संस्कृति जगेर्नामा यूवा पुस्ता

Culture can be defined as all the ways of life including arts, beliefs and institutions of a population that are passed down from generation to generation. अर्थात संस्कृति भन्नाले जनताको बांच्ने आधार हो जुन विश्वास, कला र संस्थामा आधारित हुन्छ र यो पुस्ता, पुस्ता सम्म हस्तान्तरण हुदै जान्छ । सरसर्ति हेर्दा यसको परिभाषामा केही फरक परेको छैन तर फरक परेको हस्तान्तरणमा हो।
Advertisement 1
जव हस्तान्तरणमा समस्या हुन्छ अनि यसको दीगोपनमा समस्या हुन्छ। हामी नेपाली विभिन्न संस्कृतिमा विभक्त छौ र सबै किसिमका सम्प्रदायहरूमा यो संस्कृति हस्तान्तरणको समस्या होला तर यी मध्यमा पूर्वीय सनातनी संस्कारमा यो समस्या टड्कारो रूपमा देखिदैछ। यसरी पुस्तान्तरणको समस्या हुनु नै यो क्रमशः लोप हुदै जानु हो। यसो किन हुदै छ? यसरी लोप हुदै जादा हाम्रो पहिचानको निरन्तरता कसरी हुने हो? यो प्रश्नले पूर्वीय सनातनीमा चिन्ता आउनु पर्ने हो र यसलाई सुधार गर्न विशेष कदमहरू चाल्नु पर्ने पनि हो तर यस्तो भएको देखिएको छैन। यसमा शंकटहरू देखिदा झिना मसिना आवाजहरू नआउने पनि हैनन् तर ती आवाजले निरन्तरता पाएको अवस्था छैन। संस्कृति भनेको पहिचान पनि हो। खासमा भूगोलको पहिचान शरीर हो भने संस्कृतिको पहिचान आत्म हो।
त्यसैले कुनै पनि देशको संस्कार, संस्कृति लोप हुदै जानु भनेको त्यो देशको पहिचानमा संकूचन आउनु हो। त्यसैले यसको संरक्षण र संबर्द्धनमा राज्य, समाज र स्वयं परिवार लाग्नु पर्छ। संस्कार भनेको पहिचान मात्र हैन यो निधि पनि हो, यसलाई बजार गर्न सक्यो भने पर्यटन उद्योग समेत फस्टाउन सक्छ। उदाहरणको रूपमा भूटानलाई लिन सकिन्छ, जसले त्यो देशको संस्कृतिलाई पर्यटन ब्यबसाय संग जोडेको छ । हाम्रै भक्तपुर नगर पालिकाले समेत आफ्नो नगर क्षेत्रमा नेवारी संस्कृति पस्केर पर्यटन ब्यबसाय चलाई रहेको छ। नेपालमा केही वर्ष यता देखि हाम्रो मौलिक संस्कृति उपर प्रहार हुदै आएको पाईन्छ। पहिलो प्रहार त यसको संरक्षण गर्न गराउन नसकेर भएको छ। हामीले हाम्रा संस्कृति र परम्परालाई जोगाउन त्यसको संरक्षण गर्न जरूरी छ तर यस तर्फ क्रमशः झुकाव मर्दै गएको छ। अगाडिको पुस्ताको सिको नयां पुस्ताले गर्न सकेको पाईदैन। कतिपय तान्त्रिक विधिबाट चल्दै आएका संस्कृतिहरूलाई निरन्तरता दिन सकिएको पाईदैन। यसैले यिनीहरू समाप्त हुदै छन्। कतिपय संस्कार र संस्कृतिहरू मौखिक रूपमा मात्र पुस्तान्तरण गर्न खोज्दा लोप भएका छन्। यिनीहरूलाई लिखित दस्तावेजमा रूपान्तरण गरी संरक्षण गर्न सके दीगो हुने देखिन्छ।
Advertisement 2
त्यसै गरी यस्ता संस्कृतिलाई दीगो राख्न गरिने वंशीय परम्परालाई पनि हामीले निरन्तरता दिन सकेनौ। हाम्रा बुद्ध धर्म संग आस्थावान् संस्कृतिहरू अन्य सम्प्रदायको तुलनामा बढी संरक्षित हुनुको पछाडि त्यो समुदायले निरन्तरतालाई पछ्याई रहेको पाईन्छ।तर पनि कथित आधुनिकताको नाममा यो समुदाय पनि अपवादमा अछुतो छैन। अन्य समुदायहरूमा हिन्दू समुदायले मान्ने संस्कार र संस्कृतिहरूमा बढी छाडापन देखिन थालेको छ जुन कदापि राम्रो हैन। यस्तो प्रवृत्तिले हाम्रो संस्कृतिलाई उपहास गरेको छ जसबाट संस्कृति लोप हुन जान्छ। हिन्दू सम्प्रदायमा अहिले महिलाहरूको पर्व तिजको मौसम छ। यो पर्वलाई छोरी चेलीको पर्वको रूपमा मान्ने परम्परा छ तर हाल यसलाई विकृतिमय तवरले मनाउने होडबाजी चलेको छ। यस्तो अलोकप्रीय होडबाजीले हामीले मनाउदै आएको एउटा ऐतिहांसिक पर्वलाई उपहास गराउदै छ। हामीले मान्दै आएका चाडपर्व, मेला, उत्सव, संस्कृति र परम्पराहरूको जन्म हाम्रा अग्रजले गराएका हुन्। त्यसैले यसलाई भद्रगोल गर्ने हक अधिकार अहिलेका हामीलाई छैन। हाम्रो ब्यक्तिगत स्वार्थका कारण यसलाई तोडमोड वा विकृत गर्ने छुट हामीलाई छैन।
यस्ता संस्कृतिहरू सके संरक्षण गरौ, नसके भद्रगोल गरेर यसलाई तहसनहस नबनाऔ। हाम्रो संस्कृति हाम्रा अमूल्य निधि हुनुका नाताले राज्य भित्र सबैले मान्दै आएका संस्कृतिको संरक्षण र पुस्तान्तरणमा राज्यको भूमिका अहं हुन्छ। राज्यको कार्यकारिणी भूमिकामा रहेको ब्यक्ति नास्तिक नै किन नहोस् ऊ त्यो पदमा रहदा सम्म उसले सर्वसाधरणजनको आस्थाको कदर अवश्य गर्नु पर्छ।यसको लागि राज्यबाट विद्यालयको प्राथमिक तहको पाठ्यक्रममा स्थानीय संस्कृति र चाडपर्वहरू समावेश गरिनु पर्छ। यसले वालवालिकामा नैतिकताको शिक्षा समेत प्रदान गर्न सहयोग गर्छ। हाम्रा अधिकांश चाडपर्व र संस्कृतिहरू चन्द्रमासका आधारमा निर्धारण गरिएका हुन्छन्। यस्ता संस्कृति चाडपर्वहरूको अध्ययनले वालवालिकालाई सौर्य मास र चन्द्रमासको बारेमा र तिथि मितिको बारेमा समेत बुझ्न सहयोग गर्छ।
Advertisement 3
ज्योतिष शास्त्र विज्ञान र गणितमा आधारित विज्ञान हो। अधिकांश चाडपर्व र संस्कृतिहरू आधुनिक विज्ञानमा आधारित छन् तर यसलाई केही राजनीतिक चिन्तकले नबुझेर यसलाई अन्ध विश्वास संग जोडी दिनाले हाम्रो वर्तमान पुस्ता यस्ता संस्कृतिबाट विमुख हुदै छ जुन हाम्रो संस्कृति उपरको ठूलो प्रहार हो। अन्त्यमा हामीले हाम्रो कला, संस्कृति, चाडपर्वले हामीलाई विश्वमा चिनाउन मद्दत गर्छ। यसैले यसलाई हामीले पुस्तौ पुस्ता सम्म जीवित राख्न सक्नु पर्छ। यसको निम्ति हाम्रो वर्तमान पिंढीले भोलीको पुस्तामा यसलाई हस्तान्तरण गरेर हाम्रो संस्कृतिलाई जीवन दिन सक्नु पर्छ।