग्यता बापत ६० (विशिष्ट श्रेणी ६०, प्रथम श्रेणी ५५, द्धितिय श्रेणी ५०, तृतीय श्रेणी बापत ४५) अङ्क तोकिएको छ भने कार्य अनुभव बापत १०, स्थानीय बासिन्दालाई १० अङ्क, सम्बन्धित जिल्लाको भएमा ७ अङ्क, सम्बन्धित प्रदेशको भएमा ५ अङ्क र सो बाहेकको भएमा ३ अङ्क दिनु पर्ने उल्लेख छ ।
प्रकाशित :२०८० माघ १, सोमबार ११:४४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%