रक्षामन्त्री र गृहमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरुसंग छलफल
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्नुभएको छ ।आज रक्षा मन्त्रालयमा भएको छलफलमा मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, रक्षा सचिव , सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका प्रमुख, नेपाल प्रहरीका कार्यबाहक प्रमुख सहभागी हुनुभएको थियो ।
Advertisement 1
छलफलमा कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले सुरक्षा निकाय प्रमुखसँग देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिनु भएको छ ।खड्काले शान्ति सुरक्षाको अवस्था दुरुस्त राख्न तथा समाजिक सद्भाव खल्बलिन नदिने गरी सुरक्षा प्रवन्ध मिलाउन निर्देशन दिनु भएको छ । साथै बजारमा दैनिक उपभोग्य समान सहज उपलब्ध हुने ब्यवस्था मिलाउन, कालाबजारी र कृत्रिम अभाव तथा मूल्य वृद्धि हुनै नदिन थप प्रभावकारी व्यवस्थापन गरी नियमित अनुगमन गर्न निर्देशन दिनुभएको छ ।
नेपालीहरुका महत्वपूर्ण चाडपर्व नजिकिदै गरेका कारण आपूर्ति व्यवस्थाको नियमितता र अनुगमनलाइ समेत थप प्रभावकारी बनाउँदै कहिकतै आम नागरिक ठगिएको, कृत्रिम अभाव सृजना गरिएको पाइए तुरुन्त कारबाही गर्न निर्देशन दिनुभएको छ ।सो अवसरमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न बहानामा द्वन्द्व बढाउने तथा समाजिक सद्भाव बिगार्ने प्रयास भइरहेकोले त्यसतर्फ सजक र सतर्क हुन सबै सुरक्षा निकायलाई निर्देशन दिनु भएको छ ।
Advertisement 2
कार्यवाहक प्रधानमन्त्री खड्का र उपप्रधानमन्त्री श्रेष्ठले सुरक्षा निकायका प्रमुखसँगको छलफलका क्रममा राजनीतिक र अपराधिक घटनाहरु समयमै पहिचान गर्न तथा राजनीतिक गतिविधिको आवरणमा अपराधिक गतिविधि हुन सक्ने कुरामा ध्यान दिन निर्देशन दिनुभएको छ ।छलफलमा मुख्य सचिव, गृह सचिव र रक्षा सचिवले समसामयिक विषयमा जानकारी गराउनु भएको थियो ।यस्तै आजै सम्मानीय राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज भेट गर्नु भएको छ । राष्ट्रपति कार्यालय शितलनिवासमा पुगेर कार्यवाहक प्रधानमन्त्री खड्काले देशको समसामयिक बिषयमा राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराउनुभएको हो ।