सेवा निवृत्त कर्मचारीहरू र तिनीहरूको दैनिकी

कुनै पनि देशमा सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि कर्मचारी नियुक्त गरिएका हुन्छन्। निश्चित पदावधि वा उमेर पुगे पछि तिनीहरू सेवा निवृत्त हुन पुग्छन्। राजनीतिक तवरबाट नियुक्त कर्मचारी वा अस्थायी वा सेवा करारमा लिईएका कर्मचारी वाहेक अरू निवृत्त कर्मचारीहरूलाई अवकाश पश्चात अनुदान वा निवृत्तिभरणका रूपमा केही निर्वाह भत्ता दिईएको हुन्छ। निश्चित अवधी ब्यतित भए पछि यही भत्ता लिएर यस्ता कर्मचारीले दैनिकी गुजारी रहेका हुन्छन्। जीवनको ऊर्जाशील उमेर राष्ट्र सेवामा खर्चेका कर्मचारीको निवृत्त जीवनलाई राज्यले कही कतै सदुपयोग गर्न खोजेको पाईदैन तर केही उच्च पदबाट निवृत्त कर्मचारी र केही पहूंच भएकाहरू भने राजनीतिक नियुक्ति पाएर ब्यस्त पनि हुने गरेको पाईन्छ।
Advertisement 1
सेवा निवृत्त पश्चात पनि यस्ता कर्मचारीहरू उपर नियमित लगानी गरी रहेको राज्यले त्यस्ता कर्मचारीहरूलाई खोपामा मिल्क्याएर राख्नु भनेको राज्यको कोषको दुरूपयोग गर्नु पनि हो। हुन त सेवा निवृत्त पश्चात निज कर्मचारीले पाउने पेन्सन भनेको निजको हकको कुरा हो, सो वापत राज्यले निजको राजीखुसी वेगर थप दायित्व सीर्जना गर्न सक्दैन तर यसको अर्थ यो हैन कि उसको विगतको अनुभवलाई राज्यले उपयोग गर्नै पाउदैन। निजको मन्जूरीमा राज्यले निजलाई केही दायित्व दिन सक्छ जुन अनुभव र मितब्यीताको हिसाबले सकारात्मक पनि हुन आउछ तर यस तर्फ नीति निर्माता र राज्यको हेक्का रहेको पाईदैन।
अर्को तर्फ देशको निजी क्षेत्रले यस्ता अनुभवी मानवीय श्रोतको सदुपयोग गरी कम खर्चमा मनग्य फाईदा लिई रहेको पाईन्छ। नेपालका निवृत्त जनशक्ति मध्ये खासगरी सुरक्षा संग सम्बन्धित जनशक्ति र केही प्राविधिक जनशक्तिहरूले देश तथा विदेशमा कृयाशील हुने मौका पाएका छन्। यस्तै काम सरकारी क्षेत्रले पनि गर्न सके मुलुकलाई थप फाईदा हुने देखिन्छ।अधिकांश सेवा निवृत्त कर्मचारीका सन्तानहरू उच्च शिक्षाका लागि विदेशिएको पाईन्छ। नेपालमा देश र जनताको लागि राजनीति गर्छु भन्नेहरू देश र जनता छाडेर आफू र आफ्ना परिवार तिर केन्द्रित भएका कारण देश दिनानुदिन ओरालो लाग्दै गएको छ।
Advertisement 2
नेपाल वेरोजगारीको बजारको रूपमा दिनानुदिन बिस्तार हुदैछ, अध्ययन सकेर स्वदेश फर्कने अपेक्षाका साथ परदेश गएका विद्यार्थीहरू आफ्नो देशमा फर्कने वातावरण नहुदा विदेश तिरै बस्न बाध्य छन्, रोजगारीका लागि विदेशिनेको संख्या दैनिक हजारौ छ, कृषि प्रधान देशका रूपमा चिनिएको नेपाल, यूवा जनशक्तिको अभावमा बांझा खेतबारी लिएर बसेको छ, नेपाल वृद्ध वृद्धाको देशको रूपमा परिणत हुदैछ, विदेशिएका सन्तान स्वदेश नफर्किए पछि तिनका बाबुआमा समेत आश्रयका लागि विदेशिन वाध्य छन्, गांऊघरहरू खण्डहरका रूपमा क्रमशः परिणत हुदै छन्। यही परिस्थिति सेवा निवृत्त कर्मचारीको पनि भएको छ। दैनिक दर्जनौ सेवा निवृत्त कर्मचारी त्रिअवि मा लगेजको फोटो खिचाउदै सन्तानको पछि लाग्दैछन्।
यसैले राज्यले यिनीहरूको उपयोग गर्ने नीति अख्तियार गर्न सके राज्य स्वयं लाभान्वित हुनु त छदैछ, यसका अतिरिक्त खण्डहर हुदै गएका गांऊ घरले पुनर्जीवन पाउनुका साथै विदेशिएका नेपालीहरू पनि स्वदेश फर्कने वातावरण बन्न सक्ने देखिन्छ।