नेपालमा नेतृत्व संकट

पूर्व प्रधानमन्त्री केपी ओली भन्छन् ” नीति बाहिर नतिजा खोज्नु नेतृत्वको कौशलता हो । नेता उत्सुक, त्यागी र सरल हुनुपर्छ। तब मात्र नेतृत्वले नतिजा दिन्छ। उनी नेतृत्वलाई गुण भन्दा बढी शैली र कला मान्छन्। (कान्तिपुर मंसिर १८) पूर्व निर्वाचन आयुक्त तथा सचिव भोजराज पोखरेल ” “नेपालमा व्यवस्था र प्रणालीबाट होइन नेतृत्वबाट खतरा छ” भन्छन् ( मंसिर १७ कान्तिपुर ) यी दुवै व्यक्तित्वहरु नेपालका उदाहरणीय नेतृत्व हुन। यहीबीचमा नेपालको नेतृत्वको विशेषता खोजी गर्नु उपयुक्त हुनसक्छ।

Advertisement 1

नेतृत्व गुण र कला दुवै हो। व्यवस्थापनकाे मेरुदण्ड मानिसको कुनैपनि गुणले नेतृत्व गर्न सक्छ भन्ने सिद्धान्तलाई व्यवस्थापनले नकार्दैन। किनकी नेतृत्व वाद र सिद्धान्तबाट मात्र जन्मिँदैन। व्यवहारबाट पनि जन्मिन्छ भन्ने राजनीति र व्यवस्थापनका सिद्धान्तहरु अहिले पनि त्यत्तिकै यथार्थ छन। भारतमा बहुलवाद र हिन्दुबादले जन्माएको नेतृत्व आज पनि त्यत्तिकै कठोर छ। यो कुनै सिद्धान्तबाट जन्मिएको नेतृत्व होइन। यसै भित्र भारतको राजनीति आजसम्म घुमेको छ। नेपालमा बीपी कोइराला र मदन भण्डारीले सिद्धान्त र बादबाट नेतृत्व जन्माउन खोजेकै हुन् ।तर नेपाली राजनीतिलाई पच्य भएन। गुट उपगुट र बिदेशी विचारमा चल्ने नेत्तृवले सिद्धान्त , नीति र मौलिक संस्कृतिलाई संस्थागत नगर्दा भारतको जस्तै कठोर र व्यावहारिक नेतृत्व नेपालले जन्माउन सकेन। जसको संकट आज देशको राजनीतिले भोग्दैछ।

विगत र अहिलेको संविधान , शासकीय संरचना,र शासन प्रणालीलाई सर्वमान्य धारणा बनाउने नेता हामीले पाएनौ। आन्दोलन को नेतृत्व गर्न सफल तर शासनमा असफल नेताहर थुप्रै भेटिए ।यसको कारण हाम्रो मौलिक विचार र सिद्धान्त शासनमा नदेखिनु हाे।
नेपालमा कुन धारको नेतृत्व कसले गरेको छ भन्ने अध्ययनकर्ता नै अलमलमा पर्छन्। प्रजातान्त्रिक अभ्यासमा परिपक्क नबन्दै नेताहरु स्वार्थमा फस्नु नेतृत्व विकासको ठूलो अवरोध हाे। यो अवरोध हाम्रोमा स्थापित भइसकेको छ। अहिले प्रतिपक्ष नेतृत्व नै शासनका खराबी बाट मुक्त छैन। त्यसैले सर्वमान्य दलका नेतृत्वप्रति जनबिश्वास घटेको छ। जनता त्यागी नेतृत्वको खोजीमा छन्। याे पूर्व प्रधानमन्त्री केपी ओलीले भनेजस्तो नेतृत्व शैलीको खोजी हेइन। नेतृत्वको गुण र चरित्रको खोजी हाे। गुण र चरित्र असल भएपछि नेतृत्व शैलीमा कमै प्रश्न उठ्ने गर्छ । किनकि नेताको शासन गर्ने शैली फरक हुनसक्छ। नेपालको नेतृत्व दलको विभेदबाट कहिल्यै मुक्त भएन । यो नेतृत्व निर्माणको ठूलो चुनौती हो।

