परराष्ट्रभित्रका पत्रपत्र
०३४ सालमा लोकसेवा भिडेर प्रथम भएका व्यक्ति हुन् डा. मदनकुमार भट्टराई । जीवनका ऊर्जाशील ४० वर्ष परराष्ट्र सेवामै बिताए । जागिरे जीवनको क्रममा नयाँ दिल्लीमा उपनियोग प्रमुख, जर्मनी र जापानका लागि आवासीय राजदूत, परराष्ट्र मन्त्रालयका प्रवक्ता, परराष्ट्रसचिव रहे र अवकाशपछिको दुई वर्ष राष्ट्रपतिको परराष्ट्र मामिला र कूटनीतिक विज्ञ भएर काम गरे ।
त्यहाँ रहँदा विकृति विसंगतिहरूका अनेक बान्की देखे । सुधारका यत्न गरे । केही सफल भए, केही असफल । निवृत्त भएपछि परराष्ट्र सेवाभित्रै अध्ययन अनुसन्धान गरी कलम चलाए र कृति जन्माए ‘परराष्ट्रका प्रशासक’ ।
Advertisement 1
जागिरे जीवनमा रहँदा देखे भोगेको अनुभवलाई १० अध्यायमा बाँडेर लिपिबद्ध गर्दै जन्माइएको कृतिभित्र परराष्ट्र सेवाका २४ प्रशासकले सम्पादन गरेका कामको इतिवृत्तान्त र ती प्रशासकको पारिवारिक अवस्थाबारे सूक्ष्म चित्रण गरिएको छ । कृतिभित्र नेपालको परराष्ट्र प्रशासन, हालसम्मका परराष्ट्रसचिव, तिनका पृष्ठभूमि, नियुक्ति प्रक्रिया, तिनले गरेका काम, निर्वाह गरेका भूमिका र सचिव भइसकेपछि पनि उनीहरूबाट सम्पादन भएका कार्यलाई गहन ढंगले केलाइएको छ । यस्तै छिमेकी र अन्य राष्ट्रका विषयमा समेत पुस्तकले केही उजागरको प्रयास गरेको छ । भविष्यमा सुधार गर्नुपर्ने विषयलाई समेत छोइएको छ । प्रशासनिक इतिहास खासगरी जान्न, बुझ्न चाहने पाठकका लागि कृति निकै श्रेयष्कर हुनेछ । भट्टराईको यो दोस्रो कृति हो । यसअघि ‘परराष्ट्रका पात्र’ बजारमा ल्याइसकेका छन् ।