मेरो भाषणलाई तोडमोड गरी एडिट गरेर सामाजिक सञ्जालमा पोष्ट गरेका छन्ः वनमन्त्री

नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घले काठमाडौँमा आयोजना गरेको १०औँ महाधिवेशन तथा २१औँ वार्षिक साधारणसभामा बोल्दै वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले प्रविधिको दुरुपयोग गरी आफूलाई बदनाम गराएको आरोप लगाएका छन् ।

Advertisement 1

उनले भने, “वर्तमान सरकार तथा मप्रति ‘कु’ दृष्टि राख्नेले मेरो भाषणलाई तोडमोड गरी एडिट गरेर सामाजिक सञ्जालमा पोष्ट गरेका छन्, यस्तो कु प्रचार नगर्न र उक्त कुराको विश्वास नगर्न म आग्रह गर्दछु ।” सोही कार्यक्रममा मन्त्री आलेले ढलेको रुखबाट कार्बनडाइअक्साइड र मानिसबाट अक्सिजन मिल्छ भनेर बोलेका थिए । प्रविधिको दुरुपयोग गरी बदनाम गराउने काम भएको उल्लेख गर्दै उनले उक्त विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । यसरी प्रविधिको दुरुपयोग गरी समय खेर फाल्नुभन्दा बरु उक्त समय देश विकासमा लगाउनसमेत उनले आग्रह गरे । वैज्ञानिक वनका नाममा रुख छरपष्ट गरी फँडानी भएकाले वैज्ञानिक वन खारेज गरेको समेत मन्त्री आलेले जानकारी दिए ।

नबोलेको कुरा एडिट गरेर बोलेको हो भन्दै कुप्रचार नगर्न उनले आग्रह गरे । “मैले यो जनताको सरकार हो, जनताप्रति उत्तरदायी भएको सरकार हो भनेको कुरालाई एडिट गरी गलत प्रचार गरिएकामा मेरो घोर आपत्ति छ”, उनले भने । सो कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका वन तथा वातावरणमन्त्री आलेले वैज्ञानिक वनका नाममा काटिएका रुखको सबै प्रदेश वन मन्त्रालयमा लगत सङ्कलनका लागि पत्राचार गरिएको र चाँडो व्यवथापन गर्नतिर मन्त्रालय अग्रसर रहेको बताए । उनले भने, “वैज्ञानिक वनका नाममा काटिएका रुखको लगत सङ्कलनको काम शुरु गरेका छौँ, व्यवसायीलाई मर्कामा पर्न दिदैनौँ ।”

प्रकाशित :२०७७ फाल्गुन २३, आईतवार १४:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry