भ्रष्टाचार अभियोगमा प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको हंसपुर नगरपालिका १ भगवानपट्टीको पोखरी ठेक्का लगाउँदा भ्रष्टाचार गरेको अभियोगमा वडाध्यक्ष कामेश्वर कापर, प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारी र ठेकेदारहरु मदनकुमार झा र नवीनकुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
Advertisement 1
सार्वजनिक पोखरी ठेक्कामा लगाएवापत दोस्रो वर्षको रकम ५ लाख ५५ हजार रुपैयाँ राजस्वमा दाखिला गर्नुपर्नेमा वडाध्यक्ष कापरले आफैंसँग राखेको पाइएकाले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । अधिकारीले हंसपुर नपाको प्रमुख प्रशासकीय अधिकृत हुँदा कार्यपालिकाको बैठकको निर्णयमा नभएको नगरेको कुरा देखाइ सरकारी कागज सच्याउने कार्य गरी सोही सच्याइएको सरकारी कागजलाई सक्कल हो भनेर प्रमाणित गरेर गलत लिखत तयार गरेको भन्दै उनीविरुद्ध कैद र जरिवानाको माग दाबीसहित मुद्दा दायर भएको अख्यिारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
हंसपुर नगरपालिका वडा नम्बर १ का तत्कालीन अध्यक्ष कापरले वडा १ स्थित कित्ता नं ३३० को सार्वजनिक पोखरी ठेक्काबापत आफूले बुझी लिएको दोस्रो वर्षको किस्ता पाँच लाख ५५ हजार राजस्व रकम राजस्वमा दाखिला गर्नुपर्नेमा दाखिला नगरेर हंसपुरलाई हानीनोक्सानी र हिनामिना गरेको अख्तियारले जनाएको छ । त्यसैकारण कापरलाई पाँच लाख ५५ हजार रुपैयाँ विगो दाबी कायम गरेर कैद सजाय गरी बिगोअनुसार जरिवाना गर्न र हानिनोक्सानी भएको बिगो कापरबाटै असुल उपर गर्न भनिएको छ ।
Advertisement 2
साथै नियमित किस्ता हंसपुर नगरपालिकामा दाखिला नगरेको अवस्थामा समेत निरन्तर किस्ता दिएको भन्दै कापरले वडा नम्बर १ को लेटर प्याडको दुरुपयोग गरी नियमित किस्ता दाखिला गरेर गलत लिखत तयार गरी कसुर गरेको पुष्टि भएको भन्दै त्यसैअनुसारको सजायसमेत माग गरिएको छ ।
ठेकेदार मदनकुमार झा र नवीनकुमार चौधरीले उक्त पोखरी ठेक्कामा लिएवापतको रकम नबुझाई नगरपालिकालाई हानिनोक्सानी पुर्याएको प्रवक्ता घिमिरेले बताए ।
Advertisement 3