मृतकको नाममा समेत सरकारी कर्मचारीको ठगीधन्दा,नासु अधिकारी परे प्रहरीको फन्दा
वैदेशिक रोजगारीमा गएर उतै प्राण गुमाएकाको नाममा समेत रकम असुली धन्दा चलाएको भेटिएपछि एक जना नासु प्रहरीको फन्दामा परेका छन् । उनीसहितको टोलीले वैदेशिक रोजगारीमा गई मृत्यु भएकाका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
Advertisement 1
यस्तो धन्दामा संग्लग्न गिरोहका नाइके रामबहादुर तामाङसहित ६ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका गिरोहले यस्तो धन्दामा सघाउने कर्मचारीमा नासु पशुपति अधिकारीको नाम पोलेपछि उनी प्रहरीको फन्दामा परेका हुन । अधिकारीले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको सूचना बेच्ने गरेको खुलेपछि पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
वैदेशिक रोजगारीमा गई कार्यस्थलमा मृत्यु भएकाको परिवारले १४ लाख र नेपालमा छुट्टीमा आउँदा मृत्यु भएमा १३ लाख बीमा बापतको क्षतिपूर्ति पाउने व्यवस्था छ । यस्तै वैदेशिक रोजगार बोर्डबाट अतिरिक्त ७ लाख पनि पाउने व्यवस्था रहेको छ। उनीहरुले परिवारले स्वतः पाउने रकममा पनि प्रलोभनमा पारेर ठगी गर्ने गरेको पाइएको हो ।