कोही लगातार खेदिने, कोही त्यहीं भेटिने


कार्यसम्पादनमा उत्कृष्ट नतिजा दिने कर्मचारीलाई पुरस्कृत गर्ने, कमजोर कार्यसम्पादन भएका कर्मचारीलाई डण्डा बर्साउने सरकारी नीति हो । तर यहाँ त ठीक उल्टो चल्छ ।
अब्बल कार्यसम्पादन भएका कर्मचारी सात आठ महिनामै खेदिने र सेटिङ कलामा पारंगत कर्मचारी आठ वर्षदेखि एउटै अड्डामा लिसोझैं टाँसिरहने चलन छ । निजामती सेवा सुधार्न कम्मर कसेर लाग्ने भिष्म भुसालजस्ता कर्मचारी कहीँ सात आठ महिनाभन्दा बढी टिक्दैनन् अनि विश्वबाबु पुडासैनी मार्काका कर्मचारी पनि छन् जो आठ वर्षदेखि एउटै अड्डा रुंगिरहेछन् । उनी बालाजुस्थित गुणस्तर तथा नापतौल विभागका हाकिम हुन् ।
सोही अवधिमा अर्का सुधारवादी प्रशासक डा. भुसालको आधा दर्जनभन्दा बढी ठाउँमा सरुवा भइसकेको छ । उनी जहाँ पुग्यो त्यहीं तहल्का पिट्छन् । कामै नलाग्ने अड्डाको रूपमा परिचित नेपाल ट्रष्टको कार्यालयमा खेदिए, सँगै बालुवाटारवालाका लागि काउसो बन्न थालेका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण हुँदै वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा कार्यसम्पादनमा अब्बल थिए ।  वैदेशिक रोजगार विभागमा पुगे । कामदारसँग चर्काे रकम असुल्नेदेखि, अवैधरुपमा विदेश लैजानेविरुद्ध खरो उत्रिए ।  कामदार ठग्ने म्यानपावरलाई करोडौंसम्म जरिवाना गरे, त्यहाँबाट उनलाई १० महिना नबित्दै खेदियो र अख्तियारको कार्यालय बुटवल पु¥याइयो ।  त्यहाँ रहँदा उस्तै छुरा । राजश्व अनुसन्धान कार्यालयका तीन भ्रष्ट उपसचिवलाई अँठ्याए ।  भ्रष्टाचारी कर्मचारीलाई पाता कसेको बदलामा ९ महिना नबित्दै नेपाल ट्रष्टको कार्यालयतिर खेदिनेमा परे ।
नेपाल ट्रष्ट कर्मचारीलाई थन्क्याउने कार्यालयको रुपमा परिचित । अहिले त्यहाँको सचिव छन्, देवेन्द्र कार्की । कर्मचारीले हृदयदेखि नै चाहने हो भने धेरै हदसम्म सुधार सम्भव छ भन्ने प्रमाणित गर्दै आएका भुसाल त्यहाँ पुगेपछि फेरि बालुवाटारको टाउको दुखाई बनेका छन् । बालुटारकै संरक्षणप्राप्त यति समूहलाई तह लगाउने गरी एक्सनमा काम प्रारम्भ गरेसँगै भुसाललाई त्यहाँबाट पनि खेद्ने खेलोमेलो शुरु भएको छ । नेपाल ट्रष्टको सम्पत्तिमाथि दोहन गर्दै आएको यति समूहमाथि खरो उत्रिएका छन् भुसाल । उनी त्यहाँ पुगेलगत्तै यती समूहको थामसेर्कु ट्रेकिङ प्रालिले दरबारमार्ग र ताहाचलमा लिजमा लिएको ट्रष्टको जग्गामा सम्झौताविपरीत काम भएको भेटिएसँगै कारबाही प्रक्रिया अघि बढाउँदैछन् ।  नेपाल ट्रष्टको कार्यालयले ट्रष्टको स्वामित्वमा ताहाचलस्थित कित्ता नम्बर १८, १९ र २० को जग्गा भाडामा लिएको यति समूहअन्तर्गतको थामसेर्कु ट्रेकिङ प्रालिलाई सम्झौताअनुसारको मात्र भवन निर्माणका लागि नक्सा तथा डिजाइन पेस गर्न पत्र पठाएसँगै हलचल शुरु भएको छ । ट्रष्ट सञ्चालक समितिको ६४औं बैठकले नक्सा पासका सम्बन्धमा लिज प्रस्तावसम्बन्धी कागजात, एलपिडीमा उल्लेख भएबमोजिमको बेसमेन्ट र ग्राउण्ड फ्लोरसहित ६ तलाकै विस्तृत इञ्जिनियरिङ डिजाइन पेश गरी पूर्व स्वीकृति लिने प्रक्रिया अघि बढाउन पत्र पठाएको छ । यससँगै  थामसेर्कुले सम्झौताविपरीत १२ तलाको भवन निर्माणका लागि बनाएको डिजाइन तथा नक्सा पासको काम रोकिने भएपछि यति समूहले बालुवाटारमार्फत चलखेल तीव्र पारेको बताइन्छ  ।

प्रकाशित :२०७७ फाल्गुन ४, मंगलवार ०८:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry