काठमाडौँ महानगरले अब सबै सेवा एकै ठाउँबाट दिने
काठमाडौँ महानगरपालिकाले अबदेखि एकै ठाउँबाट सबै सेवा प्रवाह गर्ने भएको छ । महानगरले काठमाडौँ प्लाजा भाडामा लिन नेपाल ट्रष्टसँग सम्झौता गरेपछि सबै सेवा एउटै भवनबाट प्रवाह गर्ने भएको हो ।
Advertisement 1
नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौँ प्लाजामा सर्नका लागि महानगर र ट्रष्टबीच बुधबार सहमति भएको छ । सहमति पत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।
महानगरले मिसिल शाखा, सहकारी विभाग, जिल्ला समन्वय समितिमा रहेका विभाग काठमाडौँ प्लाजामा सार्ने तयारी गरेको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए । महानगरअन्तर्गतका १६ वटा विभागले अहिले फरक–फरक स्थानबाट सेवा प्रदान गर्दै आएको छ । सम्झौताबमोजिम झ्याल, ढोका र लिफ्टसहित विग्रिएका र भत्किएका संरचना बहाल रकमबाट कटाउने गरी महानगरले मर्मत गर्नेछ । प्रत्येक पाँच वर्षमा १० प्रतिशतले बहाल वृद्धि गर्ने गरी १० वर्षका लागि सम्झौता भएको छ ।
Advertisement 2
छरिएर बसेका सबै संरचना र सेवालाई एउटै ठाउँमा ल्याएर सेवा प्रवाहलाई व्यवस्थित गर्न महानगरले प्लाजा भाडामा लिएको हो। करिब ५ रोपनी २ पैसा क्षेत्रफलमा निर्माण भएको ७ तले भवनमा महानगरको सबै कार्यलयहरू एकै ठाउँमा हुनेछ।
२०७२ को भूकम्पअघि एकै स्थानबाट सेवा प्रवाह गरिरहेको महानगरको अहिले केन्द्रीय कार्यलय सुन्धारामा छ । वातावरण विभाग टेकुमा, राजश्व विभाग बबरमहलमा, सहकारी विभाग बिजुलीबजार, शिक्षा विभाग ताहाचल, केही विभाग राष्ट्रिय सभा गृहमा गरी विभिन्न १० स्थानबाट सेवा प्रवाह गरिरहेको छ ।