बरण्डामा कर्मचारीको बथान
सिंहदरबारभित्रैका ५ दर्जन कर्मचारी बरण्डामा,आधा दर्जन सहसचिव,दुई दर्जन उपसचिव,दर्जनौका संख्यामा अफिसर,झण्डै तीन दर्जन सुब्बा,खरदारको दैनिकी मन्त्रालय जाने हाजिर गर्ने फर्कने ।
सामान्य प्रशासनमा मात्र होइन यस्तो जात्रा भौतिक,गृहदेखि परराष्ट्रसम्मै । कामविहीन र जिम्मेवारीविहिन बनाइनुलाई निजामती वृत्तमा बरण्डामा महाशाखा भन्ने गरिन्छ । १३ जनाको दरबन्दी छ, १७ सहसचिव थुपारिँदा जसरी कतिपय परराष्ट्रका सहसचिवले बस्ने कुर्सी र जिम्मेवारी पाएका थिएनन् उस्तै हरि विजोग छ, गृह,सामान्य,भौतिकतिर ।
बढुवा भएका र जिम्मेवारी नपाएका दर्जनौं कर्मचारी सामान्यको कौशीमा प्रशासनिकदेखि राजनीतिक गफ चुटेर फर्कने गरेका छन् ।
Advertisement 1
सामान्यमा मात्र एक दर्जन उपसचिव,तीस शाखा अधिकृत र २८ जना खरिदार सुब्बाहरुलाई बरण्डा महाशाखामा थन्काइएका छन् । मोहन घिमिरे,नवराज ढकाल,मुकेश रेग्मी, किसान न्यौपाने,गीता आचार्य, राजेन्द्रप्रसाद कँडेललगायतका उपसचिवहरु कौसीमा थन्काइएका छन् । यस्तै शाखा अधिकृतहरू सुवास रिजाल, अभिलाषा महर्जन, प्रकाश दुलाल, प्रभा पोखरेल, रामबहादुर यादव, तीर्थराज निरौला, उदयराज भट्टराई, निरञ्जन पाख्रिन, शालिग्राम देवकोटा, वीरबहादुर बस्नेत, सिन्धुकुमारी पाण्डे जिम्मेवारी पाएका छैनन् ।
भौतिकका ६ जना उपसचिवहरू तीन सातादेखि बरण्डा शाखामा थन्काइनेमा परेका छन् । अमितकुमार शर्मा, क्षितिज जोशी, शुभाञ्जन दाहाल, तेजस्वी शर्मा, ज्ञानेन्द्रप्रसाद कलौनी र आशिका पोखरेलले जिम्मेवारी पाएका छैनन् । अघिल्लो आर्थिक बर्षमा कर्मचारीहरुलाई अतिरिक्त समूह अर्थात बरण्डामा राखेरै १० करोड ४७ लाख ३२ हजार भुक्तानी दिइएको भेटिएको छ । निजामती सेवा नियमावली २०५० नियम ३४ ग मा अत्तिरिक्त सेवा सम्बन्धी व्यवस्था गरिएको छ । सोही दफामा टेक्दै अचेल मन नपरेका प्रशासकहरुलाई अत्तिरिक्तमा थन्काइने प्रवृत्ति बढ्दै छ । कतिसम्म भने कोही सचिव चार महिनासम्म त कोही सहसचिवलाई पाँच महिनासम्म मन्त्रालयले अतिरिक्त समूहमा राखेको भेटिन्थ्यो ।