विभिन्न देशमा नयाँ पोस्टिङ्ग
परराष्ट्र सेवाका केही कर्मचारीहरुलाई विभिन्न मुलुकमा पोष्टिङ भएका छन् । जसमा सार्कको कन्ट्री डाइरेक्टरदेखि राजदुतहरुको जिम्मेवारी हेरफेर तथा परिवर्तन गरिएको हो । अस्ति आइतबार राती अबेरसम्म मन्त्रालयमा भएको उच्चस्तरीय छलफलबाट त्यसबारे टुंगो लगाइएको मन्त्रालयले जनाएको छ ।
जसअनुसार क्षेत्रीय सहयोग संगठन सार्कको कन्ट्री डाइरेक्टर दधिराम भण्डारीको ठाउँमा मणिरत्न शर्मा त्यहाँ पठाउने तयारी चल्दैछ । शर्मा दोहास्थित दूताबासबाट फर्किएका हुन् । काठमाडौंमा बसेर मासिक ७ हजार अमेरिकी डलर तलब भत्ता थाप्न पाइने भएपछि उक्त पदलाई कर्मचारीहरुबीच निकै ‘चार्मफुल’ मान्दै आएका छन् । यस्तै ओमानबाट फर्केकी रोजिना ताम्राकारलाई क्यानाडा पठाउने तयारी चल्दैछ भने अन्य देशमा कार्यकाल पूरा गरेर आएका राजदूतलाई डिभिजन चिफ बनाइएको छ । जेनेभाबाट फर्केका डिसिएम सुरेश अधिकारी ब्रसेल्स,बैंककबाट फर्केका जङ्गबहादुर गुरुङ्गलाई जेनेभा खटाउन लागिएको छ । साउदीबाट रिटर्न उपसचिव आनन्द शर्मा प्रथम सचिवको हैसियतले पोलिटिकल काउन्सिलरको जिम्मेवारी पाएर नयाँ दिल्ली पठाइँदैछ ।
अहिले परराष्ट्रको प्रशासनमा अस्ट्रियाको राजदूतबाट फर्किएका प्रकाश सुवेदीलाई राखिएको छ । त्यसैगरी बेलायतस्थित राजदूतबाट फर्केका दुबसु क्षेत्रीलाई चिफ अफ प्रोटोकलको जिम्मेवारी दिइएको छ । बेल्जियमबाट फर्केका सहसचिव लोकबहादुर थापालाई मन्त्रालयको नर्थ इष्ट एसिया डेस्कमा राखिएको छ । उक्त डेस्कले चीन,जापान, दक्षिण कोरिया,उत्तर कोरिया र मंगोलिया हेर्छ ।