विरोधीलाई पन्छाएर हुन गै रहेको निर्वाचनले दिने परिणाम

यही मंसीर ४ गते नेपालमा प्रदेश र संघीय स्तरमा निर्वाचन हुदैछ। यसको निम्ति उम्मेद्वारी दिने काम सम्पन्न हुदैछ। यो चुनावमा तीन पक्ष बीच प्रतिस्पर्धा हुदैछ, त्यो हो सत्तापक्ष बीचको गठवन्धन, प्रतिपक्ष बीचको गठवन्धन र स्वतन्त्र उम्मेद्वार बीच गरेर हुन गै रहेको त्रि(पक्षीय भिडन्त।
यसरी हुन गै रहेको चुनावमा निर्वाचन क्षेत्रमा खटिने र समानुपातिकको सूचिमा परेका उम्मेद्वारहरू हेर्दा ती उम्मेद्वारहरू मध्ये अधिकांश उम्मेद्वारहरू मतदाताको आकर्षणमा पर्न सकेको पाईदैन। जसले पार्टीका अध्यक्षर सभापतिलाई रिझाउन सकेका छन् उनै मात्र सो सूचिमा परेको पाईन्छ। पार्टीको हितमा बोल्ने, नेत्तृत्त्वले खेलेको गलत भूमिकाको आलोचना गर्ने ब्यक्तिहरू सो सूचिमा समेटिएको पाईएन।
यस्तो प्रवृत्तिले के देखाउछ भने पार्टीमा आन्तरिक लोकतन्त्र भएन, अधिनायकवादी प्रवृत्ति हावी भयो भन्ने सन्देश यो प्रवृत्तिले देखायो। यसले के पनि देखायो भने नेताले संसदमा आफ्नो भजनमण्डली खोजे।
यसले राजनीति के का लागि र कसका लागि भन्ने प्रश्नको उत्तर सही तवरले दिन सक्दैन। यस किसिमको प्रवृत्ति आज मात्र हैन हिजो अस्ति पनि थियो र अझै भनौ भने नेपालको राजनीतिमा पन्चायतीकाल र त्यस पछिको प्रजातान्त्रिक कालमा समेत थियो र हाल गणतन्त्रमा त छताछुल्ल भएर देखियो।
Advertisement 1
जनताको ब्यापक सहभागितामा विभिन्न समयमा भएका राजनीतिक आन्दोलनको माग के थियो भने राजनीति देश र जनताको लागि हुनु पर्छ भन्ने थियो। जनताले शुसासनको अपेक्षा गरेका थिए र आन्दोलनको नेत्तृत्त्व गर्ने दल र तिनका नेताले पनि जनतालाई सुशासनको प्रत्याभूति दिलाउने आश्वासन दिएका थिए तर जव आन्दोलन सफल भयो र नेताहरू सत्तामा गए अनि जनतालाई दिएको आश्वासन विर्सेर सबै आत्मकेन्द्रित हुन पुगे नेताहरू। यो प्रवृत्ति यस पटक हुन गै रहेको चुनावमा पनि स्पष्ट देखा पर्दैछ।
हालै सम्पन्न स्थानीय तहको चुनावमा स्थानीय तहबाटै गरिनु पर्ने उम्मेद्वारीको छनौट केन्द्रबाट गरिदा मतदाता असन्तुष्ट हुन पुगे र दल र यिनीहरूले दिएको उम्मेद्वारलाई पन्छाएर स्वतन्त्र उम्मेद्वारलाई छनौट गरेर मतदाताले दल र यिनका नेतालाई सजग गराएका हुन् तर यस पटक पनि दल र नेताले उम्मेद्वारहरूको छनौटमा जन चाहनालाई वेवास्ता गर्दै आफ्नो पकेटको लिष्टलाई आधार बनाएको देखियो।
अर्को दृश्य यस्तो देखियो कि पार्टीमा नयां ब्यक्ति भित्र्याउदा सबैलाई चुनावमा टिकट दिने भनेर आश्वासन दिदा पार्टीको स्थान आफ्ना ईमान्दार र जनमैत्री कार्यकर्तालाई नदिएर नव आगन्तुकलाई दिनु पर्ने वाध्यता पर्यो। यसबाट पनि पार्टीको लोकप्रीयता घट्ने परिस्थिति बन्यो।
