गमक्क पर्नेहरू संग

गमक्क शब्द नेपाली शब्दकोषमा भेटिन्छ जस अनुसार अरूले मानोस नमानोस केही मतलब छैन तर आफूले आफूलाई सर्वज्ञ ठान्ने, अरूलाई वौद्धिक रूपले आफू भन्दा सानो ठानेर वास्ता नगर्ने प्रवृत्तिलाई भनिन्छ। अझै स्पष्ट रूपमा भन्नु पर्दा आफूमा केही खुवि वा क्षमता नभए पनि खुवि भएको भानमा परेर देखाईने ब्यबहारलाई पनि गमक्क परेको भनिन्छ।
Advertisement 1
मान्छे गमक्क पर्दा उसलाई कतैबाट फाईदा हुदैन। ऊ साथी भाई छर छिमेकको नजरमा गिरेको हुन्छ।फेरि सेवाप्रदायकहरूमा यस्तो बानी शून्य नै हुनु पर्छ। हाम्रो कर्मचारीतन्त्रको विकास यही नराम्रो वानी गमक्क संग भै रहेको पाईन्छ। हाम्रा अग्रजहरू पंचायत कालका अवशेष थिए। तिनका आनीवानी, बडप्पन, हाकिमीपनको सिको गर्दै हामी उनीहरूका कुर्सीमा बस्न पुग्यौ। मोटो शरीर, चर्को बोली, हेपेर बोल्ने शैली, चाकरी खोज्ने प्रवृत्तिलाई हाकिमको व्यक्तित्व संग जोडेर हेर्ने गर्दा यस्तो बानी बेहोरालाई कर्मचारीको पर्याय मान्न थालियो। यसबाट उत्पन्न हुने शासकीय शैलीलाई ब्यक्तित्व संग जोड्न थालियो। यही बाट सेवाग्राही उपर हेप्ने प्रवृत्ति देखा पर्दै गयो।
मुलुकले पटक पटक राजनीतिक परिवर्तन पायो तर पनि कर्मचारीको ब्यबहारमा परिवर्तन भएन। राजनीतिमा लोकतन्त्र आई सक्दा पनि कर्मचारी तन्त्रमा हाकिमतन्त्र नै कायम रह्यो। यसमा कर्मचारी आफै समय संगै परिवर्तन हुनु पर्नेमा त्यसो हुन सकेन। कर्मचारीहरू जनताले कर तिरेर पालिएका सेवक हुन् र जनता मालिक हुन् भन्ने कुरा कर्मचारीले त बुझेनन् नै यसको अतिरिक्त राजनीतिक वृत्तले पनि न आफू सुध्रिन सक्यो न कर्मचारीलाई सुधार गर्न सक्यो। कर्मचारीतन्त्रमा देखिदै आएको अपारदर्शिताले झनै संक्रमक रूपमा राजनीतिक क्षेत्रलाई प्रभाव पार्न थाल्यो।
Advertisement 2
अहिलेको २१ औं शताब्दी भनेको सेवाग्राहीको सन्तुष्टीको आधारमा सेवा प्रदायकहरूको मूल्यांकन गर्ने जमाना हो तर हामीहरूको प्रभावकारिताको मूल्यांकन सेवाग्राहीबाट गरिने संरचनात्मक ब्यबस्था बारे केही सोचिएकै छैन। हामीले हाम्रा सुपरीवेक्षकलाई खुसी तुल्याए पुग्छ सेवा ग्राही असन्तुष्ट भए पनि उसको वृत्ति विकासमा केही असर पर्दैन। त्यसै भएर होला यो सेवाका नव प्रवेशीमा पनि खासै सकारात्मक परिवर्तन भएको पाईएन।
सेवामा रहदा बस्दा त जे भए पनि पचाईयो भनौ भने पनि यस्तो गमक्क पर्ने बानीले सेवा निवृत्त पछि पनि निरन्तरता पाउदा पो उदेक लाग्छ त!
Advertisement 3
कुरो के पर्यो भने मेरा एकजना पूर्व हाकिम आफ्ना सन्तति भेटन भनेर विदेश आएछन्, संयोगले हामी बस्ने एरिया एउटै परेछ। उनी बसेको नजिकै एक नेपाली परिवारले आयोजना गरेको धार्मिक कार्यमा हाम्रो भेट भयो। करीव २० वर्ष अगाडि हामी एउटै निकायमा कार्यरत थियौ। त्यतिबेला सत्ताको चाखिलो हुन नसकेर पाखा लगाईने मध्येको हुदा उनको अगाडि म अपराधी जस्तो थिए र म उपर उनले गरेको ब्यबहार पनि सौतेलो नै थियो। किन कि उनी सत्ताको चाकडी गर्ने मध्ये कै थिए। त्यतिखेर त हामील् गरेको नमस्कार फर्काउदा समेत उनको जातै गएको जस्तो गर्ने मान्छे यतिखेर भेट्दा त हामी संगै काम गरेको भनेर अरूलाई चिनाउन पनि पछि परेनन् तर नेपाली नै भए पनि विदेशको बानी परेको हुदा उनलाई कसैले वास्ता गरेनन्। तर उनको चुरीफुरी हेर्दा उही बेलाको जस्तै देखिन्थ्यो।
मानिसको मूल्यांकन उसमा भएको असलपन, उसमा देखिने महानता,सरलता, नम्रता, मिलनसारिताले गर्ने हो । भनिन्छ नि उपकारी गुणी ब्यक्ति निहुरिन्छ निरन्तर, फलेको बृक्षको हागो नझुकेको कहां छ र!
राज्यले प्रदान गर्ने सेवा लिएर जनताको घर दैलोमा पुग्ने कर्मचारी र नीति निर्माण तहमा पुगेका नेताहरूमा यस्तै गुणहरू हुनु पर्ने हैन र? तर हेरौ त अधिकांश यिनीहरूमा सेवकीय हैन शासकीय सोच छ। सेवकीय सोच हाम्रो संस्कार हैन र! अवश्य हो हाम्रो शिक्षा प्रणाली, परिवार र समाजमा देखिएको संस्कारहीनताले हाम्रो यूवा पिढीलाई संस्काररीन बनाउदै लग्यो। यसको परिणाम अहिले हामीले भोग्दै छौ। हामीले श्रमलाई उच्च र निम्न भनेर विभेद गर्यौ, हाम्रो समाजले कमाउन नसक्नेलाई हेलां गर्ने गर्यो, हाकिमहरूमा शासकीय सोचलाई योग्यताको रूपमा लियो, घमण्डी र गमक्कपनलाई क्षमता मान्यो, प्रणाली अबलम्बनलाई कमजोरी मान्यो। यसले गर्दा यस्तो प्रवृत्तिले प्रश्रय पाउदै गयो।
अब पनि आफूलाई सर्वज्ञ ठानेर अरूलाई होच्याउने जमाना गै सक्यो। वर्तमान पुस्तालाई त हालको विज्ञान र प्रविधिको विकासले पुरानो पुस्तालाई धेरै पछाडि पारी सकेको स्थितिमा पुरानो पुस्ताका ब्यक्ति चाहे राजनीतिज्ञ हुन् चाहे प्रशासक कोही पनि गमक्क नपरे हुन्छ।