सरकारी कर्मचारीलाई आजबाट कोरोना खोप लगाईदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुलाई कोरोना खोप लगाउने भएको छ । मन्त्रालयका अनुसार, दोस्रो प्राथमिकतामा परेकालाई खोप लगाउन फागुन ८ गतेसम्म खोप अभियान चलाइने छ। जस अन्तरगत सबै सरकारी तथा निजी कार्यालयका कर्मचारी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई दोस्रो प्राथमिकतामा राखेर खोप लगाउने निर्णय गरेको छ। राजधानीभन्दा बाहिरका संचारकर्मीले पनि आजदेखि नै खोप पाउने बताइएको छ।
Advertisement 1
साथै, पहिलो प्राथमिकतामा छुटेका फ्रन्टलाइनर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरु, एम्बुलेन्स तथा शब बाहन चालहहरुलाई पनि खोप दिइने जानकारी दिइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २ गतेबाट ८ गतेसम्म जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई खोप दिन थालेको हो । मन्त्रालयले पहिलो प्राथमिकतामा परेका तर लगाउन छुटेकाहरुलाई पनि यसै चरणमा खोप उपलब्ध गराइने जनाएको छ । मन्त्रालयले काठमाडौंका १२ अस्पतालमा खोप केन्द्र तोकेको छ । वीर अस्पताल, सिभिल अस्पताल मिनभवन, टेकु अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, प्रसूति गृह थापाथली, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल लाजिम्पाट, शहीद गंगालाल अस्पताल बाँसबारी, नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटी र काठमाडौं मेडिकल कलेज सिनामंगलमा खोप केन्द्र तोकिएको हो । खोप लगाउन जाँदा आफ्नो कार्यालयको परिचय पत्र साथमै लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ ।
Advertisement 2
