नेपाल प्रहरीका कर्मचारीले सहुलियत ब्याजमा कर्जा पाउने

काठमाडौं। नेपाल प्रहरीका बहालवाला तथा अवकाशप्राप्त कर्मचारीले राष्ट्रिय वाणिज्य बैंकबाट सहुलियत ब्याजदरमा विभिन्न कर्जा सुविधा पाउने भएका छन्। नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच तलबी बचत खाता सञ्चालन, पेन्सन वितरण तथा कर्जा प्रवाहसम्बन्धी समझदारी थप ५ वर्षका लागि नवीकरण भएसँगै यस्तो सुविधा निरन्तर हुने भएको हो।
Advertisement 1
नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले समझदारीपत्रमा हस्ताक्षर गरी आदानप्रदान गरेका छन्।
सम्झौताअनुसार तलबी बचत खाता सञ्चालन, बिना धितो पेशाकर्मी सरल कर्जा तथा अवकाशप्राप्त कर्मचारीका आश्रित परिवारसमेतका लागि पेन्सन वितरण र कर्जा लगानीसम्बन्धी सेवा थप ५ वर्षका लागि नवीकरण गरिएको छ।
Advertisement 2
सम्झौताअनुसार पेशाकर्मी सरल कर्जा १५ लाख रुपैयाँसम्म र पेन्सनर कर्जा ५ लाख रुपैयाँसम्म उपलब्ध हुनेछ। त्यस्तै, बहालवाला प्रहरी कर्मचारी तथा अवकाश, अमर÷शहिद र अशक्त प्रहरी कर्मचारीले राष्ट्रिय वाणिज्य बैंकमा पेन्सन खाता रहेको अवस्थामा ५० लाख रुपैयाँसम्म घर कर्जा लिन सक्नेछन्।
घर कर्जाको अवधि अधिकतम २० वर्षसम्म रहनेछ। त्यस्तै, सवारी साधन खरिदका लागि ७ देखि १० वर्षसम्मको गाडी कर्जा उपलब्ध हुने व्यवस्था गरिएको छ। कर्जा सुविधा नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा बैंकको उपभोक्ता कर्जा निर्देशिकाको अधीनमा रहेर उपलब्ध गराइनेछ।
Advertisement 3
सम्झौतामा घर कर्जामा १ प्रतिशत, गाडी कर्जामा १.७५ प्रतिशत र शैक्षिक कर्जामा १ प्रतिशत प्रिमियम ब्याजदर कायम हुने उल्लेख छ।
यस सम्झौताले नेपाल प्रहरीका बहालवाला तथा अवकाशप्राप्त कर्मचारी र उनीहरूका आश्रित परिवारलाई बैंकिङ तथा कर्जा सेवा लिन सहज हुने अपेक्षा गरिएको छ।