Advertisement 2

विचार, सिद्धान्त ,नीति तर्क गर्ने मूल विषय हुनुपर्नेमा भ्रष्टाचार , अनियमितता, कुशासन बजारका मुद्दा भएका छन्। भ्रष्टाचार, अनियमितता र कुशासनले विचार नीति र सिद्धान्तलाई ओझेलमा पारेकाे छ। यसमा मुछिएका नेताहरु असल नेतृत्व हुन सक्दैनन। केवल आफ्नो खराबीलाई लुकाउन नेतृत्वको सहारा लिन्छन्। यो हाम्रोजस्तो मुलुकको विशेषता नै हो। नेतृत्वले आफ्ना अवगुण लुकाउन जब शासन गर्छन त्यो भन्दा खराब शासन पाउन मुस्किल पर्छ। अहिले नयाँ, पुराना र नयाँ चम्किला नेतृत्वहरुको तर्क गर्ने एकमात्र विषय भ्रष्टाचार छ। भ्रष्टाचार कारण होइन परीणाम हो। नेता र नेतृत्वले आफ्नो गुण ,विचार र नीति माथि अतिक्रमण गर्दा भ्रष्टाचार बढेको हो। यस्ता अतिक्रमण गर्ने नेताहरु नै अहिले हाम्रा सर्वमान्य नेतृत्वमा छन्। जो सधैभरी नेता हुन मन पराउँछन्। जस्तोसुकै भाष्य तयार गरेपनि नेताको आफ्नो उमेर, समय र परिस्थिति हुन्छ। तर यो मान्न नेपालको नेतृत्व तयार छैन। त्यसैले नेपालमा नेतृत्व निर्माणमा दोस्रो र तेस्रो पुस्ताको विश्वास टुटेको छ।

शासनमा नेतृत्वको स्रोत राजनीति हो। राजनीतिले नीतिको नेतृत्व गर्छ । राजनीति बाहिरको नेतृत्व कठोर हुन्छ ।जब उदार नेतृत्वले आफ्नो गुण जनअनुकूल बनाउँदैन ।त्यसपछि जनता कठोर नेतृत्वको खोजी गर्छन्। यो संसारको राजनीतिमा भएकै कुरा हो। हाम्रोमा सरकार परिवर्तन पिच्छे नीति परिवर्तन हुन्छन्। एउटै दल नेताहरु सरकार गए सँगै विचार परिवर्तन गर्छन् ।एउटा विचारले जनमत जितेको नेता सरकारमा गएपछि अर्कै विचारको हुन्छ ।सायद यही प्रजातान्त्रिक अभ्यास होला। तर ,सत्ता र सुविधाका लागि बिचार परिवर्तन गर्ने थुप्रै आशालाग्दा नेताहरु कता हराए‌ पत्तै छैन। यो बिडम्बना कतिञ्जेल भोग्नुपर्ने हो थाहा छैन। किनकि कुन नेताकाे नेतृत्व को हो? थाहा पाउँदा रहस्य जस्तै लाग्छ।

Advertisement 3

नेतृत्व विकासको लागि शासकीय स्वरुप कठोर र अनुशासित हुनुपर्छ। राष्ट्रपतीय वा प्रधानमन्त्रीय पद्धति जे भएपनि नेतृत्व सर्वमान्य र कठोर चाहिन्छ। हाम्रोजस्तो अर्थ समानुपातिक निर्वाचन प्रणालीले बलियो नेतृत्व जन्म हुन गाह्रै पर्छ। किनकि सत्ताकै लागि समिकरण र मेलमिलाप गर्न दृढ र विचार निष्ठा नेतृत्वले सक्दैन। यो संवैधानिक बाध्यता हाम्रोमा सधैंभरि रहिरहन्छ । जनताको चेतनामा विस्तार र नेतृत्व त्याग नेतृत्व निर्माणका पूर्वसर्त हुन। हाम्रोमा नेतृत्व त्याग गर्न काेहि चाहँदैन। पुस्तान्तरण नै नेतृत्व विकासको ठूलो बाधा बनेको छ । इतिहासदेखि वर्तमानसम्म याे चेत कसैलाई आएन ।अहिले नेपालको शासन र संरचना नेतृत्वकै कारण संकटमा छ। नेतृत्व शैली बुझेका नेताहरु व्यक्तिगत स्वार्थ, गुट-उपगुट र दलभन्दा माथि उठ्न नसक्नाले विचारलाई नीतिमा परिवर्तन गर्न असफल छन् । तर उनीहरु यो असफलतालाई स्वीकार गर्न तयार छैनन्। यो शासनको खराबी होइन। नेतृत्वको असफलता हाे।

दुर्गा प्रसाई अहिले असल नेतृत्वको खोजी गर्दैछन्। सायद यो विचारको नेतृत्व गर्न उही पुरानै गुण नलाउला भन्न सकिँदैन। नीति र विचारले नेपालमा नेतृत्व जन्मेनन्। प्राय विचलित भए। व्यवहारवादी नेताहरुले शासनमा स्थान पाएनन्। सायद दलहरूको पनि आफ्नै बाध्यता होला। तर यो बाध्यता अबको समयमा लुकाएर लुक्दैन। समयले नेतृत्व जन्माउँछ भन्ने विश्वासमा जनमत सिर्जना हुँदै छ। यथार्थमा प्रजातन्त्र र राजनीतिक विकासको लागि यो राम्रो संकेत होइन।

प्रकाशित :२०८० मंसिर १९, मंगलवार ०५:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry