पुष्करलाई फेरि अर्थमै लैजाने तयारी,कुन कुन सचिव बन्दैछन् भकुण्डो ?
अर्थ मन्त्रालय काँग्रेसको भागमा परेसँगै त्यहाँका सचिव परिवर्तन गर्ने खेलोमेलो शुरु भएको छ । यस अघि अर्थमै रहेका कृष्णहरि पुष्करलाई फेरि त्यतै लैजाने तयारी भइरहेको छ । पुष्करलाई सामान्यबाट पुन अर्थमै फर्काइदा पुन केही सचिवहरु भकुण्डोझैँ यताबाट उता र उताबाट यता फालिने भएका छन् ।
Advertisement 1
सिंहदरबार स्रोतका अनुसार यो साताभित्र सरकारले केही सचिवको सरुवा गर्न तयारी भइरहेको छ । अरु सचिवको हकमा पछि गर्दै गरौंला तर, अहिले अरुलाई यथावत राखे पनि अर्थ सचिवलाई तत्काल चलाइहालौं भन्ने हुट्हुटी सिंहदरबारमा सबैभन्दा धेरै देखिन्छ ।अर्थमन्त्रीमा डा प्रकाशशरण महत नियुक्त भएको सन्दर्भमा रायलाई आजभोलि नै चलाइने र अरुलाई ‘ग्रुपमा’ गर्ने भनिएको छ । रायको ठाउँमा गत पुसमा त्यहींबाट फालिएका कृष्णहरि पुष्करलाई ल्याउन लागिएको बुझिएको छ ।
पुष्करलाई त्यता लैजानका लागि भाउजुको जोड भएकाले उनको नाम र चर्चा बढी हुन पुगेको एकाथरी कांग्रेसीहरूले बताउँछन् । पुष्करको भाउजूका साथै पूर्वअर्थमन्त्री जनार्दन शर्मा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मुख्यसचिव शंकरदास बैरागीले समेत अर्थमै फर्काउने विशेष जोड गरिरहेकाछन् । कृष्णहरिलाई मुख्यसचिवको विशेष प्यार रहेको देखिदैं आएको छ कारण उनले चिन्ने र घनिष्ठ सम्बन्ध भएका कर्मचारीमध्येका हुन्, कृष्णहरि पुष्कर । अख्तियारमा हुँदा गोविन्द केसीलाई ‘पागल’को संज्ञा दिएर विज्ञप्ति निकाल्ने पुष्कर लोकमान सिंह कार्कीकै जोडले नयाँदिल्लीस्थित नेपाली दूतावासमा इकोनोमिक मिनिष्टर नियुक्त भए । त्यतिबेलादेखि नै बैरागीसँग घनिष्टता कायम भएको हो । मुख्यसचिव र पुष्करकोमा प्राय साँझ राजेश्वर ज्ञवाली, अख्तियारमा मुद्दा खेपिरहेका संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका सु ई ललिजन खनाल, समानान्तर जेभीका विवादित ठेकेदार अच्युतकृष्ण खरेल र बिचौलिया रमेश खड्काको बाक्लै आवतजावत र उठबस हुने गरेको स्रोतले जनाएको छ ।राजेश्वरले चाहिँ आफू कृष्णहरिको क्लास मेट भएको कारण त्यहाँ गइरहने गरेको प्रतिक्रिया दिएका छन् । मुख्य सचिवको विशेष प्यारका कारण पुष्करले जुनियर सचिव हुँदा पनि प्रदेशतिर ओर्लनुपरेन ।
सबैतिर घनिष्ट सम्बन्ध भएकै कारण पुष्कर सघीय मामिला तथा सामान्यबाट फेरि अर्थमै फर्कन लागेका हुन । अर्थसचिव तोयम रायलाई उद्योग मन्त्रालयबाट ल्याइएको थियो । उनी त्यसअघि अख्तियारमा थिए । गत पुसमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले रायलाई अर्थमा भित्र्याएका हुन् । त्यहीँका राजश्व सचिव भने अख्तियारबाट आएका डा रामप्रसाद घिमिरे हुन् । उता अर्थकै क्याडेट बैकुण्ठ अर्याललाई अब गतिलो ठाउँ नदिने मनस्थितिमा स्वयम् प्रधानमन्त्री पुग्नुभएको माओवादी मन्त्रीहरूको बुझाइ छ । अर्याल आगामी असार मसान्तसम्म सरकारी सेवामा रहनेछन् । आगामी बजेट तर्जुमाको निम्ति समय ढिलो भइसकेको हुँदा कांग्रेसले साँप मर्ने, लठ्ठी पनि नभाँचिने सिद्धान्तमा टेकेर अर्याललाई अर्थमा ल्याइ काम लगाउने र बजेटपछि घर पठाइदिने योजना बनाएको थियो । ‘बजेट बनाउन ल्याऊँ, ती काबिल हुन् । साउनपछि घर जान्छन् अनि अर्को ल्याउँला भनिए पनि प्रधानमन्त्रीले अस्वीकार गर्नुभएको एक मन्त्रीले बताए ।
Advertisement 2
उनको विकल्पमा केवल भण्डारीलाई योजना आयोगबाट लैजाने तयारी गरे पनि यसबीचमा ठूलै भाँजो हालिएको बताइन्छ । स्थीर सरकार भनिएको ब्युरोक्रेसीलाई नयाँ सरकारको गठन र पुनर्गठनपछि सँधै अस्थिर बनाउने गरिएको छ । सचिवहरूको सरुवासँगै तीनदेखि चार जना सहसचिव पनि यताउता हुने अवस्था छ ।