युवालाई सही मार्गमा ल्याउन सके सवारी दुर्घटना न्यूनीकरण गर्न सकिन्छः मुख्यमन्त्री आचार्य

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई सचेत, अनुशासित र जिम्मेवार बनाउनुपर्ने बताएका छन्।
प्रदेशस्तरीय सडक सुरक्षासम्बन्धी गोष्ठीमा आज लमहीमा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा १६ देखि ३० वर्ष उमेर समूहका युवा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुने गरेको बताए।
उनले उक्त घटनालाई प्रदेशकै सबैभन्दा ठूलो चुनौती र चिन्ताको विषय भएको उल्लेख गरे।
मुख्यमन्त्री आचार्यले विद्यालय तहदेखिनै सडक सुरक्षासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा सहकार्य आवश्यकता रहेको बताए।
लुम्बिनी प्रदेशको दाङ, बाँके, कपिलवस्तु र रुपन्देहीमा सवारी दुर्घटना बढी हुने गरेको छ।  तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति र लागुऔषधको प्रयोग दुर्घटनाका प्रमुख कारण हुन्।
पुराना सवारीसाधन, गुणस्तरहीन सडक र चालकको लापर्वाहीले दुर्घटना बढेको बताइन्छ। कार्यशालामा भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीले गुणस्तरीय सडक निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए।
आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायातमन्त्री भण्डारीलाल अहिरले सवारी दुर्घटना न्यूनीकरणका लागि नियम कानुनको इमान्दारीपूर्वक पालना र सडक सुरक्षासम्बन्धी प्रशिक्षण अभियान सञ्चालन गर्नुपर्ने बताए।
प्रदेश नीति तथा योजना आयोगका फोकल पर्सन शङ्करसिंह धामीले ५ वर्षको सडक दुर्घटना विवरण प्रस्तुत गरेका थिए। प्रस्तुत विवरणले ९० प्रतिशत दुर्घटना चालकको लापर्वाहीका कारण हुने गरेको उल्लेख  छ।
प्रदेशमा आव २०७७÷७८ देखि २०८१÷८२ सम्म सात हजार ८६६ सवारी दुर्घटना भएको जानकारी दिए। उक्त दुर्घटनामा २ हजार ५२५ जनाको मृत्यु भएको थियो। ५ हजार ४१६ जना गम्भीर घाइते र ६ हजार ८०४ जना सामान्य घाइते भएका थिए।
कार्यक्रममा प्रमुख सचिव कृष्णप्रसाद काप्रीसहित विभिन्न मन्त्रालय, सुरक्षा निकाय, स्थानीय तह र सरोकारवाला निकायका प्रतिनिधि एवं सरोकारवालाको सहभागीता थियो।
कार्यक्रममा ‘मृत्यु र गम्भीर घाइते शून्यमा झारौँ’ भन्ने लक्ष्यसहित सडक सुरक्षा प्रवद्र्धनका लागि साझा प्रतिबद्धता व्यक्त गरिएको थियो।
प्रकाशित :२०८३ श्रावण १९, मंगलवार १५:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry