‘नियतिले धेरै गर्न दिएन’ भन्दै शिक्षा मन्त्रालयबाट बिदा भए गोपीनाथ मैनाली
निजामती सेवामा यस्तो रोग छ आफूलाई मन पर्ने कर्मचारीलाई शिरमै सिउरिने,मन नपर्ने कर्मचारीलाई देखिनसहने । यस्तै अत्याचारको शिकार हुनेमा पर्दछन् गोपीनाथ मैनाली । निजामती सेवामा निष्ठावान् कर्मचारी कमै भेटिन्छन् । तिनैमध्येका एक हुन उनी । जो पछिल्लो साढे चार वर्षमा आठपटक सरूवा हुनेमा पर्दछन् । अवकाशको मुखमा पुगेका उनै मैनालीलाई सरकारले शुरुमा सार्वजनिक खरिद अनुगमनको कार्यलयतिर पठायो । तर उनले त्यहाँ नजाने बरु राजीनामा दिने अड्डी लिए । सोही अड्डीको परिणामस्वरुप अहिले उनलाई उपराष्ट्रपतिको कार्यलयमा खटाइएको छ ।
Advertisement 1
शिक्षासचिव नियुक्त भएको पाँच महिना नपुग्दै सरुवा भएका मैनालीले बिहिबार उपराष्ट्रपति कार्यालयको सचिवका रुपमा रमाना बुझेका छन् । मैनालीले आफू शिक्षा मन्त्रालयमा ५ महिना रहँदा केही सुधारका प्रयत्न गरेको दावा गरेका छन् ।
उनका अनुसार,‘शिक्षा मन्त्रालयमा धेरै कामहरु थालनी भएका छन्, जस्तो कि विद्यालय क्षेत्र सुधार योजना, संघीयता अनुरुपका कानून निर्माण, शिक्षक समायोजन, संगठन पुनसंरचना, छात्रवृत्ति व्यवस्थापन, नेपाली डायस्पोरासँग नेपाली शिक्षाको सहकार्य र उच्च शिक्षामा छात्रवृत्तिदेखि कोभिडको सन्त्रास, पठन पाठन र कक्षा १२ लगायतका परीक्षाहरु रोकिएको, डा गोविन्द केसीको आमरण अनसन जस्ता जटिल समस्या रहेको समयमा आफू शिक्षा मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेको स्मरण गर्दै अनेकन समस्याका बावजुद ती सवै समस्याहरु एकएक गरी समाधान गर्ने सफलता मिलेकोमा सन्तोष व्यक्त गरेका छन् । यस्तै यही बीचमा शिक्षा नियमावलीको नवौं संशोधन, शैक्षिक सत्र व्यवस्थापन, एसईई परीक्षाको नीतिगत निर्णयजस्ता कामहरु भएका र कक्षा ११ को पाठ्यक्रम सम्बन्धी अन्योल पनि समाधान भएको उल्लेख गरेका छन । यद्यपि नियतिले धेरै गर्न नदिएको गुनासो पोखेका छन् । सम्पन्न कामको निरन्तरता र अधुरा कामहरु संस्थात्मक सम्झनाका रुपमा हस्तान्तरण गरेको छु । उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
Advertisement 2
मैनाली २०७३ सालमा सचिव भएका हुन् । उनको पहिलो पोस्टिङ क्षेत्रीय प्रशासन कार्यालय पोखरामा भएको थियो। त्यहाँबाट एक महिना नबित्दै निर्वाचन आयोगमा तानिएका थिए । त्यहाँबाट पनि वर्षदिन नबित्दै खेदिएका उनी प्रधानमन्त्री कार्यालयको जगेडामा चार महिना थन्काइएपछि सहकारी मन्त्रालय,भूमि, सहकारी र गरिबी मन्त्रालय हुँदै महालेखापरीक्षकको कार्यालयमा पुगेका थिए । त्यहाँबाट तेह्र महिनामै उनलाई शिक्षा मन्त्रालयमा सरुवा गरिएको थियो ।