Advertisement 2
राजनीतिक दल आदर्श र सिद्धान्तबाट निर्देशित हुन्छन् र हुनु पर्ने पनि त्यही हो तर हाल पार्टीहरूमा देखिएको अलोकप्रीयताले एक्ला एक्लै चुनावमा जान नसकेर गठवन्धन बनाएर निर्वाचनमा जादैछन् जस्ले पार्टीको सिद्धान्त र आदर्श ओझेलमा परेको पाईयो। बहुदलीय प्रजातन्त्रमा जनताले दल रोज्न पाउने स्वतन्त्रतालाई समेत यो गठवन्धनले सीमित बनायो।
फेरि गठवन्धनका उम्मेद्वारहरूलाई समेत स्थान दिनु पर्दा आफ्नो दल भित्र रहेका ईमान्दार र निष्ठावान् कार्यकर्ताहरू निर्वाचनमा जान वन्चित हुनु पर्ने परिस्थिति बन्यो।
यी र यस्ता कारणले गर्दा जनतामा भएको बहुदलीय अवधारणा क्रमशः खुम्चिने स्थिति बन्यो जुन बहुदलीय प्रजातन्त्रमा मेल खाने विषय हैन। यसले त संसदीय प्रजातन्त्रलाई विस्थापन गर्न मद्दत पुग्ने देखियो। यसको अर्थ मुलुकमा एक दलीय वा निर्दलीय राजनीति वा अधिनायकवादलाई मलजल गर्ने परिस्थिति बन्ने देखियो।
यस पटक भै रहेको चुनावी गठवन्धन यसको मर्यादा र धर्म विरूद्ध भै रहेको पाईन्छ। आफूले वर्ग शत्रु ठानेका र द्वन्दमा टाउकोको मूल्य तोकिने र तोक्ने बीच, आफूलाई उत्तरी र दक्षिणी भन्ने बीच एकथरी गठवन्धन छ भने अर्का थरी आफूलाई गणतन्त्रवादी भन्ने र गणतन्त्र विरोधी भन्ने बीचको गठवन्धन छ। विचार, सिद्धान्त र आदर्श बीच जमीन आसमानको फरक हुने पार्टी बीचको गठवन्धनलाई प्राकृतिक गठवन्धन भन्न सकिदैन र यस्तो अप्राकृतिक गठवन्धनले दिने परिणाम पनि पक्कै सकारात्मक हुने छैन। यसले अंकगणितीय नतिजा त देला तर यसले भावना र आदर्शलाई मापन गर्न सक्ने छैन।
Advertisement 3
यस चुनावी प्रतिस्पर्धामा प्रस्तुत गरिएका उम्मेद्वारहरू हेर्दा नेताको जी हजुरी गर्नेहरूको बाहुल्यता देखियो। यो सूचीमा ईमान्दार, निष्ठावान् र जनताको मन मस्तिष्कमा भएकाहरूलाई पाखा पारेको देखियो। यी आउट डेटेड नेता भनाउदाले मतदाताको विवेकलाई नजर अन्दाज गरेको देखियो। नेपाली कांग्रेसले लौह पुरूष मानेका नेता स्व। गणेशमान सिंहले भनेको शब्दलाई सापट लिएर भन्दा यिनीहरूले मतदातालाई अझै पनि भेडा मानेको देखियो। तर आजका मतदाता एक एक चेतनशील छन्, कसैले अनावश्यक प्रभावमा पार्न सक्दैनन् भन्ने सोच तर्फ यिनीहरूको चेत खुलेको पाईएन, हामीले निर्णय गरे पछि मतदाताले त्यसमै स्वस्तिक छाप ठोक्छन् भन्ने सोच यिनीहरूमा अझै छ जुन सोच शत प्रतिशत गलत सावित गरिदिने छन् मतदाताले। यस्तो परिस्थितिमा मतदाताहरूको आकर्षण स्वतन्त्र र वागी उम्मेद्वार उपर हुनेछ। त्यसैले हालको टिकट बितरण प्रणालीले देशलाई दल प्रतिको वितृष्णा तर्फ धकेल्दै छ भन्न असजिलो मान्न पर्दैन।