आयोगका पदाधिकारीहरुबाट राष्ट्रपतिसँग भेटघाट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसंग राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहितका पदाधिकारीहरुले भेटवार्ता गरेका छन् ।राष्ट्रपतिको कार्यालय, शीतल निवासमा पुगेर आयोग अध्यक्ष मगरसहितको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
Advertisement 1
राष्ट्रपतिसँगको छलफलमा मानव अधिकार आयोगको स्तर निर्धारणको विषयमा छलफल भएको बताइएको छ ।आयोगका अध्यक्षले राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार संरक्षण र सम्बद्र्धनका लागि सम्पादन गरेका कार्यको बारेमा जानकारी गराउँदै राष्ट्रिय मानव अधिकार आयोगलाई ‘ए’ श्रेणीमै कायम राख्नको लागि पेरिस सिद्धान्त बमोजिम राष्ट्रिय मानव अधिकार आयोग ऐन निर्माण गर्न राष्ट्रपतिबाट आवश्यक पहल हुनुपर्ने बताए ।
राष्ट्रपति रामचन्द्र पौडेलले आयोगको स्तर ‘ए’ श्रेणीमै कायम राख्नको लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने वचन दिएका छन् । भेटघाटमा आयोगका सदस्यहरु डा. सूर्य ढुङ्गेल, मिहिर ठाकुर, मनोज दुवाडी, आयोगका का.मु. सचिव मुरारिप्र्रसाद खरेल, सहसचिव डा. टीकाराम पोखरेल र मानव अधिकार अधिकृत दुर्गा पोखरेलको समेत उपस्थिति रहेको थियो ।