क्रसिंग गार्डसंग एक क्षण

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सडकमा गुड्ने सवारी साधनबाट हुने दुर्घटनाबाट बचाउन विद्यालय प्रशासन वा सम्बन्धित संस्थाबाट नियुक्त गरिने ब्यक्तिलाई क्रसिंग गार्ड भनिन्छ। विद्यालय प्रवेशको समय र विद्यालयबाट छुट्टी हुने समयलाई लक्षित गरी क्रसिंग गार्डले आफ्नो ड्यूटी गर्छ।
Advertisement 1
यस किसिमको ब्यबस्था हरेक देशमा गरिएको हुन्छ तर यूरोप, अमेरिका जस्ता विकसित मुलुकमा यो ब्यबस्थालाई अति नै महत्वका साथ हेरिएको हुन्छ। किनभने बालबालिकाको हेरचाह र स्याहार सम्भार सम्बन्धी कार्यलाई संवेदनशील मानिन्छ यतातिर। हुन त हाम्रो देशमा पनि यो ब्यबस्था ट्राफिक प्रहरीले मिलाएको हुन्छ र राजधानीका कतिपय चोकहरूमा यो काम स्वयं सेवकहरूबाट पनि गरिएको पाईन्छ। केही वर्ष अगाडि भक्तपुरको बालकोटमा र काठमांडौको कोटेश्वरमा एक/एक जना जापानी स्वयं सेवकले क्रसिंग गार्डको सेवा गरेको कुरा त्यति बेलाको समाचार बनेको थियो।
मेरो यो कुराकानी अमेरिकामा स्वयं सेवा गर्ने क्रसिंग गार्ड संग आधारित छ। मैले मेरो नातीलाई स्कुलमा पुर्याउने र ल्याउने गर्छु। मेरो नातीको स्कुल वाकिंग डिस्टान्समा भएकोले पैदलै पुर्याउने गरेको छु। अरू अभिभावक र विद्यार्थी संगै मैले हातमा डोर्याएर लग्ने नाती जव स्कूल नजिक पुग्छ, यी क्रसिंग गार्डले स्टोप लेखेको कागजको बोर्ड दायां हातमा ठड्याउदै वायां हात तेर्स्याउदै सिठी फुक्छन् अनि गाडीहरू रोकिन्छन् र त्यसै बेला पैदल आएका बिद्यार्थी र अभिभावकले जेब्रा क्रसिंगबाट बाटो काट्छन्। मानौ बाढी आएको बेला जांगरमा बसेको मांझीले पैदल यात्रुलाई खोला तार्दैछ जस्तै गरी विद्यार्थीलाई सडक पार गर्न सहयोग गर्दैछ। मलाई निजको विषयमा जानकारी लिने कौतुहलता जागे पछि करीव आधा घण्टा प्रतीक्षा गरेर ऊनी संग गफ गर्न थाले।
Advertisement 2
उनको नाम क्रिस्टोफर जेन(गोप्यताको लागि सही नाम राखिएको छैन) रहेछ,२५ वर्ष अगाडि आप्रवासीको रूपमा आएका उनी ५० वर्षको उमेरमा अमेरिका छिरेका रहेछन्। उनले अहिले पनि अमेजनमा काम गर्दा रहेछन् र बिहान १ घण्टा र बेलुका १ घण्टा क्रसिंग गार्डमा स्वयं सेवा गर्दा रहेछन्। उनका २ छोरा २ छोरी रहेछन् तर अर्कै स्टेटमा। उनले ३ पटक बिबाह गरे पनि हाल एक्लै रहेछन् तर पनि उनले गरेको संघर्षले मलाई थप कौतूहल बनायो। यो उमेरमा काम गरीरहेका छन्। छोराछोरी संग बस्दैनन्, श्रीमती पनि छैनन्। हाम्रो समाज भन्दा बिल्कूल फरक तरीकाले बाच्ने पद्दति छ यहां। उमेर पुगे पछि छोराछोरी पृथक बस्छन्। छोराछोरीले बृद्ध आमाबाबु पाल्नु पर्ने कर छैन। पति पत्नीको सम्बन्ध पनि कुन समय सम्म कायम हुने हो ठेगान छैन। काम गर्न उमेरले छेक्दैन।जेन ७५ वर्षको उमेर सम्म पनि काम गरेर थाकेका छैनन्। अझै परलोकलाई समेत सुधार्न स्वयं सेवा गर्न तम्सिएका छन्- क्रसिंग गार्डको काममा। तर पनि उनमा चिन्ता छैन, उनी यसमै अभ्यस्त भएर रमाएका छन्, उनीमा कुनै खिन्नता छैन। उनी ढुक्क छन् किन भने उनी बिमारी भएमा उनलाई हस्पिटल सम्म पुर्याउने, उपचार गर्ने सबै काम सरकारबाट हुन्छ। यहा काम गर्ने हरेक ब्यक्तिले तलब बुझ्दा सरकारलाई कर तिरी सकेका हुन्छन् र त्यो कर तिरे वापत शिक्षा र स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्न सक्छन्। यो मात्रै किन र आफ्नो अन्तिम संस्कारमा लाग्ने शुल्क समेत हरेक ब्यक्तिले आफू जीवीतै हुदा तिरी सकेको हुन्छ। त्यसैले हाम्रोमा जस्तो सन्तान उपर भर पर्नु पर्ने अवस्था यहां रहदैन। यहा के प्राईवेट के सरकारी सबै कामहरू सामाजिक सुरक्षा भित्र समेटिएका हुन्छन्। कम्तिमा १० वर्ष काम गरे पछि सामाजिक सुरक्षा भत्ता पाईन्छ। यसरी पाईने भत्तालाई नेपालमा जस्तो राजनीतिक मोलमोलाईको विषय बनाईदैन।
हाम्रो परिवेश हेर्ने हो भने यो उमेरमा परिवार विनाको एक्लो जिन्दगी निरस मानिन्छ तर उनमा त्यो छनक एक रत्ति पनि देखिदैन। यता तिर यो दैनिकी संग प्रायः ब्यक्ति अभ्यस्त हुन्छन् र यसलाई नौलो मानिदैन।अन्य ब्यक्ति सरह उनी पनि हरेक शुक्रवार रमाउने बानीलाई निरन्तरता दिएका छन्। म्याक डोनल्ड , पान्डा एक्सप्रेस र सब वे जस्ता फास्ट फुड स्पटलाई भान्छा घर बनाएका छन्। यता तिर किनमेलका बजारहरू छनौटका आधारमा भेटिन्छन्। उनी प्रायः महंगा डिपार्टमेंट स्टोरमा सपिंग गर्दैनन्।
Advertisement 3
यता तिर काम गर्ने हरेक ब्यक्ति संग एउटा गाडी अनिवार्य रूपमा हुन्छ। हाम्रो देशमा जस्तो गाडीलाई विलासिता संग जोडिदैन। यतातिर गाडी नहुने र गाडी चलाउन नसक्नेलाई काम पाउन मुस्किल हुन्छ। त्यसैले यता तिर सवारी चालक अनुमति पत्र लिन हाम्रो देशको जस्तो उमेरको हद लाग्दैन।गफै गफमा उनले यस कामको विषयमा गुनासो पनि गर्न छाडेनन् र भन्दै गए कि सेवाग्राहीहरू प्रतीक्षा गर्न चाहदैनन्, गाडीहरू पनि हतार गर्छन् , पानी पर्दा भिज्नु पर्ने अवस्था छ, शौचालयको ब्यबस्था छैन आदि आदि । जे भए पनि उनी कामबाट सन्तुष्ठ देखिन्छन्। विहानै गाडीमा आउछन् र गाडीमा राखिएको क्रसिंग गार्डको जाकेट र टोपी लगाउछन्, आफ्नो परिचय पत्र र सिठ्ठी घाटीमा भिर्दै दाहिने हातमा स्टोप लेखिएको बोर्ड लिदै हरेक दिन जेब्रा क्रसलाई आफ्नो अफिस बनाउछन्। हरेक अभिभावकलाई गुड मर्निंग र ह्याभ अ गुड डे भन्दै फेरेका सेता दात देखाउदै कृत्रिम मुस्कान पस्किन्छन्।