निजामती सेवाभित्र देखिए- भोगिएका तीता/ मीठा अनुभव

मैले एउटा गाउँको साधारण किसानलाई सोधे “दाजु तपाईले निजामती कर्मचारीलाई चिन्नु भाछ ? हजुर वडासचिव फुलमाया चौधरी चिन्छु । हजुर उहाँ राम्रो कर्मचारी हुनुहुन्छ । वास्तवमा आम मानिसको चिनाई र भनाई पनि यस्तै हो । स्थानीय सरकारका नियामक घर दैलोको सरकारी कर्मचारीलाई नै जनताले निजामती भनेर चिनेका छन् । सिंहदरबारको विभिन्न मन्त्रालयका ठुलो पर्दा भित्रका हाकिम सापहरु शाखा अधिकृत, उपसचिव, सहसचिव, सचिव र मुख्यसचिव को हुन् थाहा छैन । तर विडम्बना वर्तमान काम चलाउ निजामती सेवा ऎनको परिभाषामा अहिलेको स्थानीय तहको वडा सचिव पर्दैनन् । यद्यपि यिनीहरू पनि लोक सेवा आयोगको परीक्षा पास गरेरमात्र सरकारी सेवामा जागीर खाएका हुन् । सरकारी तलबमान, सेवा, सुविधा, पोशाक, विदा सबै निजामती कर्मचारी सरह भएर पनि स्थानीय तह र प्रदेश सेवाका राष्ट्रसेवक कर्मचारीहरु सरकारी कर्मचारी हुन् निजामती होइनन् ।

Advertisement 1

विश्वमा सिभिल सर्भिसका उत्कृष्ट नमुना संयुक्त अधिराज्य “बेलायत”, संयुक्त राज्य अमेरिका, फ्रान्स, भारत समेतका मुलुकहरु पर्दछन् । यी मुलुकहरूमा निजामती सेवा सम्बन्धमा एकरुपता त छैन तथापि बहुलतामा एकता अवश्य छ । तर हाम्रोमा यसको विपरीत एकता भित्र बहुलता हुनुको विडम्बना छ । हठात् ल्याईएको कर्मचारी समायोजन कानुन पश्चात् स्थानीय र प्रदेश तहका कर्मचारीहरुलाई सम्बोधन गर्ने कानुन बिहिनताको अवस्थामा तदर्थरुपमा लोक सेवा आयोगको सिफारिसमा नियुक्त कर्मचारीहरु उधारो कानुनमा नियुक्त भएका छन् । राजनीतिक दबाब, तदर्थवादमा मौसमी सरुवा, बढुवा पनि पाएका छन् । यथार्थमा मानसिक रुपमा कर्मचारीतन्त्र अत्यन्त निरीह र प्रताडित बनेको छ । यस्तो गम्भीर बिषय न त उच्च तहका संघीय निजामती कर्मचारीहरुले राजनीतिक नेतृत्वलाई अवगत गराउन सकेको अवस्था छ न त संकीर्ण स्वार्थ प्रेरित राजनीतिक नेतृत्व कर्मचारीतन्त्रको बारेमा बुझ्ने सामान्य चेष्टा नै गरेको छ ।

आज यो पंङ्तिकार बहालवाला निजामती कर्मचारी हैन निवृत्त पुर्व निजामतीको अर्थमा पृथक पनि छैन । सिंहदरबारदेखि स्थानीय सरकारसम्मको सार्थक अनुभव पनि छ । त्यतिमात्र हैन कुनै राजनीतिक नेतृत्वको संरक्षण, आशीर्वाद र कृपापात्र नबनि करिब साढे तीनदशक निजामती सेवाको संगठनमा टुप्पोदेखि फ़ेदसम्मको अनुभव रहेकोे छ । प्रीन्ट मिडिया पत्रिकामार्फत र अनलाइन आफ्नै ब्लग, पेज र फेसबुक जस्ता सामाजिक सञ्जालमा निजामती सेवा ऎनको आवश्यकता सम्बन्धमा धेरै लेख रचना पनि प्रकाशित भैसकेका पनि छन् परन्तु राज्य पुनर्संरचना पश्चात् नेपालको संविधान, २०७२ र स्थानीय, प्रदेश र संघीय निर्वाचन, २०७४ पश्चात् व्यतीत पाँच बर्षसम्म राष्ट्रसेवक निजामती कर्मचारी मुलतः शासकीय संरचनाको स्थायी सरकारको स्वरुप विश्वव्यापी मान्यता भएको सवालमा सिन्को सम्म भाँच्ने कार्य नीतिगत र कानुनीरुपमा हुन सकेनन् । यश बिचमा प्रदेशहरुवाट अआफ्नै तरिकाले प्रदेश कानुनहरु त बने संघीय कानुन बिना ति कानुनहरु बैधरुपमा आएका होईनन् । राज्यको अकर्मणय राजनीतिक नेतृत्व र निकृष्ट व्यक्तिवादी र स्वार्थ लोलुप उच्च तहका राष्ट्रसेवक भनाउँदा कर्मचारी नेतृत्वको कारणले यो विडम्बनापूर्ण अवस्था आएको हो भन्नुमा किमार्थ अतिशयोक्ति नहोला । राजनीतिक प्रणालीको योग्यतामा आधारित उपप्रणाली भित्र पद्धति बसाल्नुमा भन्दा पनि बसेको पद्धतिलाई होडल्न खोजी आफ्नो स्वार्थ सिद्ध गर्ने जमात वर्तमान राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र दुवैमा यथेष्ट छन् । राजनीतिक नेतृत्वका भ्रातृसंगठनकारुपमा कर्मचारी गुट उपगुटमा आवद्ध रहि आएको तथ्य घाम जत्तिकै छर्लङ्ग रहेकोे छ । कर्मचारीले राजनीति गर्न नपाउने भन्ने राजनीतिक नेतृत्व जुन आफै झाँक्री आफै बोक्सा जस्तैः हावादारी गफ पनि लडाईरहेका छन् भने अर्कोतर्फ कर्मचारीहरु विभिन्न संघ, संगठनहरु मार्फत राजनीतिक नेतृत्वको गुदीमा पसि राजनीतिक क्रियाकलाप सञ्चालन गरि तरमार्ने प्रवृत्ति पनि मौलाएकै छ ।

Advertisement 2

“व्यावसायिक र सिर्जनशील प्रशासन : विकास समृद्धि र सुशासन” भन्ने मुल नाराका साथ यश बर्ष २०७९ को निजामती सेवा दिवस विभिन्न कार्यक्रमका साथ केन्द्र सिंहदरबारमा मनाइरहेको अवस्था छ । केन्द्रमा सामान्य कार्यक्रम गरिए पनि मोफसलमा खासै कार्यक्रम भएका छैनन् तथापि हाल सम्मको अभ्यासमा निजामती सेवा दिवस मनाउने सम्बन्धमा पनि एकरुपता पाइएको छैन । राजपत्रांकित कर्मचारीहरु एकातिर राजपत्रअनंकित अर्कोतिर प्रदेश र स्थानीय तहका कर्मचारीहरु विमुख रहेका अवस्था छन् । मुख्यसचिव, मन्त्रालयका सचिव र बिभागीय प्रमुखहरुलाई यस्तो विसंगतिपुर्ण अवस्थामा पनि रत्तिभर खेद अथवा ग्लानी छैन । केवल राजनीतिक नेतृत्वको पिछलग्गु बनेर आफ्नो कुन मालदार मन्त्रालय, बिभागमा सरुवा भै जान पाउने हो त्यसैको बकुला ध्यान मात्र रहेको छ ।

गृह मन्त्रालय अन्तर्गतको कर्मचारीले आफू सरह संघीय सेवाकै स्थानीय तहका कर्मचारीहरुलाई तल्लो तहको सोच्ने नमिठो मानसिकता यो पंक्तिकारको आफ्नै कार्यकालमा अनुभव गरिएको हो र कहिल्यै नबिर्सने गरि त्यसको यथोचित जवाफ पनि सुपरम्यानहरुलाई दिईएकै हो । निजामती सेवाको यो रोग अन्य सरकारी सेवातिर पनि संक्रमित रहेको छ । जस्तो शिक्षक संघ संस्थानका कर्मचारीहरु र निजामती सेवा भित्रकै राजपत्रअनंकित कर्मचारीहरु पनि मर्यादाक्रमको होडबाजीमा रहेकोे देख्दा उदेक लाग्छ । यहाँ शासकीय व्यवस्थाले मर्यादाक्रमको औचित्य सावित गर्न नसकेको कारण पनि संघीय निजामती सेवा ऎन अर्थात् सम्पुर्ण रोजगारदाता कर्मचारीहरुको छाता कानुन (Umbrella Act) असचेत अवस्था अर्थात् “कोमा” मा रहेको कारणले उत्पन्न हुन गएको हो । मुल कानुन, योग्यता प्रणालीको उपहास, लोक सेवा आयोगको न्यून सक्रियता, पदसोपानमा बिबिधता, राजनीतिक हस्तक्षेप जस्ता विकृतिहरुले अब त हुँदा हुँदा राजनीति र प्रशासनको सीमारेखा नै मेटिसकेको जस्तो लाग्छ ।

Advertisement 3

निजामती सेवा भनेको के हो भन्दा सम्पुर्ण रोजगारहरुको अभिभावकत्व रहेको, कार्यालय सहयोगीदेखि मुख्य सचिवसम्मको पदसोपानमा रहने, योग्यता प्रणाली, कानुनद्वारा व्यवस्थित, राजनीतिवाट तटस्थ, स्थायी, कानुनले तोकेको सेवा सुविधा प्राप्त हुने संविधान र निजामती सेवा कानुनद्वारा संरचित राज्यको अड्डातन्त्रीय राजनीतिक प्रणालीको उपप्रणाली हो । निजामती सेवा (Civil Service) राज्य वा शासकीय प्रणालीको मेरुदण्ड (Backbone) हो । निजामती सेवा के होईन भन्दा यो सैनिक, प्रहरी, शिक्षक, प्राध्यापक, संघ संस्थानको सेवा होईन । कर्मचारीतन्त्र भित्र उपरोक्त सबै परे पनि निजामती सेवा जस्तैः उपर्युक्त सेवाहरुको अ-आफ्नै सेवाको बिशेषता र व्यवस्था हुन्छ । नेपालमा व्यवस्थितरुपमा निजामती सेवा बि.सं. २००७ सालको प्रजातान्त्रिक आन्दोलनवाट स्थापित शासन व्यवस्था पश्चात् शुरुआत भएपनि निजामती सेवा दिवस मनाउने प्रचलन भने बि.सं.२०६१ सालदेखि भएको हो । निजामती सेवा दिवसका दिन प्रत्येक बर्ष कर्मचारीहरुलाई पुरस्कृत गर्ने प्रचलन छ । अपितु यो बिबादरहित भने हुन सकेको अवस्था छैन । साथै एकातिर सर्वोत्कृष्ट कर्मचारी छनौट गर्न नसक्नु एउटा विडम्बना मान्नुपर्छ भने अर्कोतिर दलिय भागबन्डा, सिंहदरबारको राजनीतिक पहुँच वालाहरु पुरस्कृत हुने मोफसलमा खटिएर इमानदारी एवम् कर्तव्यनिष्टता पुर्वक काम गर्ने कर्मचारी सदैव बञ्चित हुने करिब साढे तीनदशक भन्दा बढी निजामती सेवावाट हालै सेवा निवृत्त भएको यो टिप्पणीकारको स्वअनुभव रहेको छ ।

नेपालको संविधान, २०७२ भाग २३ धारा २४२ लोक सेवा आयोग र धारा २४३ लोक सेवा आयोगको काम, कर्तव्य अधिकार अन्तर्गत उपधारा (१) यश धाराको प्रयोजनका लागि “निजामती सेवाको पद” भन्नाले सैनिक वा नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपालको कर्मचारीको सेवा वा पद तथा निजामती सेवाको पद होईन भनि ऐन बमोजिम तोकिएको अन्य सेवाको पद बाहेक नेपाल सरकारका अरू सवै सेवाको पद सम्झनुपर्छ भनि मुल कानुन संविधानको परिभाषा व्यापकता रहेको छ । नेपालको संविधान, २०७२ को भाग २३ धारा २४३ (१) को स्पष्टिकरण यसै गरि धारा २४४ मा प्रदेश लोक सेवा आयोग सम्बन्धि व्यवस्था गरिएको छ । निजामती सेवा ऐन, २०४९ (संशोधन सहित) अनुसार दफा २(क) परिभाषा “निजामती सेवा” भन्नाले दफा ३ बमोजिम गठित निजामती सेवा सम्झनु पर्दछ । दफा ३ निजामती सेवाको गठन : नेपाल सरकारले देहाएबमोजिमका निजामती सेवाहरूको गठन गर्नेछ :
(क) नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा
(ख) नेपाल इञ्जिनियरिङ सेवा
(ग) नेपाल कृषि सेवा
(घ) नेपाल न्याय सेवा
(घ१) नेपाल परराष्ट्र सेवा
(ङ) नेपाल प्रशासन सेवा
(ङ१) नेपाल लेखा परीक्षण सेवा
(चं) नेपाल बन सेवा
(छ) नेपाल विविध सेवा
(ज) नेपाल शिक्षा सेवा
(झ) ……………………..
(ञ)……………..
द्रष्टव्य :
(झ) संसद सचिवालयसम्वन्धी ऐन, २०५८ द्वारा झिकिएको,
(ज) नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ द्वारा झिकिएको ।

निजामती सेवा भन्नाले मुलुकको सरकारी प्रशासन सञ्चालनकालागि गठन गरिएको सेवा समेतलाई बुझाउँछ । निजामती सेवालाई राष्ट्रहरूले आ–आफ्नै ढंगले परिभाषित गरेका छन् । कतिपय राष्ट्रले यस सेवालाई गैह्रसैनिक सरकारी सेवाकोरूपमा मानेका छन् भने कतिपय राष्ट्रले निजामती सेवा होईन भनि तोकिएका सेवा बाहेक अन्य सवै सरकारी सेवा लाई यस सेवा भित्र समावेश गरेको पाईन्छ ।

अन्त्यमा एउटा अत्यन्तै मार्मिक र सम्पुर्ण रोजगारहरुको अभिभावकत्व रहेको निजामती सेवाका कर्मचारीहरुको संविधान अनुरुपको मर्म र भावना अनुरुपको परिभाषित हुनु र सबै तहका राज्य संयन्त्रको राष्ट्रसेवक कर्मचारीहरुले जबसम्म निजामती सेवा दिवसको अपनत्व आत्मसात गरि सोही बमोजिम नीतिगत र कानुनी रूपमा व्यवहारमा कार्यान्वयन गर्न सक्दैनन् तबसम्म यो निजामती सेवा दिवस केवल राष्ट्रिय नारामै सिंहदरबार भित्रै सीमित रहनेछ भन्ने सवालमा द्विमत नहोला ।

 

प्रकाशित :२०७९ भाद्र २२, बुधबार १०:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry