मुलुकको लागि स्वतन्त्र र निष्पक्ष राज्य संयन्त्रको भूमिका
राज्यका संयन्त्रहरू देशका अस्थीपन्जर हुन्। यी संयन्त्र जती बलिया हुन्छन् त्यति नै राज्य बलियो हुन्छ। राज्यका संयन्त्र भन्नाले संवैधानिक निकायहरूलाई मानिन्छ।
Advertisement 1
उदाहरणका रूपमा सु-शासनका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोग, आर्थिक पारदर्शिताका लागि महालेखा परीक्षकको कार्यालय, न्याय सम्वन्धी सेवाका लागि न्यायपालिका आदि लाई लिन सकिन्छ। सरकार दलीय स्वार्थमा परेको हुन सक्छ, त्यसैले यसले अन्याय पनि गरेको हुन सक्छ, यसले कहिलेकाहीं कानूनको दुरूपयोग पनि गर्न सक्छ। यस्तो परिस्थितिमा न्यायीक निकायको खोजी हुन्छ। जनमतबाट निर्माण हुने संसदले सरकार बनाउने हुदा सरकार परिवर्तन भै रहन्छ। ब्यबस्थापिका संसद पनि परिवर्तन हुन सक्छ। त्यसैले राज्य सन्चालन गर्न स्थायी संयन्त्रहरू चाहिन्छन्।
Advertisement 2
स्थायी संयन्त्रले चलाएको राज्य स्थिर र बलियो हुन्छ भने सरकार प्रमुख ,जो तानाशाही पनि हुन सक्छन् , ले चलाएको राज्य अस्थीर र कमजोर हुन्छ। राज्यका संयन्त्रहरूलाई सरकारले आफ्नो नियन्त्रणमा राखेर हुकुमी शासन चलाउन खोज्छन् जुन एउटा अधिनायकवादको रूप हो। विगतमा ओली सरकारले राज्यको सूचना संयन्त्र, सम्पति शुद्धीकरण आयोग समेतलाई आफ्नो मातहत ल्यायो र यसको विरोध तत्कालीन प्रतिपक्ष र नागरिक समाजले गरे तर अहिले उनै तत्कालीन प्रतिपक्ष समेतको सरकार हुदा पनि त्यसलाई सच्याउन नखोजिनु बिडम्बना नै मान्नु पर्छ। राज्यका स्थायी संयन्त्रको रूपमा रहेका लोक सेवा आयोग, निर्वाचन आयोग, अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा जुन पार्टीको सरकार बन्छ उसैका कार्यकर्ता भरिने गरेको देखिन्छ। त्यसै गरी राजनीतिक विचारमा विभक्त कानून ब्यबसायीलाई मनोनयन गरेर विगतमा न्यायपालिकामा न्याय मूर्तिको रूपमा राख्ने काम भयो तर उनीहरू सही रूपमा न्याय मूर्ति हुन सकेनन्। यिनीहरू न्यायमूर्तिको शपथ खाए लगत्तै आफ्नो आस्थाको पार्टी कार्यालयमा हाजिरी जनाउन गएको विषय त्यतिखेरै चर्चामा आएको थियो।
Advertisement 3
यसरी हाम्रो मुलुकमा राज्यका संयन्त्रहरू उपर राजनीतिक छांया परेको पाईन्छ। बेलायत साम्राज्य आफू बहिर्गमन हुदा आफ्नो प्रभाव रहेका मुलुकमा राज्य संयन्त्र बलियो राखी दिएको र पछि बनेका सरकारले त्यसलाई कायमै राखी रहेकोले त्यस्ता मुलुकमा राज्यका संयन्त्र उपर राजनीतिको छांया परेको पाईदैन। त्यसै गरी राज्यका अंगहरू बलिया भएको मुलुक मध्ये संयुक्त राज्य अमेरिकामा हालै भएको घटनालाई उदाहरणको रूपमा लिन सकिन्छ- यहांको Federal Bureau Of Investigation (FBI) ले निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्फको घर खातलासी गरेर राज्यका महत्वपूर्ण कागजात नियन्त्रणमा लिएर उनी उपर अनुसन्धान गर्दै गरेको समाचार हेर्न र पढ्न पाईन्छ। यसरी राज्यका ॲंगहरू बलिया भए भने कसैको सनक वा मनसायबाट सम्पादन भएका कामहरू असफल हुन पुग्छन् र राज्यको जित हुन्छ भन्ने कुरा बुझ्न पाईन्छ। हाम्रो देशको ललिता निवास काण्डमा मुछिएका पूर्व प्रधान मन्त्रीलाई नीतिगत निर्णयको नाममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उन्मुक्ति दियो।
किनभने तत्कालीन अख्तियारका प्रमुख उनै पूर्व प्रधानमन्त्रीबाट आशिर्वाद पाएका ब्यक्ति थिए। यसरी आशिर्वाद पाउने ब्यक्तिबाट भरिएका राज्यका संयन्त्रका प्रमुखबाट मुलुकलाई भन्दा आफ्ना शुभेच्छुकलाई प्राथमिकतामा राखेर काम गर्ने प्रयास हुन्छ। अतः हामीले हाम्रो मुलुकलाई बलियो बनाउने वा बाह्य हस्तक्षेपबाट मुलुकलाई बचाउने हो भने हाम्रा राज्य संयन्त्र स्वतन्त्र र बलिया बनाउनु पर्छ ता कि यिनीहरूमा सरकार वा राजनीतिक दलको छांया नपरोस्। यी अंगहरू जति निष्पक्ष भएर चल्न सक्छन् राज्य त्यही अनुसार बलियो र सक्षम हुन सक्छ।