खाद्यका कर्मचारीको सरुवा,के मा बिग्रियो कुरा ?

तलदेखि माथिसम्मै सेटिङ मिलाउने पारङ्गत भएपछि त्यस्ता कर्मचारीलाई कस्ले छुन र चलाउन सक्दो रहेछ र ? सामान्यता घर जान दुई तीन महिना अवधि बाँकी रहेका कर्मचारी चलाइदैनन् तर तत्कालीन प्रधानमन्त्री (कृषि मन्त्री समेत) रहेका शेरबहादुर देउवाले दुई महिना पछि अनिवार्य अवकाश पाउन लागेका सहसचिव उपेन्द्र रायलाई मन्त्रालयमा तानेर त्यहाँ मतिना वैद्यलाई खटाए । मतिना तिनै कर्मचारी हुन भारतको सिम्भावली सुगर लिमिटेडले निर्यात गरेको ७२ हजार किलो चिनी आयात गर्न अयोग्य देखिएको थियो । सोही अखाद्य अर्थात खानै नमिल्ने चिनीलाई खान योग्य भन्दै प्रमाणीत गरिदिन विवाद्स्पद् छविको कर्मचारीलाई खाद्य प्रविधि तथा गुण नियन्त्रणको साँचो सुम्पिएको हो । यसरी आयातित चिनीको गुणस्तर परीक्षण सम्बन्धमा प्रश्न उठेपछि कृषिका सहसचिव नारायणप्रसाद रेग्मी संयोजक, पशु सेवा विभागका महानिर्देशक डा वंशी शर्मा र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत प्रमोद कोईराला सदस्य रहेको समितिले चिनीको गुणस्तर परीक्षणमा लापरबाही गरेको भन्दै महानिर्देशक जोशीसहित उपमहानिर्देशक राकेश त्रिपाठी र वरिष्ठ खाद्य अनुसन्धान अधिकृत कृष्ण राईलाई कारबाही गर्न प्रतिवेदन पेश गरेको थियो ।

Advertisement 1

सो प्रतिवेदनले दोषी करार गरेको उनै वैद्यलाई कारवाहीस्वरुप घनश्याम भुषाल कृषि मन्त्री हुँदा डाँडा कटाएर कर्णाली प्रदेशमा सरुवा गरेर पठाइयो तर शक्तिकेन्द्रसँग नजिक भएकी वैद्य कर्णाली गइनन्,बरु १८ महिना बाग्मती प्रदेशको कृषि सचिव हुँदा अनेकन बदमासीमा मुछिइन । अहिले कृषि मन्त्री वेदुराम भुसाल हुँदा उनी पुन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको महानिर्देशकको कुर्सीमा छिन् ।

अहिले उनै वैद्य र मन्त्रालयको टसल उत्कर्षमा पुगेको बताइन्छ । दुई साता अगाडि वैद्य दिल्ली भ्रमणमा निस्कनु ठूलो संख्यामा अधिकृत र सुव्वा तहका कर्मचारीको सूचीमा हस्ताक्षर गरेर गएकी थिइन । आफू निकटस्थ प्राविधिक साहायकलाई क्वारेन्टाइनमा र अरुलाई क्षेत्रीय कार्यालयमा सरुवा गर्ने गरि अगाडि बढेको सरुवा फाइल मन्त्रालयमा रोकिएको छ । मन्त्रालय र विभागको सरुवाको सूची जुद्धा १४ असोजमै हुनुपर्ने सरुवा रोकिएको मन्त्रालय स्रोतले जनाएको छ ।टिप्पणी उठेर, पत्र तयार भएर पनि कर्मचारी पठाउन कृषि मन्त्रालयको कर्मचारी प्रशासनले सकेको छैन ।

Advertisement 2

निजामती सेवा ऐन अनुसार असोज १४ भित्रै ती कर्मचारीको सरुवा भइसक्नुपर्ने हो तर मन्त्रालय र डिजीको इन्ट्रेस्ट बाझिँदा सरुवा रोकिएको बताइन्छ । दशैँ बिदा हुनेबेलासम्म सरुवाको पत्र कर्मचारीको हात परेको छैन । समाजवादीकै भागमा स्वास्थ्य मन्त्रालय पर्दा मन्त्रीलाई सहयोग गर्न गएका मदन भुजेल नै अहिले कृषि मन्त्रालयमा पनि कर्मचारी प्रशासनमा छन् । अहिले राष्ट्रिय योजना आयोगको टोलीसँग दिल्ली दौडाहामा छन् ।

अर्काेतिर मन्त्रालयले मतिनाको दाहिने हात मानिएका किशोर केसी,सुमन धितालहरुलाई चलाउन खोजेको छ । किशोर विगत १० बर्षदेखि खाद्य प्रविधि तथा गुण नियन्त्रण माहाशाखामा रजगज गर्दै आएका छन् । ०७९ माघमा विभागकै केन्द्रीय कार्यालय बबरमहलबाट डेढ लाख घुससहित खाद्य प्रविधिक तथा गुण नियन्त्रण कार्यालयका इञ्जिनियर योगेन्द्र ढुंगेल पक्राउ परे । अनुज्ञापत्र शाखाका हर्ताकर्ता उनै केसी । यो प्रकरणपछि केसीको जिम्मेवारी अर्काे विभागमा सारिएको छ । विभागमा चार सहसिचवको दरबन्दी छ । भन्सार मानिने क्वालिटी कन्ट्रोल मतिना आफैंले हेरिरहेकी छिन्,विगतदेखि नै ।विभागको सबैभन्दा शक्तिशाली महाशाखा हो, क्वालिटी कन्ट्रोल जो मनिताले आफैले हेर्दै आएकी छिन् । भारतबाट बिषादी मिसिएका तरकारी आयात बढ्दो छ । त्यस प्रकारको विषादी मिसिएको तरकारी आयात भएको छ कि छैन भनेर हेर्नका लागि महेन्द्रनगर,धनगढी,जलेश्वर,विराटनग,काँकडाभित्ता,त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल,तातोपानी लगायतका १२ ठाउँमा परीक्षण हुन्छ तर कुनै पनि ठाउँबाट अहिलेसम्म कैफियत देखिएको छैन । दैनिक भारतबाट लाखौं ट्रक तरकारी आयात हुँदा कुनै पनि तरकारीमा विषादी नदेखिनुको कारण के हो ? यस्को नेक्सस खोज्नुस विभागकै एक उपसचिवले भने ।

Advertisement 3

शैलेश झालाई प्रयोगशाला र सोमकान्त रिजाललाई खाद्य प्रविधि महाशाखाको जिम्मेवारी दिइएको छ । केसीजस्ता मतिनाका ‘दाहिने हात’ मानिएका उपसचिवलाई आठ बर्षदेखि विभाग छाडेर अन्यन्त्र जानु परेको छैन ।

उता धनगढीमा नवराज दाहाल पाँच बर्षदेखि प्रमुखको रुपमा कार्यरत छन् । यस्तै वीरगञ्ज क्वारेन्टाइको प्रमुख हस्त राई ६ बर्षदेखि सरुवा भएका छैनन् । विमल दाहाल चार बर्षदेखि भैरहवामा छन् । खाद्य अफिस हेटौँडाबाट क्षितिज श्रेष्ठलाई २ बर्षमै धनगढी खटाउन खोजिएको छ । उनी हेटौँडा छाडेर धनगढी नजाने भन्दै समाजवादीका नेताका घरमा हेटौँडाका दूध व्यवसायी र पानी उद्योगीलाई पठाइरहेका छन् । पोखरा,सुर्खेतको कार्यालय प्रमुखविहिन छन् । विराटनगरका हाकिम अवकाश पाएसँगै त्यहाँ पनि उपसचिव दरबन्दी रिक्त छ ।

मतिनाको टिममा छन्, किशोर केसी,बिमल दाहाल, हस्त राई र सुमन धिताल । झट्ट हेर्दा वैद्यलाई सघाउनेहरु वामपन्थीहरु नै हुन् । वामपन्थी मन्त्रीकै भागमा रहँदा मन्त्रालयमा उनीहरुकै हालिमुहाली चल्ने नै भयो । सुमन लामो समयदेखि विभागमा बस्छन् । हस्त यस्ता भाग्यमानी कर्मचारी हुन् कि थर्ड क्लास हुँदा पनि वीरगंजजस्तो ठाउँमा बसे । २ वर्ष विभागमा बसेर सेकेन्ड क्लास भएपछि फेरि ४ वर्ष वीरगंज बस्न पाए । उनैलाई अहिले जनकपुर पठाउने तयारी छ । क्वारेन्टाइनमा लामो समय बिताएका हस्तलाई अब उद्योगमा जाने तयारी गरिरहेका छन् ।

उनीहरु नै महानिर्देशक वैद्यका टिमभित्रका हुन । त्यही कारण मतिनाको यो टिमबाट बाहिर कोही विभागमा ल्याइदैन । अहिले मन्त्रालयले मतिनाको टिम भत्काउन खोजेसँगै महानिर्देशक र मन्त्रालयको टसल निस्किएको कृषि मन्त्रालय स्रोतले बताएको छ ।

प्रकाशित :२०८० कार्तिक १, बुधबार १०:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry