पेट्रोलमा ३ र डिजेलमा ५ रुपैयाँ बढ्यो, आज मध्यरातिदेखि नयाँ मूल्य लागू

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार साउन १८ गते बिहान १२ः०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल÷मट्टितेल र हवाई इन्धनको मूल्य समायोजन गरिएको हो।
Advertisement 1
नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल÷मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ। त्यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धन (काठमाडौं) मा प्रतिकिलोलिटर १३१ अमेरिकी डलर बढाइएको निगमले जनाएको छ। पोखरा र भैरहवाका लागि अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य भने ब्रेकइभेन पोइन्ट मा कायम गरिएको छ।
मूल्यवृद्धिपछि निगमको डिपोबाट १५ किलोमिटरसम्मका क्षेत्रमा पेट्रोलको खुद्रा मूल्य पहिलो वर्गमा १९७.५० रुपैयाँ, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ प्रतिलिटर कायम भएको छ। डिजेल÷मट्टितेलको मूल्य पनि क्रमशः १९७.५०, १९९ र २०० रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको छ।
Advertisement 2
एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ।
निगमका अनुसार भारतीय आयल कर्पोरेसन (IOC) बाट साउन १५ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २०.१९ रुपैयाँ, डिजेलमा ३९.६७ रुपैयाँ र हवाई इन्धनमा १९.०६ रुपैयाँ मूल्य बढेर आएको थियो। तर उपभोक्ताको हितलाई ध्यानमा राख्दै खरिद मूल्यअनुसार पूर्ण रूपमा मूल्य नबढाई आंशिक समायोजन मात्र गरिएको निगमले जनाएको छ।
Advertisement 3
निगमले हालको मूल्य समायोजनपछि पनि प्रत्येक पन्ध्र दिनमा करिब १ अर्ब ४९ करोड रुपैयाँ घाटा हुने दाबी गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको उल्लेख गर्दै निगमले उपभोक्ता तथा सरोकारवालासँग इन्धनको मितव्ययी प्रयोग गर्न आग्रह गरेको छ।









