कर्मचारी सरुवाका लागि मोटो रकमको बार्गेनिङ

साधरणतया कर्मचारी सरुवा नियमित प्रक्रिया हो तर कर्मचारी सरुवामा विभागीय मन्त्री,उनका निजी सचिवलायदेखि कर्मचारी प्रशासन महाशाखामा बसेका केही बदमास कर्मचारीका कारण यो विकृत बन्दै गएको छ ।
Advertisement 1
मन परेका,राजनीतिक आस्था निकट भएका कर्मचारीलाई छानी छानी महत्वपूर्ण निकायमा सरुवा गर्ने प्रवृत्ति संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयतिर मौलाउँदै छ । स्थानीय तहहरुले यही १० असारमा नीति तथा कार्यक्रम ल्याइसकेका छन् । यो सँगै यस्ता तहमा कर्मचारी खटन पटन गर्ने नाममा मोटो रकमको बार्गेनिङ चल्ने गरेको कर्मचारीहरुले आरोप लगाउन थालेका छन् । खासगरी मन्त्रीको निजी सचिवालय र कर्मचारी प्रशासन चलाउँदै आएका महाशाखाका कर्मचारीबाट यस्तो रकमको डिल हुन थालेको कर्मचारीहरुको आरोप छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको निजी सचिवालयका कर्मचारीमाथि सरुवाका लागि मोटो रकमको बार्गेनिङ गर्ने गरेको आरोप लाग्न थालेको हो । मन्त्रीको सचिवालयमा अहिले राजाराम तण्डुकार, सुरज महर्जन र दिलिप पटेल रहेका छन् । उनीहरु कर्मचारी सरुवाको नाममा मोलमोलाई गर्न थालेको आरोप लाग्न थालेको छ ।
मन्त्रीको सचिवालयमा रहेका केही अनधिकृत व्यक्तिसमेत सरुवाको मोलमोलाई सक्रिय रहेको आरोप लाग्न थालेको छ । उनीहरुले मधेस प्रदेशका स्थानीय तहलगायत अन्य संघीय कार्यालयमा कर्मचारी सरुवा गरी पठाइदिने नाममा बार्गेनिङ गर्ने गरेको आरोप छ । उनीहरुले अन्य मन्त्रालयबाट आउने कतिपय विभागीय प्रमुखको सरुवा सहमतिमा समेत आर्थिक चलखेल गरिरहेको आरोप लाग्न थालेको छ । विशेषगरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवले आफ्नो मन्त्रालय मातहतका कर्मचारीको सरुवा सहमति सामान्य प्रशासन मन्त्रालयसँग माग्नुअघि नै सेटिङ मिलाउने गरेको र सोही सेटिङका आधारमा सामान्य प्रशासन मन्त्रालयले पनि सरुवा सहमति दिने गरेको स्रोतको दाबी छ ।
Advertisement 2
अहिले देशका अहिले देशभरका ७५३ स्थानीय तहमध्ये १ सय ८० स्थानीय तह निमित्तकै भरमा चलिरहेको छ । प्रशासनका कर्मचारीलाई जिम्मेवारविहिन बनाएर कतिपय स्थानीय तहमा प्राविधिक कर्मचारीलाई निमित्त बनाइएको छ । यस्तै सहसचिव दरबन्दी रहेका कलैया, नेपालगन्ज, जितपुर सिमरा, घोराही, तुलसीपुरलगायतका उपमहानगरपालिकामा उपसचिव निमित्तका रूपमा छन् । जबकि केन्द्रमा दशौं सहसचिव अझै कामविहीन भएर बरन्डामा बस्न विवश छन् । यस्का अलवा र प्रशासन सेवा शाखा अधिकृत र उपसचिवमध्ये झन्डै सय कर्मचारी विभिन्न मन्त्रालयमा काम नपाएर जिम्मेवारहिविन बनाइएको छ । ती कर्मचारीहरुको दैनिकी हाजिर गर्ने र फर्केनेमा सीमित पारिएको छ । तर, संघीय मामिला मन्त्रालयले भने ती कर्मचारीलाई पालिकामा नपठाई ऐनविपरीत अन्य सेवा समूहका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिँदै आएको छ ।
यसरी कर्मचारी खटन पटन गर्ने नाममा लाखौंको डिल सामान्य प्रशासन मन्त्रीको सचिवालय र सचिवलायका कर्मचारीबाट भइरहेको कतिपय कर्मचारीहरुले आरोप लगाउँदै आएका छन् तर सरुवामा रकम असुली सम्बन्धमा मन्त्रीका निजी सचिवालयका कर्मचारी राजाराम तण्डुकारले भने सरुवा नभएका खराब कर्मचारीले त्यस्तो गलत हल्ला फैलाएको दाबी गरेका छन् ।