भारतले अनुमति नदिएपछि कालापानीमा स्थलगत जनगणना नहुने, स्याटलाइटबाट अनुमान गरिने
लिम्पियाधुरा, लिपुलेक र कालापानीमा स्थलगत जनगणना नगर्ने भएको छ । आज देखि सुरु हुन लागेको १२औं राष्ट्रिय जनगणनामा नेपालको नक्साभित्र समावेश लिम्पियाधुरा, लिपुलेक र कालापानीका गाउँमा स्थलगत तथ्यांक संकलन नहुने विभागले जनाएको छ ।
Advertisement 1
भारतले अनुमति नदिएपछि सो क्षेत्रमा प्रविधिको प्रयोग गरेर अनुमानका भरमा जनसंख्या गणना गरिने भएको छ । “त्यो हाम्रो भूभाग हो । हाम्रो नक्साभित्र परेको भूभाग हो । तर हाम्रो सहज आवत जावत छैन । भारतको आर्मीले घेरेर बसेको छ । हामीलाई भित्र छिर्न दिँदैन,” केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले भने ।
उनले जनगणना गर्न तीन वटा विकल्प भएको र त्यसमा एउटामात्र राम्रो विकल्प भएको सुनाए । “एउटा उपाय भनेको उनीहरुको सेना र हाम्रो सेना झैझगडा हुनेगरी गएर जनगणना गराउने भन्ने हो । त्यो त सम्भव भएन । दोस्रो विकल्प पहिला जस्तो केही पनि नगर्ने । केही पनि हुने भएन,” उनले भने ।
Advertisement 2
तेस्रो विकल्पलाई श्रेष्ठले उत्तम भने । “त्यो के हो भन्दा यसको लागि कुटनीतिक पहल जरुरी छ । हामीले छलफल गरिसकेका छौं । परराष्ट्र मन्त्रालयले भारतसँग उच्च तहमा पहल गरेर सहज आवत जावत भयो भने हामी जनगणना गराउन तयार छौं । राम्रो विकल्प यहीँ हो,” उनले भने ।