चन्द्रागिरीमा सामान्य प्रशासनको कार्यक्रम समीक्षा,मन्त्रीले झारे कर्मचारीको झाँको
असार मास किसान खेतीपातीमा व्यस्त छन्। यतिबेला सरकारी कर्मचारीका बेग्लै चटारो देखिन्थ्यो । असारको अन्तिममा जसरी हुन्छ बजेट सक्ने दाउमा रहेका सरकारी कर्मचारी र निकाय भने बजेट सक्ने नाममा गोष्ठी र सेमिनारमा रमाइरहेका छन् । गोष्टी र सेमिनारका नाममा शहरका होटलहरु भरिभराउ छ ।
शहरका होटलले नपुगेर संघीय मामिला तथा सामान्य प्रशासनका कर्मचारीहरु चन्द्रागिरीमा उक्लिए । त्यहाँको मंहगो रिर्सोटमा कार्यक्रम राखिएको थियो वैदेशिक सहायताबाट सञ्चालित कार्यक्रमको समीक्षा ।
Advertisement 1
सरकारले सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्न नीतिगत मार्गदर्शन जारी गरेको छ । त्यसमा सभासम्मेलन, गोष्ठी, सेमिनार र अन्तरक्रिया सञ्चालन गर्दा सरकारी निकायकै सभाहल प्रयोग गर्न निर्देशन दिइएको छ। सम्बन्धित संस्था वा सरकारी सभाहल उपलब्ध हुन नसक्ने अवस्थामा मितव्ययिता अपनाउन मार्गदर्शनमा भनिएको छ। तर सरकारी अड्डाले सरकारी सभा हल खाली राखेर महँगा होटलमै गोष्ठी गरिरहेको भेटिन्छ ।
यसैबीच कार्यक्रमको प्रमुख अतिथी बनेर पुगेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले मंहगा होटलमा कार्यक्रम आयोजना गरिएको भन्दै आयोजकको झाँको झारेका छन् । खर्च भएको देखाउनकै लागि कर्मचारीहरु असार मसान्तमा दिनहुँ फाइभस्टारका कार्यक्रममा मात्रै व्यस्त हुन थालेको मन्त्री मोदीको भनाई थियो । “असार मसान्तको समय छ, कर्मचारीहरु अहिले जनताको सेवामा भन्दा पनि फाइभस्टारका कार्यक्रममा व्यस्त छन् । कर्मचारीको यो दिनचर्याबाट सुशासन सम्भव छैन” उनले भने ।
उनले खर्च देखाउनकै लागि असारमासको अन्त्यमा फाइभस्टार होटलमा आयोजना गरिएको भन्दै आपत्ति जनाएका हुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैदेशिक सहायताबाट सञ्चालित कार्यक्रमको समीक्षा गर्न चन्द्रागिरीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।
Advertisement 2
वैदेशिक सहायताको वास्तविक मर्मअनुसारको काम हुन नसकेको बताउँदै उनले भने, “वैदेशिक सहायताको मर्म जे हो, त्यो अनुसारको कुनै पनि काम हुन सकेको छैन, खर्च भएको देखाउन महँगो होटल ताक्ने बेथिति बढेको छ, यसको रोकथाम आवश्यक छ ।”
उनले मन्त्रालय मातहतको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमले लक्ष्यअनुरुपको बजेट खर्च गर्न नसकेकोमा पनि असन्तुष्टि जनाएका छन् । “हाम्रै मन्त्रालय मातहतको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजीएसपी)ले पनि लक्ष्य अनुरुपको बजेट खर्च गर्न सकेन, यसबारे गम्भीर समीक्षा जरुर आवश्यकता छ” उनले भने ।
Advertisement 3
मन्त्री मोदीले वैदशिक सहायतालाई लक्षित वर्गसम्म पुर्याउन जरुरी भएको समेत बताएका छन् । लक्षित वर्गसम्म वैदेशिक सहायताको रकम पुग्न नसक्ने कार्यक्रमको लक्ष्य पनि पूरा हुन नसकेको उनको भनाई थियो ।
वैदेशिक सहायतासँग सम्बन्धित प्रतिनिधिहरुलाई कर्मचारीहरुले अनेकन् बहानामा दुख दिने गरेको गुनासो पनि आफूले सुनेको बताउँदै मन्त्री मोदीले भने, “आफू अनुकुलताको कुरा राखेर, लोभ र लालच देखाएर यो वा त्यो बहानामा कर्मचारीहरुले वैदेशिक सहायताका प्रतिनिधिहरुलाई घुमाइराखेको गुनासो पनि सुनेको छु, अब कर्मचारीबाट यो वा त्यो बहानामा असहयोग भए मलाई सिधा सम्पर्क गर्नुहोला ।”