कम्युनिष्ट कर्मचारी संगठनहरुमा हुर्किदै गएको गलत कल्चर

नेताको पकेटमा मान्छेलाई टिका लगाएर संगठनको नेतृत्व चयन गर्ने हो भने महाअधिवेशनको नौटकी किन गर्नु ? अनि महाअधिवेशन भनिने र सर्वसहमतीको रटान दिएर नेताकै पकेटका मान्छलाई टिका लगाइने हो भने चुनावको गाइजात्रा किन देखाइरहने ?
पछिल्ला पटक कम्युनिष्ट संगठनहरुमा सतहमा देखिएको अर्काे विकृती हो यो । जस्तो हिजैमात्र माओवादी निकट कर्मचारी संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको पाँचौ राष्ट्रिय महाअधिवेशनबाट हरि रावललाई टीके अध्यक्ष बनाउन खोजियो । इञ्चार्ज पम्फा भुषालले रावलको नाम अध्यक्षको रुपमा हलबाटै उद्घोष पनि गरिन,यस्तै महासचिवमा आफ्नै गोजीका डिलाराम खनालको नाम घोषणा गरिन । आधा घण्टा अगाडि सर्वसहमतीको रटान दिएर घोषणा गरिएका यी नाममा देशैभरबाट हजारौं खर्चेर काठमाडौंमा आएका प्रतिनिधिहरुले आपत्ति जनाए,हो हल्ला र नाराबाजी गरे र आधा घण्टा अघिको माहोल विग्रियो र अन्तयमा स्थगित गरिएको छ । यसरी नेताको गोजीबाटै नाम छानिने सिलसिला कम्युनिष्ट पार्टीका संगठनहरुमा रोगको रुपमा विकिसित हुँदै गइरहेको छ ।

Advertisement 1

यस्तै एकीकृत सरकारी कर्मचारी संगठनले फागुन अन्तिम साता टिका लगाएरै नेतृत्व चयन गरेको छ ।उसले गगनसिंह विष्टको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । अध्यक्ष र अन्य पदमा धेरैको उम्मेदवारी परेपछि निर्वाचनमा जाने वा सर्वसम्मत गर्ने भन्ने विषयमा लामो छलफल पश्चात विष्टको नेतृत्वमा नयाँ टिम सर्वसम्मत घोषणा गरेको हो ।
यस्तै बर्ष दिन अघि एमाले निकट गत बर्ष नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा लेखनाथ कोइरालालाई टिका लगाएर अध्यक्ष छानिएको थियो । संगठनको ११ औं अधिवेशनबाट कोइरालासहित सर्वसम्मत रुपमा टिका लगाएर नेतृत्व चयन गरिएको थियो । संगठनको उपाध्यक्षमा भवानी दाहाल, रेवन्त गौतम र प्रभास साह चयन भएका छन् भने महासचिवमा जीवन काफ्ले, उपमहासचिवमा रामचन्द्र अधिकारी, युवाचन्द्र घिमिरे, कृष्णबहादुर केसी र विजया सुवेदी चयन हुँदा सचिवहरुमा देवेन्द्र ढकाल, वामदेव ओली, तेजप्रकाश भण्डारी, सूर्यबहादुर कुँवर, पुरुषोत्तम रायमाझी र विष्णुकुमारी अधिकारीलाई टिका लगाइँदा कोषाध्यक्षमा गणेशप्रसाद आचार्यलाई चयन भए ।

यता काँग्रेसीहरुले भने लोकतान्त्रिक पद्धतिबाट चुनावमै होमिएर मतका आधारमा नेतृत्व खोजेको देखिन्छ । काँग्रेसको नेपाल निजामती कर्मचारी युनियनले अघिल्लो बर्ष निर्वाचन लडेरै गोपाल पोखरेललाई अध्यक्षमा चयन गरेको थियो । पोखरेलले सुरेन्द्रकुमार अधिकारी र सुशील केसीलाई पराजित गरेर पुन अध्यक्षमा दोहोरिए अहिले त्यहाँ उनकै प्यानलका उत्तम कटुवाल,यज्ञ ओलीहरु निर्वाचित भएका छन् । महासचिवमा जनकबहादुर रावल फरक प्यानलबाट निर्वाचित भएका छन् ।

Advertisement 2

कर्मचारी संगठनका निर्वाचन हेर्दा काँग्रेसीहरुले मतबाट र कम्युनिष्टका संगठनमा भने टिका लगाएर प्रतिनिधि छनौंट गरिने परिपाटी विकसित हुँदै गएको देखिन्छ । सर्वसहमतका नाममा पार्टी अध्यक्षहरुले कम्युनिष्टहरुले आफ्ना एस म्यानलाई ल्याएर संगठनको हर्ताकर्ता बनाइरहँदा काँग्रेसीहरु भने लोकतान्त्रिक पद्धतिबाट निर्वाचित हुँदै आएका देखिन्छन् ।

नाममा कम्युनिष्ट भनिने सारमा मतदानको प्रक्रियामा जानै नचहाने रोगले आक्रान्त हुँदै छन् कम्युनिष्टका संगठनहरु । यस्तो रोग कर्मचारी संगठनमात्र होइन,सबैतिर डेरा जमाउँदै छ । नेताको गोजीबाट छानिएका पदाधिकारीले चलाएका संगठन भताभुंग भएको देखिएकै छ ।

प्रकाशित :२०७९ चैत्र १९, आईतवार ०९:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry