नेपालको राजनीति कसरी प्रदूषित हुन पुग्यो ?

कुनै पनि देशको मूल नीति राजनीति हो र यसको स्वच्छतामा मात्र राज्यका हरेक नीति कन्चन र सफा हुन्छन् र देश र जनतको घर आगनमा पुग्छन्।

Advertisement 1

नेपालको राजनीतिको समीक्षा गर्ने हो भने राणा र अन्तरिम काललाई छोडेर त्यस पछिको राजनीतिक ब्यबस्थाबाट शुरू गर्नु पर्ने हुन्छ। किनभने २०१५ साल भन्दा अगाडि विना ब्यबस्थाको राजनीति थियो।राजनीतिक ब्यबस्थाको स्थापनाका लागि राजनीतिक पार्टी खासगरी नेपाली कांग्रेसले संघर्ष गरेको थियो। यस्तो राजनीतिक संघर्षमा नेपाली कांग्रेस किन पनि उभियो भने करीव आधा विश्व मै प्रजातन्त्रको लागि संघर्ष चल्दै थियो र नेपाली कांग्रेस एउटा प्रजातान्त्रिक पार्टी हुनुको नाता र अन्य विचारका राजनीतिक दलहरूको उदय र कृयाशील समेत भै नसकेको अवस्था थियो। यसरी २०१५ सालमा राजा सहितको बहुदलीय प्रजातान्त्रिक संसदीय शासन प्रणाली स्थापना भयो। यो राजनीतिक ब्यबस्थाको माघ्यमबाट देशका अन्य नीतिहरूको पनि शुरूवात हुदै गर्दा तत्कालीन राजा संवैधानिक भएर बस्न चाहेनन् र सो बहुदलीय प्रजातान्त्रिक ब्यबस्था हटाएर निर्दलीय स्वभावको पन्चायती ब्यबस्था ल्याए।

यो ब्यबस्थामा स्वभावैले बहुदलीयता थिएन, राजनीतिक स्वतन्त्रता र नागरिक हक ब्यबहारिक थिएनन्, शासन ब्यबस्था निर्दलीय भने पनि पंचायती विचार बाहेकका राजनीतिक चिन्तन यस भित्र अटाउन नसक्दा झण्डै एकदलीय स्वभावको थियो यो ब्यबस्था। राजा सर्वोपरी हुने, जन प्रतिनिधिहरूले राजाका हरेक कदमको प्रति रक्षा गर्नु पर्ने, वाक र प्रकाशन स्वतन्त्रता नभएको शासन ब्यबस्था हुनाले यो ब्यबस्था भित्र सबै बिचार अटाएका थिएनन्। अर्को शब्दमा भन्नु पर्दा देशको विकास निर्माणमा सबै नेपाली समेटिएको अबस्था थिएन। यो ब्यबस्थामा देखिएका बिकृति बिसंगतिमा सबै राजनीतिक बिचार ब्यबस्थाले समेट्न नसक्नु, मनको कुरा बोल्न र लेख्न नपाउनु, संवैधानिक उपचार पंचायत ईतरले नपाउनु, हरेक पेशा, ब्यबसाय र वृत्तिमा पंचायती ईतरका ब्यक्तिले प्रवेश नपाउनु र दरवार र यसका आसेपासेबाट हुने गरेका विकृति र विसंगति बारे आवाज उठाउन नपाउनु र स्वभावैले राजनीति वंशमा मात्र सीमित हुने जस्ता विकृति यो ब्यबस्थामा थिए।

Advertisement 2

यी र यस्तै किसिमका राजनीतिक बिकृतिबाट मुक्ति गराउने नामबाट यो ब्यबस्थामा समेटिन नसकेका राजनीतिक बिचार बोकेका नेताहरूले देश भित्र र बाहिरबाट यो निर्दलीय ब्यबस्था बिरूद्धको संघर्षलाई निरन्तरता दिदै गए । करीव ३० वर्षको राजनीतिक संघर्ष पछि राजा संवैधानिक भएर बस्न राजी भए पछि २०४६ सालमा पुनः संसदीय ब्यबस्था लागू भयो।

नेपाल अधिराज्यको संविधान,२०४७ वमोजिम सन्चालित राजनीतिक प्रणाली संसदीय प्रजातन्त्रको माध्यमबाट एउटा प्रजातान्त्रिक पार्टीले सरकारको नेत्तृत्व गरी रहदा नेपालमा राजनीतिक स्थायित्वको लक्षण देखा पर्दै थियो । यस किसिमको परिस्थिति बिश्व भर फैलिदै जादा यसले विश्व कम्युनिष्ट आन्दोलनमा आच ल्याउन थाल्यो। विश्वमा प्रजातान्त्रिक लहर आएर वर्लिन पर्खाल भत्केको तथ्य कम्युनिजमका लागि पच्ने विषय थिएन र त्यसको बाछिटा नेपालका कम्युनिष्टहरूमा पनि पर्न थाल्यो र प्रजातन्त्रको पुनर्वहालीको ५ वर्ष पुग्दा नपुग्दै माओवादीको नाममा यो ब्यबस्थाको विरोध हुन थाल्यो जसमा नेपालको अस्थिरता चाहने देशी विदेशी तत्वहरूको पनि साथ रहन गयो।
यसै बीचमा क्रमशः प्रजातन्त्रको पक्षमा आएर संवैधानिक दायरामा रहन खोजेको नेपालको राज संस्था उपर नै आक्रमण हुने गरी दरवार हत्या काण्ड भयो, जसले राजनीतिक अस्थीरतालाई अझै मलजल गर्यो।

Advertisement 3

यो राजनीतिक अस्थीरतालाई दुरूपयोग गर्दै नयां राजाले थप अधिनायकता लाद्न पुगे। माओवादीको गैर जिम्मेवार आतंक ,राजाको तानाशाही तथा प्रजातान्त्रिक शक्ति बीच त्रि-पक्षीय द्वन्दले तीब्रता पाउदै गयो। यो द्वन्दमा नेपालको प्रजातान्त्रिक शक्तिलाई विदेशी शक्तिले साथ दिनुको सट्टा द्वन्दलाई नै मलजल हुने गरी गतिविधीहरू देखा पर्न थाले । राजा र माओवादी दुबैले शिशु प्रजातन्त्र उपर लगातार आक्रमण गर्दै रहे र विदेशी शक्ति पनि नेपालमा अस्थीरता बढाउनमा तल्लीन हुदा देश आन्तरिक द्वन्दमा जाने वातावरण वन्दै गयो। यो परिस्थितिमा राजा र प्रजातान्त्रिक शक्ति एक ठाऊमा उभिएर देशी विदेशी शक्तिलाई रोक्नु पर्ने ठाऊमा राजाले एकोहोरो रूपमा प्रजातन्त्र उपर प्रहार गर्ने काम रोकेनन्। यो परिस्थितिमा माओवादी र प्रजातान्त्रिक शक्ति मिलेर नेपालमा गणतन्त्र ल्याए। गणतन्त्र ल्याउन प्रजातान्त्रिक शक्तिको ईच्छा नहुदा नहुदै पनि शासन सन्चालन गर्ने राजाको ईच्छालाई निस्तेज पार्न उत्तरी र दक्षिणी विचार मिल्न पुगेर गण तन्त्र आयो राजा शासनबाट अलगिए। यस बीचमा अन्तर्राष्ट्रिय शक्तिले यो अस्थीरतामा खेल्दै नेपाल र नेपालीलाई खांचै नपरेको संघीयता र धर्म निरपेक्षताको काउछो दल्न सफल भयो।

यसरी आएको राजनीतिक ब्यबस्थालाई अभिलेखीकरण गर्न बनाईएको नेपालको संविधानमा पनि नेपालीको भावना समेटिन सकेन र यसमा संघीयता र धर्म निरपेक्षता संगै संसदमा समानुपातिक ब्यबस्था लादेर आफ्ना आशेपासेलाई रोजगारी दिने काम भयो। समानुपातिक शब्द सुन्दा जति मीठो र कर्णप्रिय छ त्यसको दुरूपयोग ब्यापक रूपमा गरीदा निर्वाचन प्रणाली नै सच्याउन पर्ने गरी आवाज मुखरित भै रहेका छन्। देशमा हाल भित्रिएका बिकृति र बिसंगतिहरूका साथै राजनेता भनिने जन प्रतिनिधिहरूको अयोग्यताका कारण देशको यो हालत भै रहेको छ।

नेपालमा हाल प्रजातान्त्रिक विचारको नेत्तृत्त्व भिजनरी नेताको हातमा पर्न सकेको भए अबस्था अर्कै हुने थियो। केही समय मात्र अगाडिको कुरा गर्ने हो भने साम्यवादको अभिलाषा बोकेर युद्धमा गएको समूहलाई सुरक्षित अवतरण गराएर (उनीहरूको भाषामा कुकुरको मासु बेच्ने थलोको रूपमा चित्रित ) संसदमा प्रवेश गराउदै उनीहरूलाई उठवस गराउन सक्ने क्षमताका नेताले नेत्तृत्त्व गरेको नेपाली कांग्रेस आज उनैको पुच्छर बनेर हिडेको अवस्था छ।

यस्तो परिस्थितिमा प्रजातन्त्र निरीह नभएर कहिले हुने हो ? अहिले देशको डूंगा अलमलमा परेको माझीको जिम्मामा रहेको छ, आधीबेहरी आउने किसिमबाट वातावरण धुमिल भएको अवस्था छ, कुन बेला डूंगा डुब्छ भन्न सकिने अवस्थामा छैन।यस्तो परिस्थितिबाट देशलाई जोगाउन राजनीतिबाट माथि उठेर सबै यूवाहरू एकीकृत भएर विद्यमान राजनीतिक प्रदूषणको अन्त्य गर्न जरूरी देखिन्छ।

प्रकाशित :२०८० भाद्र ८, शुक्रबार १९:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry