प्रहरीको कडा सुरक्षा लिएर पालिकामा हाजिर
यमुनामाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा ओमप्रकाश यादव आइतबार हाजिर भएका छन् । उनी प्रहरीको कडा सुरक्षा लिएर पालिकामा हाजिर भएका हुन् ।
Advertisement 1
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले मंसिर २२ गते जिल्ला समन्वय समिति रौतहटका शाखा अधिकृत यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकेपछि विवाद बढेको थियो । गाउँपालिकामै कार्यरत कविराज सातौं तहका कर्मचारी राम श्रेष्ठलाई मन्त्रालयले मंसिर १३ गते प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो ।
उनको जिम्मेवारी ८ दिनमै खोसेर मन्त्रालयले यादवलाई अधिकृत तोकेपछि विवाद बढेको हो । आफूलाई हाजिर गराउने छाँटकाँट नदेखेपछि उनले पुस ३ गते उच्च अदालत वीरगन्जमा मुद्दा दिएका थिए । अदालतले उनलाई हाजिर गराउन अन्तरिम आदेश गरेको थियो । त्यसपछि आइतबार कडा सुरक्षाबीच हाजिर भएका हुन् ।
Advertisement 2
उनलाई हाजिर गर्न नदिने भन्दै महिलासहित स्थानीय गाउँपालिका प्रवेशद्वारमा जम्मा भएका थिए । स्थानीय प्रशासनले बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत यादवलाई हाजिर हुन नदिन जनप्रतिनिधि र उनीहरुका समर्थक धर्नामा बसेपछि प्रहरीले सुरक्षा दिएर उनलाई कार्यालयमा प्रवेश गराएको हो ।