शैक्षिक क्षेत्रका उत्कृष्ट देशहरुमा समान शैक्षिक पक्ष
विषय प्रवेश
एक वर्ष जति भयो होला नेपालमा शिक्षा क्षेत्रको बागडोर सम्हालेका सबैभन्दा उच्च सरकारीअधिकारीले संसदीय समितिमा स्थानीय तहको शैक्षिक जनशक्तिले कक्षा १२ सम्मको विद्यालय शिक्षा व्यवस्थापन गर्न नसक्ने भन्ने अभिव्यक्ति दिएर विवादमा आउने काम गरे।शिक्षा सचिवले संविधानकै विरुद्दमा अभिव्यक्ति दिनु दुर्भाग्यपूर्ण हो। शिक्षा सचिवले त संसारका असल शैक्षिक अभ्यासका आधारमा संसदीय समितिमा आफ्ना विचार राखेर शैक्षिक उन्नयनका लागि जोडदार पैरवी गरेका भए सायद उनी विवादमा पर्ने थिएनन्। यति मात्रै होइन, यसले गर्दा शिक्षा मन्त्रालयको ईज्जत पनि जोगिन्थ्यो।एकातिर विश्वमा हरेक वर्ष विद्यालय शिक्षा पद्दतिमा सुधारका लागि पाठ्यक्रम, शिक्षण विधि, शैक्षिक प्रशासन र शैक्षिक प्रविधिका क्षेत्रमा थुप्रै प्रयासहरु हुन्छन्। तर, दुर्भाग्य नै भन्नु पर्छ धेरै जसो प्रयासहरु असफल हुने गर्दछन्। अर्कोतिर संसारमा केही देशहरु छोटो समयमा शिक्षाका क्षेत्रमा ठुलो शैक्षिक उपलव्धि हासिल गर्न सफल भएका छन्। यी देशहरुले आफ्ना लाखौ विद्यालयहरुलाई सुधार्न गरेका प्रयासले अरु देशहरुलाई सिक्ने मौका दिएका छन्। नेपाल र नेपालका राजनैतिक दलहरुले यी देशहरुबाट धेरै कुराहरु सिक्न सक्ने देखिन्छ।अस्ट्रेलिया, दक्षिण कोरिया, क्यानाडा, चीन, फिनल्याण्ड र सिंगापुरले विद्यालय शिक्षाका क्षेत्रमा गरेको प्रगति लोभ लाग्दो छ। यी देशहरु शैक्षिक नीति, शैक्षिक अभ्यास, शैक्षिक संस्कृति र राजनैतिक प्रणालीका सवालमा फरक छन्। तर, केही शैक्षिक पक्षहरु भने समान छन्। यी साझा शैक्षिक पक्षहरुकै कारण विद्यालय शिक्षाका क्षेत्रमा यी देशहरुले फड्को मारेका छन्।
Advertisement 1
उत्कृष्ट देशका समान शैक्षिक पक्ष
सार्वजनिक शिक्षाको दूरदृष्टि
Advertisement 2
दुनियामा शिक्षाका क्षेत्रमा उत्कृष्ट प्रगति गर्ने देशका राजनैतिक नेताहरुले शिक्षालाई केन्द्रमा राखेर आफ्ना शैक्षिक दूरदृष्टि जनतासमक्ष राख्न सफल भएका देखिन्छन्।
असल र गुणात्मक शिक्षाले गरीबी निवारण, समानता, बहुसांस्कृतिक समाजको निर्माण, आर्थिक विकास र रोजगारी सिर्जना गर्न अहम् भूमिका खेल्छ भन्ने कुरामा यी देशका राजनैतिक नेताहरुमा दृढ विश्वास र प्रतिवद्दता रहेको पाइन्छ।विश्वमा शैक्षिक उपलव्धि हासिल गर्न सफल हरेक शैक्षिक प्रणालीका आफ्ना दीर्घकालीन शैक्षिक दूरदृष्टि छन्। यी देशहरु आफ्ना शैक्षिक दूरदृष्टिहरुलाई जनताको सक्रिय सहभागितामा विकास गर्न सफल भएका छन्। यसकासाथै आफ्ना शैक्षिक पद्दतिभित्र र पद्दतिबाहिर आफ्ना शैक्षिक दूरदृष्टिहरुलाई सफलतापूर्वक संचार गर्न सफल भएका छन्।सिंगापुरको शैक्षिक दूरदृष्टिले सिंगापुरको विकासोन्मुख अर्थतन्त्रलाई विकसित अर्थतन्त्रका रुपमा स्थापित गर्न ठुलो सहयोग गर्यो। चीनले २०२० सार्वजनिक शिक्षाको दूरदृष्टि विकास गर्न अनलाइनमार्फत लाखौ जनताको राय र पृष्ठपोषण लिएको थियो। चीनको यो सार्वजनिक शिक्षाको दूरदृष्टिले सबैका लागि माध्यमिक शिक्षा र विश्वस्तरीय विश्वविद्यालयको सपना देखेको थियो।क्यानाडाको अल्बर्टा सरकारले २०३० का शिक्षित जनता कस्ता हुनेछन् भनेर सम्पूर्ण नागरिकहरुलाई शैक्षिक दूरदृष्टि विकास गर्न आह्वान नै गरेको छ। फिनल्याण्डको शैक्षिक दूरदृष्टिले आधुनिक समाज र अर्थतन्त्रको विकास भन्ने कुरोलाई समेटेको छ। फिनल्याण्डको सार्वजनिक शिक्षाको दूरदृष्टिले शक्तिशाली देशहरुको नियन्त्रणबाट देश मुक्त रहने कुरो समेत समेटेको छ।
दिगो राजनैतिक नेतृत्व
Advertisement 3
जब आर्थिक, शैक्षिक, सामाजिक र राजनीतिक संकट आउछन् तब एउटा वलियो राजनैतिक नेतृत्वको जन्म हुन्छ भन्ने विश्वास गरिन्छ। देशमा दिगो राजनैतिक नेतृत्व छ भने तीनदेखि पाँच बर्षको अवधिभित्र शिक्षाका क्षेत्रमा महत्वपूर्ण परिवर्तन गर्न सकिदोरहेछ।तर, शिक्षामा आमूल र ठूलो मात्रामा परिवर्तन गर्नु छ भने यो भन्दा लामो समय चाहिन्छ। त्यसैले दिगो शैक्षिक विकासका लागि दीर्घकालीन राजनैतिक नेतृत्वको अभाव मुख्य चुनौती हुदोरहेछ।क्यानाडाको ओन्टारियो सरकारले सबै शिक्षक, अभिभावक, विद्यार्थी र व्यापारिक समुदाय जस्ता सरोकारवालाहरुलाई समेटेर काम गर्ने गर्दछ। यसबाट शिक्षा क्षेत्रमा गरिने जुनसुकै प्रयत्नलाई दिगो बनाउने काम भएको छ। बलियो राजनैतिक नेतृत्व देशमा नभए पनि यो रणनीतिले शैक्षिक सुधारका कार्यहरुलाई दिगो बनाउने काम निरन्तर रुपमा गरिरहेको हुदोरहेछ।
महत्वाकांक्षी शैक्षिक मापदण्ड
शैक्षिक क्षेत्रमा सबैभन्दा राम्रो सुधार गरिरहेका देशहरुले सबै विद्यार्थीका लागि महत्वाकांक्षी, विश्वव्यापी र स्पस्ट शैक्षिक मापदण्ड तय गरेका हुदारहेछन्। यी मापदण्ड राष्ट्रिय वा प्रदेशस्तरमा तय गरिन्छन्। किनकि स्थानियस्तरमा तय गरिएका शैक्षिक मापदण्ड समस्यारहित नहुने भएकाले यस्ता खाले शैक्षिक मापदण्डहरुले देशभरी एकरुपता कायम गर्न सक्दैनन्। यसका कारण विद्यार्थीले हासिल गर्ने समग्र शैक्षिकस्तरमा ह्रास आउने सम्भावना धेरै नै हुदोरहेछ।विश्वमा जुन देशहरुले पहिला स्थानिय वा प्रदेश स्तरमा शैक्षिक मापदण्ड तय गर्थे अहिले आएर यिनीहरु एक आपसमा समन्वय गरेर शैक्षिक मापदण्ड तय गर्न थालेका छन्। यसले गर्दा सबै स्थानिय तह र प्रदेश स्तरमा समान शैक्षिक मापदण्ड अभ्यासमा आउन थालेका छन्। जस्तैस् अस्ट्रेलियाका सबै प्रदेशहरु पहिलो पटक एक ठाउँमा आएर राष्ट्रिय पाठ्यक्रम प्रारुप विकास गर्ने काममा जुटेका छन्। क्यानाडाको अल्बर्टा प्रदेशमा शैक्षिक मापदण्ड प्रदेश सरकारले तय गर्ने चलन छ। यसले गर्दा प्रदेशभरी समान शैक्षिक मापदण्ड लागु गरिएका छन्। यसकासाथै पुरै प्रदेशमा समान पाठ्यक्रम र परीक्षा प्रणाली लागु गरिएका छन्।
समताप्रतिको प्रतिवद्दता
प्रत्येक देशले आफ्नो नीति र कार्यक्रममा समतामूलक शिक्षामा जोड दिन्छन् नै। तर, विश्वका सफल शैक्षिक प्रणालीले भने योजनावद्ध ढंगले शिक्षामा समता प्राप्त गर्ने बाटो नै तय गर्दारहेछन्। उच्च शैक्षिकस्तर भएका देशहरुले विद्यार्थीको पृष्ठभूमिले उनीहरुको शैक्षिक प्राप्तिमा पार्ने असरलाई कम गर्ने प्रयास विभिन्न तरिका अपनाएर निरन्तररुपमा गर्दारहेछन्।उक्त कार्यका लागि समतामा आधारित बजेट, विद्यार्थीबाट उच्च अपेक्षा र प्रत्येक विद्यालयमा गुणस्तरीय शिक्षक र विद्यालय शैक्षिक नेतृत्वको व्यवस्था गर्ने काम हुदोरहेछ। विद्यालयभित्र साक्षरता र गणित विषयमा सहयोगी हुने थुप्रै कार्य गरिदारहेछन्। यसै गरी विद्यालयबाहिर परिवार र समुदायले गर्न सक्ने सहयोगहरु पनि त्यत्तिकै मात्रामा उपलव्ध हुदारहेछन्।यो नीतिले विभिन्न शैक्षिकस्तर भएका विद्यार्थी बीचको सिकाइ अन्तरलाई सम्वोधन गर्न नसके पनि यसले एउटा यस्तो समाजको निर्माण गर्दोरहेछ जसले प्रतिभा जहाँबाट पनि आउनसक्छ भन्ने मान्यता समाजमा स्थापित गर्दोरहेछ।
गुणस्तरीय शिक्षक र विद्यालय शैक्षिक नेतृत्व
शैक्षिक दूरदृष्टि, शैक्षिक मापदण्ड र समताप्रतिको प्रतिवद्धता धेरै महत्वपूर्ण हुन्छन्। तर, यिनीहरुले कक्षाकोठामा शिक्षण-सिकाइलाई प्रभावित गर्न सफल हुन्छन् वा हुदैनन् भन्ने कुरो महत्वपूर्ण हुदोरहेछ। यिनीहरुले कक्षाकोठामा शिक्षण-सिकाइलाई प्रभावित गर्न असफल भए भने परिवर्तन सम्भव नहुदोरहेछ।
परिवर्तन एउटा महान शिक्षकबाट शुरु हुन्छ। शिक्षणको संकटबाट सिकाइको संकट देखा पर्ने भएकाले शिक्षक र विद्यालय प्रधानाध्यापकलाई सधै केन्द्रमा राखेर शैक्षिक सुधारका काम गर्नु पर्ने हुन्छ। हाम्रो शिक्षा पद्दतिले शिक्षकहरुले के जानेका छन् र वास्तविक कक्षाकोठामा उनीहरुले के गर्छन् वा गर्न सक्छन् भन्ने कुराको थोरै मात्र जानकारी राख्न सफल भएका कारण सिकाइसंकट देखा परेको हो। उच्च शैक्षिक नतिजा हासिल गर्ने देशहरु बीच एउटा साझा कुरो के छ भने जुनसुकै शैक्षिक नीति र रणनीति लागु गरे पनि शिक्षा प्रणालीको गुणस्तर गुणस्तरीय शिक्षक र विद्यालय शैक्षिक नेतृत्व बिना सम्भव छैन। शिक्षक र विद्यालय शैक्षिक नेतृत्व नै शैक्षिक प्रणालीका मेरुदण्ड हुन् भन्ने कुरो विर्सिनु हुन्न। त्यसैले सक्षम र योग्य शिक्षक र शैक्षिक नेतृत्वलाई शिक्षण पेशामा आकर्षित कसरी गर्ने, तयार कसरी गर्ने, सहयोग कसरी गर्ने, पेशामा कसरी टिकाइ राख्ने, उनीहरुको वृत्तिविकास कसरी गर्ने र उनीहरुलाई कसरी उत्प्रेरित् गर्ने भन्ने कुरो अति नै महत्वपूर्ण हुदोरहेछ। जब शैक्षिक प्रणालीले विद्यालयलाई बढी अधिकार निक्षेपण गर्छ तब विद्यालयलाई एउटा प्रभावकारी शैक्षिक नेतृत्वको खाँचो पर्छ। नतिजामा ध्यान दिने विद्यालय नेतृत्वले प्रभावकारी शिक्षण-सिकाइका लागि आवश्यक पर्ने वातावरण सिर्जना गर्नु पर्ने हुन्छ। यसका लागि क्यानाडा, अस्ट्रेलिया र सिंगापुरले विद्यालय शैक्षिक नेतृत्वको तालिमका लागि निश्चित फ्रेमवर्क र प्रक्रियाहरु विकास गरेर कार्यान्वयन गरेका छन्।उच्च शैक्षिक नतिजा ल्याउने शैक्षिक प्रणालीले जहिले पनि उच्च गुणस्तरीय शिक्षक भर्ना र भर्ना गरिएकाहरुलाई निरन्तर उत्प्रेरित् गर्ने काम गर्छ भने कम प्रभावकारी शैक्षिक प्रणालीले भर्ना गरिएका कमजोर शिक्षकहरुलाई हटाउने वा सक्षम बनाउने भन्ने कुरोमा बढी समय खर्च गर्दोरहेछ।
शैक्षिक पंक्तिवद्दता र सुसंगतता
हामीले हाक्ने गाडीको अलाइनमेन्ट समय समयमा मिलान गरिएन भने गाडी दुर्घटनामा पर्नसक्छ। शैक्षिक प्रणालीमा नीति र कार्यान्वयनका बीच अलाइनमेन्ट भएन भने केन्द्र, प्रदेश र स्थानीय स्तरमा निर्मित शैक्षिक नीतिहरु र विद्यालयको वास्तविक कक्षाकोठामा के भैरहेको छ भन्ने कुराको बीच बेमेलको स्थिति सिर्जना हुन्छ।
नेपालका हकमा राष्ट्रिय, प्रदेश र स्थानीयस्तरमा बन्ने शैक्षिक नीतिका उद्देश्य र विद्यालयका उद्देश्यहरुबीच तालमेल नमिलेको अवस्ठा विद्यमान छ। त्यसै गरी विद्यालयका उद्देश्य, शिक्षक सेवा आयोगका उद्देश्य र शिक्षा संकायबाट उत्पादित जनशक्ति बीच पनि बेमेलको स्थिति छ। कहिलेकाही त शैक्षिक नीति बन्छन् मात्रै। तर, यी नीतिहरु कार्यान्वयन गर्न विद्यालयलाई कुनै पनि किसिमको सहयोग प्रदान गरिदैन। केन्द्र वा प्रदेशमा निर्मित शैक्षिक मापदण्डले उच्च शैक्षिक नतिजा हासिल गर्न सघाउ पुर्याउछन्। तर, विद्यालयलाई प्रत्यक्षरुपमा स्रोतसाधन उपलव्ध गराउन सकिएन भने यी शैक्षिक मापदण्डहरु कसरी हासिल गर्न सकिएला ? यसकासाथै यी शैक्षिक मापदण्ड विद्यालयको कक्षाकोठामा वास्तविक शैक्षिक मापदण्ड नहुन सक्छन्। यसका लागि हामीले पाठ्यक्रम, शिक्षाशास्त्र संकाय, शैक्षिक प्रशासन, शिक्षक तयारी, शिक्षकको पेशागत विकास र परीक्षा प्रणालीलाई एक अर्कासंग मेल खाने बनाउनुपर्ने हुन्छ।उच्च शैक्षिक नतिजा हासिल गरिरहेका देशमा पाठ्यक्रम, शैक्षिक प्रशासन, शिक्षक भर्ना, शिक्षाशास्त्र संकाय, परीक्षा प्रणाली र शिक्षणका तौरतरिका बीच तालमेल र स्थिरता खोजिदोरहेछ। त्यसैले शैक्षिक पद्दतिभित्र शैक्षिक उपप्रणालीहरुका बीच एलाइन्मेन्ट र कोहेअरेन्स स्थापित गर्ने काम त्यत्तिकै आवश्यक हुदोरहेछ।
शैक्षिक जवाफदेहिता
सबै शैक्षिक प्रणालीहरु टप डाउन र बटम अप शैक्षिक व्यवस्थापनका बीच सन्तुलन कायम राख्न विश्वमा सधै संघर्ष गरिरहेका हुन्छन्। हालसालैका वर्षमा सिंगापुर र फिनल्याण्डले शिक्षाको बढी जिम्मेवारी विद्यालय स्तरमा निक्षेपण गरेका छन्। यी देशमा शिक्षक र विद्यालयको शैक्षिक नेतृत्व एकदम प्रभावकारी छन्। शिक्षक र विद्यालय नेतृत्व इन्नोभेसन गर्न सक्षम छन्। तर, दुनियामा कमजोर नतिजा भएका शैक्षिक प्रणालीहरुले शैक्षिक पद्दतिलाई केन्द्रबाट नै नियन्त्रण गर्न खोज्दा रहेछन्।हरेक शैक्षिक पद्दतिका व्यवस्थापन र उत्तरदायित्वका प्रणाली फरक फरक हुन्छन्। शैक्षिक प्रणालीमा उत्तरदायित्व सुनिश्चित गर्न परीक्षाका नतिजामा मात्रै भर पर्दा उच्च र गुणस्तरीय शैक्षिक नतिजा हासिल गर्ने पद्दति बस्न सक्दैन। यसका लागि एभिडेंसमा आधारित शैक्षिक अभ्यास कार्यान्वयनमा ल्याउन सकियो भने मात्रै शैक्षिक उत्तरदायित्वको पद्दति बसाउन सजिलो हुदोरहेछ।यसै गरी उच्च र गुणस्तरीय शैक्षिक नतिजा हासिल गर्ने शैक्षिक प्रणालीले बहुपक्षीय र पारदर्शी उत्तरदायित्वको पद्दति कार्यान्वयनमा ल्याएका हुदारहेछन्। यस्तो खाले पद्दतिमा विद्यार्थी र विद्यालयका आउटकमहरुलाई महत्व दिने चलन रहेछ। यस्तो पद्दतिले बिस्तारै पेशागत ज्ञान र क्षमतालाई संस्थागत गर्दै जादोरहेछ। यसका फलस्वरूप निरन्तर सुधार र उच्च शैक्षिक अपेक्षाहरु हासिल गर्ने दिशातिर अगाडी बढ्न शैक्षिक प्रणालीलाई एकदम सजिलो हुदोरहेछ।
स्रोतसाधनको प्रभावकारी प्रयोग
धेरै बजेट वा खर्चले उच्च शैक्षिक नतिजा दिन्छ भन्ने कुरोको कुनै प्रत्याभूति हुदैन। उच्च शैक्षिक नतिजा हासिल गर्ने देशहरुले सापेक्षिक रुपमा औसत शैक्षिक लगानी गरेका हुदारहेछन्। तर, यी देशहरुको खर्च गर्ने तौरतरिका भने अति नै मितव्ययी हुदोरहेछ।उच्च शैक्षिक नतिजा हासिल गर्ने देशहरु पैसालाई फरक ढंगले खर्च गर्दा रहेछन्। यी देशहरु प्रशासनिक पद, कन्सल्टेन्सी, कार्यशाला, होटेल वा रिसोर्टमा मिटिंग, सभासम्मेलन, दैनिक भ्रमणभत्ता र छुट्टै विशेष शिक्षामा पैसा खर्च नगर्दा रहेछन्।
उच्च शैक्षिक नतिजा हासिल गर्ने देशहरु सबै विद्यालयलाई बराबरको बजेट दिदारहेछन्। यसकासाथै स्रोतको बढी आवश्यकता भएका विद्यार्थीलाई विशेष ध्यान दिइदोरहेछ। कक्षाको साइज र शिक्षकको पेशागत विकासलाई पनि फरक ढंगले हेर्ने गर्दा रहेछन्।
विद्यार्थी उत्प्रेरणा र संलग्नता
प्रत्येक देशमा विद्यार्थीको उत्प्रेरणाको स्तर फरक फरक हुन्छ नै। तर, उच्च शैक्षिक नतिजा हासिल गर्ने देशहरुले आफ्नो देशका विद्यार्थीले आफ्नो सिकाइ र पढाइमा दिने समयमा विशेष ध्यान दिदारहेछन्।उच्च शैक्षिक नतिजा हासिल गर्ने देशहरुले आफ्ना विद्यार्थीहरुलाई कडा मेहनत गराउन आन्तरिक र बाह्य दुवै खाले प्रोत्साहनको प्रयोग गर्ने गर्दारहेछन्।एसियन देशहरुमा क्षमता होइन, प्रयत्नलाइ सफलताको निर्धारकको रुपमा लिइन्छ। परिवारले शिक्षालाई ठुलो महत्व दिन्छ। शिक्षालाई सामाजिक मोबिलिटी र परीक्षा प्रणालीतिर डोर्याउने बाटोका रुपमा लिइन्छ। यसले गर्दा विद्यार्थी उत्प्रेरित् हुन्छन्।फिनिश बिद्यार्थीहरु अलि फरक ढंगले कक्षाकोठामा उत्प्रेरित् र संलग्न हुने गर्दछन्। फिनिश शिक्षा डिस्कभरी र सेल्फ निर्देसित सिकाइको आइडियामा अडेको छ। शिक्षकहरु यस्तो खाले सिकाइका लागि प्रशिक्षित छन्।क्यानाडाको ओन्टारियोमा विद्यार्थी विशेषलाई जोड दिइन्छ। विद्यार्थी सक्सेस अफिसरले ग्र्याजुएसनका लागि विद्यालय शिक्षामा विभिन्न पाथवेज सिर्जना गर्दछन्। यो पनि विद्यार्थीलाई इन्गेज र उत्प्रेरित् गर्ने एउटा राम्रो तरिका हो।
अन्तमा,
सार्वजनिक शिक्षाको दूरदृष्टि, उच्च शैक्षिक मापदण्ड, समताप्रतिको प्रतिवद्धता, गुणस्तरीय शिक्षक र विद्यालय प्रधानाध्यापक, दिगो राजनैतिक नेतृत्व, विद्यार्थी उत्प्रेरणा र संलग्नता र स्रोतको प्रभावकारी प्रयोग सफल शैक्षिक प्रणालीका महत्वपूर्ण पक्ष हुन्।एक्काइसौ शताव्दीमा शैक्षिक प्रविधि यी सबै शैक्षिक पक्षहरुको आधारस्तम्भ भएकाले शैक्षिक प्रविधिलाई यी सबै शैक्षिक पक्षमा समाहित गर्नु अहिलेको अर्को महत्वपूर्ण काम हो।नेपालका कक्षाकोठामा सिकाइसंकटको एउटा मुख्य कारण कसले सिकिरहेको छ र कसले सिकिरहेको छैन भन्ने जानकारी नै सम्बन्धित निकायले ट्रयाक गर्न नसक्नु हो। यी सबै शैक्षिक पक्षमा मंसिर पछि बन्ने सरकारले समान रुपमा ध्यान दिएर काम गर्ने हो भने गुणस्तरीय शिक्षाको उद्देश्य हासिल गर्न सकिन्छ। किनकि यी सबै शैक्षिक पक्षका बीच बेमेलको स्थिति रह्यो भने उच्च शैक्षिक उपलव्धि हासिल गर्न सकिदैन।
नयाँ बन्ने सरकारले शैक्षिक अनुसन्धानबाट आएका एभिडेंसका आधारमा शैक्षिक उन्नयनमा ध्यान दिन सक्यो भने देशको शिक्षा पद्दतिले काँचुली फेर्न सक्छ।
(मदन नाथ क्यानाडाको अल्बर्टा प्रदेश सरकारको वालवालिका मन्त्रालय अन्तर्गत निजामती कर्मचारीको रुपमा कार्यरत् छन्। उहाँले क्यानाडाको क्याल्गेरी विश्वविद्यालयबाट अन्तररास्ट्रिय र सामुदायिक विकासमा स्नाकोत्तर गरेका छन्)