कृषि भित्र लुकेको राष्ट्रियता

अहिले देशभर चुनावको माहोल अगाडि बढिरहेको छ । दलहरु पनि आ–आफ्ना उम्मेदवारहरुलाई प्रतिस्पर्धाको मैदानमा उताररिरहेका छन् । स्वतन्त्रहरु पनि राष्ट्र र राष्ट्रियताको संरक्षण र विकास निर्माणका लागि काम गर्छौं भनेर मैदानमा उत्रिएका छन् । चुनाव त हामीले धेरैपटक गरिसकेका छौं । तर चुनावले हाम्रो देशको मुहार फेर्न सकेको भने छैन । न राष्ट्रियताको नै जगेर्ना होला जस्तो छ ।
Advertisement 1
राष्ट्रियताको परिभाषा धेरै फराकिलो छ । सामान्य रुपमा भन्दा राष्ट्रियता संरक्षण भनेको देशको भूमि, भूगोल, प्राकृतिक धरोहर, मौलिकता, सामाजिक पहिचान, धर्म, संस्कृति, परम्परा, मूल्यमान्यता र इतिहासको संरक्षण भन्ने बुझिएको पाइन्छ । तर यसको अलावा राष्ट्रियताको परिभाषाभित्र हाम्रो कृषि, उद्योग, कलकारखाना, हाम्रो जनशक्ति, हाम्रो मौलिक प्रविधि, हाम्रो न्याय प्रणाली, कला संस्कृति आदि पनि पर्दछन् ।
यो बुझेका हाम्रा पुर्खाहरुले मेहनतका साथ तनमन लगाएर यी कुराहरुको संरक्षण गर्दै आएका थिए तर आजकल हाम्रै कारणले यी सबै संकटमा परिरहेका छन् । हाम्रा उद्योग कलकारखानाहरुले हामीलाई चाहिने धेरै परिमाणमा लत्ताकपडा, चिनी, जुटका सामग्रीहरु, जुत्ता, इँटा आदि उत्पादन गरेर आत्मनिर्भर बनाउनेतर्फ उन्मुख थिए । बहुदल ल्याएर के–के न गर्छौ भन्यौं तर यी सबै उद्योगहरु ध्वस्त बनायौं । युवाहरुलाई बेरोजगार बनाएर विदेशिन बाध्य बनायौं । कृषिमा आत्मनिर्भर थियौं । दाल, चामल, तेल विदेश पनि निर्यात गर्दथ्यौं । अहिले चामल दाल, तेल पनि विदेशकै खान्छौं । बर्षेनी करिब ४७ अर्बको चामल, २० अर्बको मकै, २४ अर्बको फलफूल, ३६ अर्बको तरकारी, ३ अर्बको दुधजन्य बस्तु आयात गर्दछौं ।
चिकित्साको क्षेत्रमा पनि हामीकहाँ हाम्रो आफ्नै उपचार पद्धति थियो । परम्परागत वैद्य परम्परा थियो, वनौषधी तथा जडीबुटी उपचार पद्धति थियो तर सबै ध्वस्त भयो । अहिले उपचारको क्षेत्रमा पूर्णरुपले अरुकै भर परिरहेका छौं । हाम्रो आफ्नै शिक्षा प्रणालीको विकास भएको थियो । गुरु शिष्य सँगै बसेर विद्या आर्जन गर्ने गुरुकुलीय प्रणाली थियो । त्यो त धेरै पहिले नै ध्वस्त भयो । वेद लेख्ने वेदव्यास, रामायण लेख्ने वाल्मीकि, व्याकरणका विद्वान पाणिनी आदि यहीँ जम्मेर मौलिक साहित्यको विकास गरेका थिए । त्यो संस्कृत साहित्य केही बचेकोलाई पनि कसैको इसारामा बलपूर्वक ध्वस्त बनाइयो ।
Advertisement 2
हाम्रा सबै जातजातिका आ–आफ्नै भाषा, संस्कृति र परम्पराहरु थिए । अहिले सबै हराउँदै गएका छन् । हामी सबैका भाषा, लिपी, कला, संस्कृति र परम्पराहरुलाई हामी सबैले समान मान्यता दिँदै तिनीहरुको संरक्षण र संवर्धनमा आपसमा सहयोग गर्दै आएकोमा अहिले हामीलाई अलगअलग हौ, तिम्रा धर्म–संस्कृति पृथक हुन् भनी सिकाउन थालिएको छ । शदियौंदेखि एक ढिक्का भएर बसेको हाम्रो समाजलाई धर्म र जातजातिको नाममा विभाजन गर्न खोजिएको छ ।
हाम्रो एकता, आपसी भाइचारा, सौहार्दता, धर्म र संस्कृतिलाई कमजोर पार्न केही विदेशी शक्तिहरु लागेका छन् । तर पनि केही गर्न भने सकेका छैनौं । हामीहरुलाई नै उनीहरुको एजेन्ट बनाएर सूक्ष्म रुपमा काम भइरहेको छ । धर्म निरपेक्षता नेपालीको माग नै थिएन तर संविधान लेखनको बेला घुसाइहाले । हामी नेपाली हेरेको हे¥यै भयौं । पटक–पटक नागरिकताको विषय उठाएर नेपालीको बीचमा झगडा गराइदिने र गैरनेपालीका लागि नागरिकता दिने अभीष्ट पूरा गरिँदै छ । नेपाली युवाहरुलाई विदेश पठाई गैरनेपालीले देश भर्ने योजना सफल गराउन धेरै खेल हुँदैछन् । हाम्रो आफ्नो मौलिक कला संस्कृति त करिब–करिब समाप्तिको अवस्थामा छ । हाम्रो सभ्य संस्कृतिको सट्टामा नांगो छाडा पश्चिमा संस्कृति स्थापित भइसकेको छ । सामरिक हिसाबले पनि हामीलाई कमजोर बनाउने खेल खेलिँदै छ ।
Advertisement 3
राजनीतिक पार्टी, पुलिस प्रशासन, कर्मचारीतन्त्र, कुटनीतिक क्षेत्र, राजनीति सबै बाह्य शक्तिको प्रभावमा परेको छ । अब सेनालाई पनि यो रोगबाट संक्रमण गराउने प्रयास भइरहेको छ । यो सारा कामको लागि केही वर्षदेखि हाम्रै सिंहदरबार, परराष्ट्र मन्त्रालय, रक्षा र गृह मन्त्रालयबाटै कमजोरी हुँदै आइरहेको छ । यो आम नेपाली नागरिकले बुझ्नु पर्ने भएको छ ।
कुनै बेला ‘न्याय हराए गोर्खा जानू’ भन्ने हाम्रो मूल्यमा अहिले आँच आएको छ । तस्कर, गुण्डाहरु, भ्रष्टाचारीहरु सानकासाथ रमेका छन् । पीडितहरु न्याय नपाएर छटपटाउनु परेको छ । न्यायालय नै दलीय राजनीतिले थला परेको छ । युवा जनशक्ति र विद्वान वर्ग देशबाट पलायन भएको छ । नारीहरु विदेशमा बेचिन्छन् र गोता खाइरहेका हुन्छन् । देश निर्माणमा लगाउनुपर्ने युवा जनशक्तिलाई विदेश पठाउन विदेशीहरुसँग सम्झौता गर्न पाएकोमा गर्व गर्ने हाम्रा नेताहरु छन् ।
