इनर्जी ड्रिंक्सको सेवनमा सावधानी अपनाउन विभागको आग्रह, दिनमा २ क्यानभन्दा बढी नपिउन सुझाव

काठमाडौं । इनर्जी ड्रिंक्सको उत्पादन तथा बिक्रीवितरणबारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्तालाई सचेत रहन आग्रह गरेको छ। विभागले स्वस्थ वयस्कले समेत क्याफिनको कुल मात्रा ख्याल गर्दै इनर्जी ड्रिंक्स सेवन गर्नुपर्ने जनाएको छ।

Advertisement 1

विभागका अनुसार नेपालमा इनर्जी ड्रिंक्स उत्पादन तथा बिक्रीवितरणका लागि विभिन्न सरकारी निकायबाट अनुमति लिएका १७ वटा उद्योग सञ्चालनमा छन्। ती उद्योगका उत्पादनमा क्याफिनको मात्रा प्रतिक्यान १०० मिलिग्राम रहेको र यो मानव उपभोगका लागि तोकिएको सुरक्षित मात्राभित्र रहेको विभागको विज्ञप्तिमा उल्लेख छ।

इनर्जी ड्रिंक्समा क्याफिन, ग्वाराना, टाउरिन, ग्लुकुरोनोल्याक्टोन, भिटामिन बी समूह, चिनी, पानीलगायतका पदार्थ प्रयोग गरिन्छ। यस्ता पेय पदार्थमा हुने क्याफिनको मात्रा मात्र नभई चिया, कफी, चकलेटलगायत अन्य स्रोतबाट शरीरमा पुग्ने क्याफिनको कुल मात्रा पनि ध्यान दिनुपर्ने विभागले जनाएको छ।

Advertisement 2

दिनमा दुई क्यानभन्दा बढी सेवन नगर्न सुझाव

विभागले उपभोग गर्न मिल्ने व्यक्तिलाई एक दिनमा दुई क्यान अर्थात् ३३० मिलिलिटरसम्मका दुई क्यानभन्दा बढी इनर्जी ड्रिंक्स सेवन नगर्न अनुरोध गरेको छ। साथै, इनर्जी ड्रिंक्सलाई पानी, जुस, दूध, मोहीजस्ता पेय पदार्थको विकल्पका रूपमा प्रयोग नगर्न र अन्य पेय पदार्थमा मिसाएर सेवन नगर्न पनि सुझाव दिएको छ।

Advertisement 3

विभागले बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेहलगायतका रोग भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिंक्स सेवन नगर्न आग्रह गरेको छ। उत्पादनको लेबलमा उल्लेख गरिएका चेतावनी र उपभोगसम्बन्धी निर्देशन पालना गर्न पनि उपभोक्तालाई सचेत गराइएको छ।

उत्पादकलाई विज्ञापन र लेबलमा सचेतना सन्देश अनिवार्य गर्न आग्रह

विभागले इनर्जी ड्रिंक्सका उत्पादक तथा विक्रेतालाई प्रचलित कानुनअनुसार आवश्यक अनुमति लिएर मात्रै विज्ञापन तथा व्यावसायिक गतिविधि सञ्चालन गर्न निर्देशन दिएको छ। विज्ञापन गर्दा उत्पादनको लेबलमा उल्लेख गरिएका चेतावनी सन्देश र सुरक्षित उपभोगसम्बन्धी जानकारीसमेत प्रसारण गर्नुपर्ने विभागको भनाइ छ।

विभागले खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न वैज्ञानिक तथ्य, अन्तर्राष्ट्रिय मापदण्ड र अभ्यासका आधारमा काम भइरहेको उल्लेख गर्दै इनर्जी ड्रिंक्सबारे समाचार सम्प्रेषण गर्दा सर्वसाधारणमा अनावश्यक भ्रम वा त्रास सिर्जना नहुने गरी तथ्यमा आधारित सूचना प्रवाह गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत काम गर्ने इनर्जी ड्रिंक्स उत्पादक तथा बिक्रीवितरणमा संलग्न व्यवसायीलाई ऐनअनुसार कारबाही हुने विभागले स्पष्ट पारेको छ।

प्रकाशित :२०८३ कार्तिक १२ गते, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]