तीज :- संस्कृति संरक्षण वा बिकृती आमन्त्रण ?

परिचय
नेपाल एक बहुभाषिक,बहुसांस्कृतिक,बहुधार्मिक, बिबिधतायुक्त भूगोल भएको दक्षिण एशियाको सुन्दर प्राकृतिक छटायुक्त मुलुक हो । नेपालको बिभिन्न क्षेत्रमा बसोबास गर्ने नागरिकहरुले आ–आफनो संस्कृति बमोजिमका चाडपर्बहरु मनाउदै आएको ज्वलन्त ईतिहास छ । केही पर्बहरु जाती बिशेषका, केही पर्बहरु समुदाय बिशेषका , केही पर्बहरु लिंग बिशेषका र केही पर्बहरु धर्म बिशेषका लागी प्रचलित छन । लिंग बिशेषका लागी मनाईने बिरलै चाडहरुमध्ये तीज पर्ब हिन्दु धर्मका अनुयायी महिलाहरुको बहुप्रचलित चाड हो तर यो आधा आकाशमा ढाकिएको सबै महिला दिदीबहिनीहरुको साझा पर्बका रुपमा आत्मीयता साटासाट गर्नमा सहयोग पुरयाउदै स्थापित भएको पाईन्छ । नेपाल सरकारले पनि महिला दिदीबहिनीहरुका लागी सार्बजनिक बिदा घोषणा गरि नारीहरुलाई उल्लासमय बाताबरणमा तीज मनाउन उत्प्रेरित गरेको छ ।
Advertisement 1
बर्षायामको आगमनसंगै श्रावण महिनामा पर्ने औसी जसलाई बुबाको मुख हेर्ने दिनका रुपमा लिईन्छ,यसको ठीक ३ दिनपछिबाट तीजको शुरुवात भएको मानिन्छ । बिबाहित महिलाले आफना पतिको दीर्घायुको कामना र अबिबाहित नारीले सुयोग्य बर पाउनका लागी गरिने तीजका कर्म नै यसका मुख्य एवं आकर्षक बिषयबस्तुहरु हुन । तीजका प्रकारका बिषयमा बिभिन्न खाले धारणाहरु पाइएपनि मुख्यतः तीनप्रकारका तीज रहन्छन, जसलाई क्रमशः हरियाली तीज (छोटी तीज,सिन्धरा तीज र साउने तीज),काजरी तीज ( बडी तीज, अधेरो तीज र साउने तीज) र हरितालिका तीज वा निर्जला तीजका रुपमा बर्गीकरण गरिएको पाइन्छ । पहिलो हरियाली तीज बिशेष गरि श्रावण औसीदेखि शुरु भई १५ दिनसम्म रहने बिश्वास गरिन्छ जसमा हिन्दु नारीहरुले हरियो बस्त्र ,चुरा आदि लगाएर मनसुन सिजनको स्वागतार्थ समेत मनाउने प्रचलन छ । यो तीजमा शिवले पार्बतीलाई बिबाहका लागी प्रस्ताब गरेको ऐतिहासिक क्षणको तथ्यलाई सम्झिएर मान्ने गरिएको धार्मिक कहावतहरु भेटिन्छन । दोश्रो काजरी तीज जसलाई बडी तीज,अधेरो तीज पनि भनिन्छ यसलाई मनाइने समय छोटी तीज समाप्त भएको दिनदेखि १५ दिनसम्मको अबधिलाई लिईन्छ ।
तेश्रो तीजको रुपमा हरितालिका तीजलाई लिईन्छ हरात र आलिका भन्ने दुई भिन्न शब्दको संयोजनबाट हरितालिका बनेको हो । यसमा आफना बुबा हिमालयले छोरी पार्बतीलाई उनको ईच्छाबिपरीत बिष्णु भगवानसंग बिबाह गराइदिन खोज्दा उनका संगीसाथीहरुले अपहरण गरि आफुसंग राखेको र सो अबधिमा भगवान शिबलाई पति पांउ भनि पार्बतीले निर्जला ब्रत सहित तपस्या तथा ध्यान गरेको कारण रोजेकै पति पाएको पौराणिक तथ्यलाई आत्मसात तथा स्मरण गरिएको मानिन्छ । सोही अबधिमा पबित्र तीर्थस्थलमा पुजाआजाका लागी जाने ,संगीसाथीहरु भेला भएर नाचगान गर्ने, दुःख पीडालाई बिर्सनका लागी घटनाहरुलाई संगालेर गीत बनाउने,मीठामीठा परिकार बनाई मध्यरातमा दर खाने र दरको भोलीपल्ट निर्जला ब्रत लिने प्रचलन हिन्दुनारीहरुमा ब्याप्त छ ।
Advertisement 2
बिगतको तीज :
बिगतका तिजमा कर्मघरमा अहोरात्र काममा खटिएर रहेका आफना दिदीबहिनीहरुलाई उनको जन्मघरका दाईभाई बुबा आदिले संगै ल्याएर आउनका लागी चेलीको घर आंगनमा आफु स्वयं उपस्थित भई दर खान बोलाई जन्मघरमा ल्याएर आउने प्रचलन थियो । आफनो जन्मघरका सदस्यसंगै तीज मनाउन माइतीघरमा आएका चेलीले आफना दौतरी साथीसंग भेटघाट गरि नाट्य सामाग्रीे सहित बर्षदिनसम्म आफुले कर्म घरमा भोगेका तितामीठा अनुभव संगालिएका , सासु–ससुरा, जेठाजु–देवर,जेठानी– देउरानी, नन्द–अमाजुले आफुलाई गरेका ब्यबहार, दुब्र्यबहार मिश्रित सबै घटनाक्रमहरुलाई मिलाएर मौलिक श्रृजनाका गीत भाकामा गीत गाउने गर्दथे । मइतालुका रुचीका खानेकुरा , लत्ताकपडा आदि माइतीहरुद्धारा प्रदान गरिन्थे । धारा –पधेरा, चोटा–आंगन , चौतारा, बांझा खेतबारीका गराहरुमा दिदीबहिनीहरुका नाचका कार्यक्रम हुन्थे । गच्छे अनुसारका गरगहना,लुगाफाटाहरुको प्रयोग गरिन्थ्यो । मौलिक कला, संस्कृति संरक्षण, आ–आफनै वेशभुषा र पहिरन ( गुन्यु,चोली,सारी,आदि),स्थानीय उत्पादनको खाद्य तथा खाद्यान्नको प्रयोग (दुध,दही,केरा,घ्यु,मह,ढकनी,चाम्री,कुरौनी आदि),गरगहना ( फुली,बुलाकी,ढुंग्री,मडहरी,तिलहरी,आदि) लाई महत्व दिईन्थ्यो । उपरोक्तानुसारको गतिबिधीले नेपाली मौलिक कला संस्कृतिको संरक्षण,राष्ट्रियताको संरक्षण ,राष्ट्रिय एकतामा थप टेवा,सदभाव र सम्मानको प्रबद्र्धन हुने कुरा निश्चिन्त रहन्थ्यो ।
Advertisement 3
हिजोआजको तीज :
सुचना,संचार र प्रबिधीको अत्याधिक प्रयोग, भूमन्डलीकरण,देखासिकीको प्रभाव ,पश्चिमा संस्कृतिको नक्कल,मौलिकतामाथि अबिश्वासले हिजोआजको तीजमा माथि उल्लेख गरिएका ऐतिहासिक र पौराणिक पक्षको अध्ययन प्रचलन हराएको अवस्था बिद्यमान छ । आजका तीजहरुमा कर्मघरमा रहेकी आफनी चेलीलाई संचारका बिभिन्न माध्यमबाट निम्तो दिने कुरा सकारात्मकै रहेपनि आत्मीयता प्रदर्शन खासै उल्लेख्य देखिदैन । अरुलाई देखाउनकै लागी भएपनि महंगा गरगहनाहरु मांगेर वा भाडामा प्रयोग गर्ने,मौलिक कला संस्कृतिमा नरमाउने,मिष्ठान्न भोजनका सट्टा बियर वाइन आदि पेय पदार्थको प्रयोगमा चेलीबेटीहरु नै तल्लीन रहने , रेष्टुरेन्ट/बैन्क्वेटहरुमा कार्यक्रम आयोजना गरि फजुल खर्च गर्ने,स्थानीय उत्पादनलाई निरुत्साहित गर्ने , ठुल्ठुलो स्वरहरुमा डिजे र साउन्ड सिष्टम प्रयोग गरि ध्वनी प्रदुषण गर्ने,शरीरै नढाक्ने पहिरनसहितका नृत्यले उच्छृंखलता बढाउने, सामाजिक बिकृति र बिसंगती निम्त्याउने खालका नृत्यहरुबाट भाइरल बन्ने क्रियाकलापले समाजमा अपराध र आपराधिक मनोबृत्ति बढाउने गतिबिधीहरुमा सहयोगी बनि बिभिन्न संघ,संस्था र संगठनबाट तीज कार्यक्रमको आयोजना हुनुबाट बिकृत संस्कृति, बिकृत परम्परा,बिकृत अभ्यासको संस्थागत स्वरुप देखिन थालेका छन । भडकिलो तीज कार्यक्रमहरुले अनुत्पादक क्षेत्रमा अनाबश्यक लगानी तथा खर्च हुन गएको देखिन्छ । यसले गर्दा नयां पुस्ताका युवायुवतीसमेतले तीजको ऐतिहासिक र पौराणिक महिमालाई बुझ्न नपाई कला संस्कृतिको जगेर्नामा योगदान गर्न नसक्ने अबस्था बन्नेछ ।
निष्कर्ष
तीज पर्ब मनाउन गरिने बिगतका सकारात्मक क्रियाकलापलाई आत्मसाथ गरि प्रबिधीमा जोडने, संस्थागत गर्ने,नैतिक मूल्य मान्यता अनुशरण गर्ने परिपाटीको बिकाससहित निरन्तरता दिने र नकारात्मक पक्षलाई क्रमशः सुधार तथा संशोधन गर्नुपर्दछ । बर्तमानका नकारात्मक क्रियाकलापलाई घटाउनेभन्दा पनि हटाउनेतर्फ समयमै ध्यान पुरयाउन सकिएमा नैतिकवान, सभ्य,सुसंस्कृत,शान्त,मितब्ययी,आदर्श परिबार/समाज/राष्ट्र निर्माण गर्न सकिनेछ ।
यसले नै हाम्रो बहुभाषिकता,बहुसांस्कृतिकता,बहुधार्मिकता, बिबिधतायुक्त भूगोल भएको दक्षिण एशियाको सुन्दर प्राकृतिक छटायुक्त मुलुकको पहिचानलाई अक्षुण्ण राख्न मद्धत पुग्नेछ ।