रसुवा भन्सारबाट भेप,लागूऔषध तस्करी प्रकरण :- ड्राइभर र कर्मचारीलाई फसाएर हाकिमलाई चोख्याउने चलखेल
लागूऔषध,भेप तस्करी प्रकरणमा रसुवा भन्सारका हाकिमले ड्राइभर र साना तहका कर्मचारीलाई सेक्ने र आफू उम्कने गरी चलखेल गरिरहेका छन् ।
Advertisement 1
सात महिना अगाडि मेची भन्सार कार्यालयबाट सिधैं रसुवा भन्सार कार्यालयमा पुगेका उपसचिव (राप्रपा) रामप्रसाद पाठकले रसुवा भन्सारको तस्करी प्रकरण सतहमा आएसँगै रसुवाबाट काठमाडौं आएर आफू बच्ने र साना माछालाई फसाउने गरी चलखेल तिव्र पारिरहेको भन्सार विभाग स्रोतले जनाएको छ ।
सात महिना अघि भन्सारका हर्ताकर्ता सेवन्तक पोखरेलहरुलाई खुशी पारेर पाठक रसुवा भन्सारको कमाण्ड सम्हाल्न पुगेका थिए ।
Advertisement 2
यस अघि गत साउनमै रसुवा भन्सार कार्यालयबाट नेपाल भित्रिएको एक ट्रक भिवो कम्पनीको मोबाइले भन्सार छली गरेको प्रकरण सतहमा आयो । भिवो म्याक्स कि प्याड मोबाइल भित्रिँदा रसुवा भन्सार कार्यालयले ५ प्रतिशत मूल्य अभिवृद्धि कर लिनुपर्नेमा २ दशमलव ५ प्रतिशत मात्रै लिएपछि राजश्व अनुसन्धान विभागको ध्यानाकर्षण भएको थियो ।
विभागले अनलाइनमार्फत हेर्दा मोबाइलको दरको आइडी ८५६१७१४०० मार्फत लगाउनुपर्नेमा रसुवा भन्सारले ८५१७१४०० आइडी अनुसार अन्तःशुल्क कट्टी गरेको कर छली गरेको प्रकरण बाहिर आयो । तर चलखेल र माथिसम्म मिलाउने कलामा पारंगत पाठकले त्यतिखेर राजश्व अनुसन्धान विभागलाई मनाएर यो प्रकरण गुपचुप पारेका थिए । राजश्वमा उनीसँगैका अधिकृत एउटै कार्यालयमा बसेर काम गरेका साथी हुँदा त्यहाँ मिलाइरहेकै थिए । भन्सार विभागलाई पनि मनाइरहेका थिए तर कार्तिकपछि भन्सार विभागको वक्र दृष्ट्रि रसुवा भन्सारमा पर्यो । र, भन्सार विभागले अनुगमनका लागि भन्दै कर्मचारी खटायो । कार्तिकदेखि यतामात्र भन्सारको अनुगमनको क्रममा तीन वटा कैफियत भेटिसकेको छ ।
Advertisement 3
रसुवा भन्सारबाट व्यापक मात्रामा राजश्व चुहावट भइरहेको गुनासो भन्सार विभाग, राजश्व अनुसन्धान विभाग हुँदै अर्थ मन्त्रालयसम्म ल्याइरहेका थिए व्यापारीहरुले । प्रज्ञापनपत्रमा एउटा सामान लेखेर अर्काेथरी सामान आइरहेको सूचना थियो । यही सूचनालाई पछ्याउँदै भन्सार विभागको टोली रसुवा हानियो । र नभन्दै गत मंसिर १३ गते रसुवा भन्सारबाट जाँचपास भइसकेको गाडी चेकजाँच गर्दा भेप भेट्टाएको छ ।
प्रज्ञापनपत्रमा लत्ताकपडा, जुत्ता उल्लेख गरी त्यहाँबाट भेप बोकेर ल्याइएको र रसुवा भन्सार कार्यालय टिमुरेबाट पास भएर सदरमुकाम धुन्चे पार गरिसकेको अबस्था थियो । पछि भन्सार विभागबाट अनुगमन टोली अनुगमनमा आएको सूचना पछि टिमुरेमै फर्काइएको थियो ।कार्तिक १५ गते समेत ब्रान्डेड सामानलाई कमसल भनेर ल्याएको सूचना भन्सार विभागमा पुग्यो । विभागले भन्सार अधिकृतको नेतृत्वमा अनुगमन टोली पठाएको थियो । अनुगमन टोलीले पुनः ती सामानको जाँच गर्दा गलत घोषणा गरिएको पुष्टि भएको थियो ।
यस्तै चेकजाँचका क्रममा १ सय ५० किलो कच्चापदार्थ बरामद समेत भइसकेको छ । अहिले बरामद भएको कच्चा पर्दाथ ल्याबमा पठाइएको छ । यी त प्रतिनिधि दुई वटा घटनामात्र हुन । रसुवा भन्सारका हाकिम पाठकले माथिसम्मै सेटिङ मिलाएर व्यापारी र विचौलियाहरु पोस्ने र राजश्व तर मार्ने काम गरिरहेको पृष्टि भएको छ ।
रसुवा नाका हुँदै ३० भन्दा बढी व्यापारीहरुले सामान नेपाल भित्र्याउँदै आएका छन् । त्यसमा अर्थमन्त्रीका भाञ्जा अरुण थापादेखि स्वास्थ्यमन्त्री मोहन बस्नेतका नातेदार बुद्धराज बस्नेत र अर्को काँग्रेसका व्यापारिक पार्टनरसमेत रहेका माओवादी निकटका व्यापारी ईश्वर गुभाजु लगायतका एकै सँग आठदेखि १० वटा फर्मबाट सामान भित्रदै आएको छ । तिनै व्यापारिक फर्मका सामानमा प्रज्ञापनपत्रमा गडबड गरी राजश्वमा हिनामिना हुँदै आएको बताइएको छ ।
यसरी बदमासीहरु सार्वजनिक भएसँगै केही अघिमात्र रसुवा भन्सारका कर्मचारीहरुको व्यापक सरुवा गरिएको छ । र यो प्रकरणमा रसुवा भन्सारका हाकिम पाठक आफू बच्ने र एक जना अधिकृत र ड्राइभरलाई फसाउने गरी अहिले चलखेल गरिरहेका छन् । प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका सवारी चालक छे छिरिङ तामाङका भाइ वाङ छिरिङ तामाङ र शाखा अधिकृत रविन्द्र प्याकुरेललगायतका केही कर्मचारीलाई यो प्रकरणमा पोलेर आफू पानी माथिको ओभानो बन्ने गरी अहिले शक्तिकेन्द्र धाइरहेका छन् ।
यो प्रकरण सतहमा आएसँगै अघिल्लो साता पाठक केरुङबाट काठमाडौं आइपुगेका छन् ।