आजभन्दा अढाइ सय वर्ष पहिले पृथ्वीनारायण शाहले दिएका दिव्य उपदेशको मात्र अनुसरण गरेको भएपनि स्थिति जटिल हुने थिएन । विदेश गएर सीप सिकेर आउनु, आफ्नो देशको गुह्य अरुलाई नबताउनु । खेती योग्य जमीनमा घर नबनाउनु । उद्यम गर्न चाहनेलाई तालिम दिनु र सहयोग गर्नु आदि सन्देश अहिले पनि उति नै सान्दर्भिक छन् । तर हामीले हाम्रा मलिला फाँटहरुलाई कंक्रिटको जंगलमा रुपान्तरण ग¥यौं । उनको उपदेश अनुसरण गरेर हाम्रा दुई छिमेकीले त आर्थिक फड्को मारिसके हामी चाहिँ उनलाई सामन्त भनेर उनको शालिक ढाल्न लागिप¥यौं । माओ र गान्धीले पृथ्वीनारायण शाहले दिएका दिव्य उपदेशको पालना गरेर क्रान्ति गरे । तर हामी तिनैलाई अपमानित गरिरहेका छौं ।
प्रथम विश्वयुद्ध (१९१४ देखि १९१८ सम्म) र दोस्रो विश्वयुद्ध (१९३९ देखि १९४४ सम्म) देशको लागि लड्ने सेना ब्रिटिश सेनाको साथमा लडाइँ लड्न बाध्य बन्यो । ब्रिटिश सेनाबाट नेपाली युवाहरुलाई फिर्ता बोलाउने भनेर आन्दोलन गर्नेहरु अहिले लाखौं युवाहरु विदेश जान बाध्य हुँदा पनि मौन बसेका छन् । उल्टो मानव तस्करलाई नै राजदूत बनाएर सम्मान गर्दछन् ।
हामी अभिभावकहरु आफ्ना छोराछोरी विदेश जान सजिलै सकुन् भन्नको लागि नेपाली माध्यमका विद्यालयहरुबाट अंग्रेजी माध्यमका विद्यालयहरुमा सार्ने गर्दछौं । विदेशमा रगत पसिना बगाएर के राष्ट्रियताको संरक्षण हुन सक्ला ? के अब हामीले सोच्नु पर्ने हैन ? न हामी जनता सोच्ने, न हाम्रा नेता सोच्ने ? बात मात्र राष्ट्रियताका गरेर हुन्छ ? व्यवहारमा सिन्को नभाँच्ने अनि फोस्रा नाराले राष्ट्र र राष्ट्रियता जोगाउन सकिन्छ ?
अमेरिकाले विकास त्यसै गरेको हैन । संसारका विद्वानहरुलाई आकर्षण गर्न सुविधाहरु दिने नीति लिएको छ । विभिन्न स्थानबाट आएका विद्वान र युवाशक्तिको मेहनतले नै त्यहाँको विकास भएको हो । तर हामी हाम्रा युवाहरु र विद्वानहरुलाई स्वदेशमा नै राख्ने नीति बनाउनको सट्टा अरुकोमा नोकर बनाउन पठाएकोमा गर्व गर्दछौं । रेमिटेन्सबाट देश चलाउने सपना देख्नेहरुबाट राष्ट्रियताको कसरी जगेर्ना हुन्छ ?
राष्ट्रियताको सुदृढताको लागि त आफ्नो उत्पादन प्रणालीलाई विकास गरी उत्पादनमुखी नीति लिँदै निर्यात प्रवर्धन र आयात विस्थापन गर्नु पर्दछ । तर हाम्रा भएका उद्योगहरुलाई पनि हामी ध्वस्त पार्छांै, हाम्रा उर्वर भूमिहरु बाँझै राखेर अरु देशका मरुभूमिमा भेंडा चराउन देशको होनहार जनशक्तिलाई पठाउने गर्दछौं । कुनै कुरामा आत्मनिर्भर छैनौं । सबै किनेर खाने र किनेर लगाउने गर्दछौं । यसरी के राष्ट्रियताको विकास हुन सक्छ र ?
देशको अर्थतन्त्रलाई सुदृढ र आत्मनिर्भर नबनाई देश समृद्ध हुन सक्दैन । देशमा नै रोजगारीका अवसर प्रदान गरी युवा जनशक्ति र विद्वानहरुलाई स्वदेशमा नै राख्ने र यहाँ नै सेवा गर्ने वातावरण सृजना हुँदैन भने देशको विकास हुन सक्दैन । देशको आर्थिक सम्वृद्धिविना हाम्रो राष्ट्रियताको संरक्षण हुन सक्दैन । हाम्रो खोक्रो राष्ट्रवादले मात्र केही गर्दैन । हामीले के गर्दा हाम्रो राष्ट्रियता कमजोर हुँदैन, त्यसको लागि अहिल्यैदेखि व्यवहारमा देखाउनु पर्दछ । हामीले बोल्दा, खाँदा, लगाउँदा, कतै जाँदा, पढाइ गर्दा, कला संस्कृति र धर्मको अनुसरण गर्दा, सीप र शिक्षा आर्जन गर्दा, व्यवसाय र रोजगारीका अवसर अपनाउँदा जतिबेला पनि, जे निर्णय गर्दा पनि हामीले राष्ट्रियताको नै ख्याल गरौं । नत्र हामी नेपालीको मौलिकता र पहिचान नै हराउने छ । हामी अरुका खेताला, गोठाला र दास मात्र हुने छौं ।
जबसम्म देश आर्थिक रुपले सम्पन्न हुँदैन, त्यो देशको राष्ट्रियता धरमराइरहन्छ । हाम्रो आर्थिक विकासको लागि कृषि नै प्रमुख आधार हो । खेतीयोग्य जमिनको संरक्षण गर्ने, माटोको उत्पादकत्वमा सुधार ल्याउन हाम्रो परम्परागत प्रविधिको उपयोग गर्ने, युवाहरुलाई खेतीमा आकर्षण गर्ने र आधुनिकीकरण गर्दै उत्पादन वृद्धि गर्न सके कृषि उत्पादनमा आत्मनिर्भर हुन सकिन्थ्यो र अन्तमा देशले आर्थिक समृद्धि हासिल हुन सक्थ्यो । आर्थिक विपन्नता, भोको पेट र बेरोजगारीको अवस्थामा राष्ट्रियताको खोक्रो नाराले केही गर्दैन । आर्थिक विकासको लागि हामीले अरु उद्योग सञ्चालन गरेर विश्व बजारमा प्रतिस्पर्धा गर्न त्यति सक्दैनौं । कृषि त हाम्रो मौलिक पेशा हो । यो क्षेत्रको लागि हामीलाई आवश्यक माटो, विभिन्न बालीको लागि मिल्ने विभिन्न खालको हावापानी पनि छ र उत्पादित बस्तु हाम्रो आफ्नो उपभोगको लागि र बाहिर पनि पाउन सकिने देखिन्छ । अनि कृषिजन्य उद्योग सञ्चालनको लागि कच्चा पदार्थको रुपमा पनि प्रयोग हुन सक्दछ । कम्तीमा हामीलाई आवश्यक पर्ने चामल, दाल, तेल र चिनी मात्र भएपनि पूर्ति हुन सकेको खण्डमा धेरै राहत हुने थियो । अहिलेको अवस्थामा खाद्यान्न आयातमा मात्रै अरबौं अरब रकम खर्च भइरहेको छ, त्यो बचत हुने थियो । यसरी हेर्दा कृषिभित्र पनि राष्ट्रियता लुकेको छ । यसैले यस क्षेत्रको विकास गरेर पनि हाम्रो राष्ट्रियताको जगेर्ना हुन सक्दछ । हाम्रा नेताहरुको अदूरदर्शिताले गर्दा हाम्रो कृषि क्षेत्र डुबेको छ । यसलाई जोगाउन यो निर्वाचनमा उपयुक्त पात्रहरुको चयन गर्नु आवश्यक छ ।